जिम्मेवार प्रधानाध्यापक बन्न यसो गरौँ

नेत्रप्रसाद घिमिरे ७ चैत २०७९ १७:३०
464
SHARES
जिम्मेवार प्रधानाध्यापक बन्न यसो गरौँ

द्वारिकादास मावि ०५१ सालमा स्थापना भएको हो। सुरुमा कक्षा १ को अनुमति लिएर ५ पाँचसम्म पूर्ण स्वीकृति लिइएको थियो। स्कुलकी संस्थापक अध्यक्ष द्वारिकादास श्रेष्ठकी पत्नी अम्बिका श्रेष्ठले दिएको जग्गामा एउटा खरको छाप्रो बनायौँ। अनि म अर्को विद्यालयबाट म त्यहाँ सरुवा भएर आउनेबित्तिकै प्रधानाध्यापकको जिम्मेवारी पाएँ।

प्रधानाध्यापक त भएँ तर स्कुल चलाउन निकै समस्या थियो। विपन्न बस्ती रहेकाले समुदाय आर्थिक रूपमा सबल थिएन। सरकारले पनि शिक्षक दरबन्दी दिएको थिएन। सबैको पहलमा थप एक जना शिक्षक राखेर विद्यालय सुरु गर्‍यौँ। विद्यार्थी भर्ना हुन थाले। विद्यार्थी अनुपात शिक्षक थिएनन्। अन्य पूर्वाधारको अभाव थियो। त्यही छाप्रोमा विद्यार्थी र शिक्षक सँगै बस्थ्यौँ। टोलका बालबालिका संकलन गरी हामीले त्यहीँ कक्षा चलाउन थाल्यौँ। बर्खा र जाडोमा कक्षा चलाउन सकस हुन्थ्यो।

विद्यालयले माविको स्वीकृति लिनचाहिँ निकै कसरत गर्नुपर्‍यो। अनुमति लिने प्रक्रियाका कारण ढिलाइ भएको थियो। सरकारले दरबन्दी दिँदैनथ्यो भने समुदायसँग पनि धरौटी राख्न पैसा थिए। सोही कारण समयमै तहगत अनुमति पाउन सकिएन। सरकारले तहगत अनुमति सजिलै दिँदैन। कक्षागत अनुमति भने दिन्छ। हामीले २०६५ सालमा आएर बल्ल कक्षा ९ सञ्चालनको अनुमति पायौँ। विद्यालयबाट २०६७ मा पहिलोपटक एसएलसीमा सहभागिता जनाइएको हो।

विद्यालयको अहिलेको अवस्थामा ल्याउन सजिलो थिएन। तर दृढ इच्छाशक्ति भएर लागेपछि सफलता मिल्दो रहेछ। यसमा सहकर्मी शिक्षक, व्यवस्थापन समिति, समुदाय अनि पछिल्ला दिनमा स्थानीय सरकारको अहं भूमिका रहेको छ।

अहिले विद्यालयमा १० करोडभन्दा बढीका भवन र शैक्षिक पूर्वाधार छन्। रत्ननगर नगरपालिकाभरमा आईसीटी ल्याबका लागि विद्यालय चर्चित छ। नगरपालिकामा आईसीटी ल्याब हेर्नुपर्‍यो भने द्वारिकादास माविलाई सिफारिस गरिन्छ। पुस्तकालयको राम्रो प्रबन्ध छ। खरको झुपडीबाट आधुनिक पक्की भवन सामान्य मेहनतबाट भएको होइन।

गरिब असहायका बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क पढाउन भनेर यो विद्यालय खोलिएको हो। विपन्न बस्ती भएकाले स्थानीय समुदायले स्रोत खोज्ने लगायतका गतिविधि गर्न सक्दैन। विद्यालय व्यवस्थापन समितिको सकारात्मक भूमिका रहँदै आए पनि स्रोत सहज थिएन।

प्रधानाध्यापकले सबैलाई समेटेपछि टिमवर्कका लागि समस्या भएन। टिम वर्कले नै कुनै पनि संस्थाले उचाइ लिँदो रहेछ। मुख्य कुरा ‘सिस्टम’ विकास गर्नुपर्छ। त्यसपछि प्रधानाध्यापक विद्यालयमा नहुँदा पनि चुस्त र दुरुस्त चलिरहन्छ।

