उपराष्ट्रपति निर्वाचन : मतदानमा यी सांसद भएनन् उपस्थित

हिमाल प्रेस ३ चैत २०७९ १६:२४
14
SHARES
उपराष्ट्रपति निर्वाचन : मतदानमा यी सांसद भएनन् उपस्थित

काठमाडौँ- उपराष्ट्रपति निर्वाचनको मतदान सकिएर अहिले मतगणना भइरहेको छ। नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएका संघीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा मतदान भएको थियो।

निर्वाचनमा संघीय संसद्का ३३२ सांसद र प्रदेशसभाका ५५० प्रदेशसभा सदस्य मतदाता छन्। मतदानमा ३११ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए।

संघ (राष्ट्रियसभा र प्रतिनिधिसभा) तर्फका जम्मा ३३४ सांसदमध्ये रवि लामिछानेको पद रिक्त भएको र टेकबहादुर गुरुङ निलम्बनमा परेकाले दुई पद रिक्त छ।

आजको मतदानमा संघतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीका १४ र नेपाल मजदुर किसान पार्टीका एक जना सांसद मतदान नगरी तटस्थ बसे।

यसै गरी रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएको तथा सांसदहरू चन्द्र भण्डारी, वर्षमान पुन र मनोरमा शेरचन बिरामी भएकाले उपस्थित भएनन्। साथै सहनाज रहमानको निधन भएको छ। लक्ष्मी महतो कोइरी मुद्दाका कारण मतदानमा अनुपस्थित थिए।

प्रदेशसभा सदस्यतर्फ राप्रपाका २८ र नेमकिपाका तीन सदस्य मतदान नगरी तटस्थ बसे। जसपाका एक सदस्य अनुपस्थित रहेको निर्वाचन आयोगले जनाएको छ। आज (शुक्रबार) बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म सकिएको छ।

नयाँ उपराष्ट्रपतिका लागि जनता समाजवादी पार्टी नेपालका रामसहायप्रसाद यादव, नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा) र जनमत पार्टीका ममता झा उम्मेदवार छन्।

उपराष्ट्रपतिको निर्वाचन संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुन्छ। संघीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ कायम रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 7 =