हामी रत्ननगरका २७ वटा सामुदायिक विद्यालयमध्ये संख्याका आधारमा पाँचौँ स्थानमा छौँ। विद्यार्थी संख्या कमी हुन नदिन १० कक्षा उत्तीर्ण भएर जाने विद्यार्थी संख्या ‘कभर’ गर्नुपर्छ। अनि मात्रै संख्यात्मक रूपमा तल परिँदैन।

विद्यालयमा अहिले विभिन्न शीर्षकमा बजेट आउने गरेको छ। प्रशासनिक खर्च पनि आउँछ। विद्यालयमा रकम पर्याप्त आउने गरेको छ। त्यसलाई प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिले सदुपयोग गर्नुपर्छ। आठ दस वर्षअगाडि चाहिँ चलाउन कठिन थियो। समलन्द खर्चबापत निकै कम पैसा दिन्थ्यो।

कतिपय स्कुलले सरकारी स्रोतको दुरुपयोग गरेको पनि पाइन्छ। कम्प्युटर किनेर ल्याब स्थापना गरिएको छ। तर सञ्चालन गरिएको हुँदैन। प्रोजेक्टर किने पनि चलाइएको पाइँदैन। पुस्तकालय देखाउनका लागि मात्रै निर्माण गरिएको पाइन्छ।

मैले निजी स्रोतमा ११ जनासम्म शिक्षक राखेर चलाएको थिए। रत्ननगर नगरपालिकामा ६ देखि १० सम्म कक्षागत रूपमा प्रोजेक्टर राखेर कक्षा सञ्चालनको थालनी यही विद्यालयबाट भएको हो। विद्यालयको कम्प्युटर ल्याबमा ३१ वटा कम्प्युटर छन्। यहाँ ६ देखि १० सम्मका विद्यार्थी दैनिक रूपमा सिक्छन्। सोलारको व्यवस्था गरिएको छ। हरेक कक्षाकोठा र विद्यालय परिसरमा सीसीटीभी क्यामेर जडान गरिएको छ। यस्तो व्यवस्था नगरका अन्य विद्यालयमा छैनन्। यसैगरी संयुक्त रूपमा नोटिस दिने व्यवस्था पनि यही विद्यालयमा छ।

अहिलेसम्म पनि शिक्षक दरबन्दी पूरा छैन। अनुदान र राहत दरबन्दीमा शिक्षकहरू छन्। सामुदायिक विद्यालयमा १७/१८ थरीका शिक्षक छन्। सरकारले सर्वप्रथम ती सबैको व्यवस्थापन गर्नुपर्छ र शिक्षक दरबन्दी तथा नियुक्तिमा एकरूपता कायम गर्नुपर्छ। अर्को कुरा शिक्षकलाई पूर्ण रूपमा राजनीतिबाट अलग गराउनुपर्छ। त्यसो भयो भने मात्र सामुदायिक विद्यालयप्रति मोह बढ्दै जान्छ। पछिल्ला दिनमा सामुदायिक विद्यालयप्रति आकर्षण बढेको छ। यसलाई हामीले कायमै राख्नुपर्छ। शिक्षक विद्यालय प्रवेश गर्दा खुसी हुने वातावरण बनाउने काम प्रधानाध्यापकका हो। त्यसो भएमा विद्यार्थी खुसी हुन्छन्। सामुदायिक विद्यालयको शैक्षिक स्तर माथि जान्छ।

म शिक्षक पेसामा रहँदा ३२ वर्ष चार महिना प्रधानाध्यापकको भूमिकामा रहेँ। प्रधानाध्यापक बन्न चाहने शिक्षकलाई मेरो के सुझाव छ भने विद्यालयको प्रधानाध्यापक पनि हुन्छु, घरायसी काम पनि गर्छु र अन्यत्र व्यवसाय पनि गर्छु भन्ने सोचाइ छ भने प्रधानाध्यापक बन्ने इच्छा नदेखाउनुहोला। प्रधानाध्यापक भएपछि बिहानदेखि बेलुकासम्म पूर्णकालीन रूपमा विद्यालयकै चिन्तनमा केन्द्रित हुनुपर्छ। म त कहिलेकहीँ सपनामा पनि विद्यालयकै गतिविधिमा सहभागी भएको पाउँथेँ। यसो गर्न सके मात्र विद्यालयको भौतिक र शैक्षिक विकास सम्भव छ।

(चितवनको रत्ननगरस्थित द्वारिकादास माविको प्रधानाध्यापकबाट हालै निवृत्त घिमिरेसँगको कुराकानीमा आधारित)

कठिन छैन सिकाइ स्तर उकास्‍न

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 4 =