तिलोत्तमामा गुट्खा बिक्रीमा प्रतिबन्ध, हर्न निषेध

हिमाल प्रेस १ चैत २०७९ १७:०२
362
SHARES
तिलोत्तमामा गुट्खा बिक्रीमा प्रतिबन्ध, हर्न निषेध

लुम्बिनी- रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगर क्षेत्रमा गुट्खा बिक्रीमा प्रतिबन्ध लगाएको छ। नगरपालिकाले ‘हरियाली प्रवर्द्धन एवं नियमित सरसफाई अभियान’को १००औँ श्रृंखलामा पुगेको अवसरमा उक्त गुट्खा बिक्रीमा प्रतिबन्ध लगाउने घोषणा गरेको हो।

अभियानको १००औँ श्रृङ्खला पुगेको अवसरमा बुधबार कार्यक्रम आयोजना गर्दै नगरपालिकाले वातावरण सुधारका पक्षमा हर्न निषेध लगायतका विभिन्न पाँच प्रतिबद्धता गरेको हो।

नगर प्रमुख रामकृष्ण खाणले वातावरणसँग सम्बन्धित पाँच प्रतिबद्धता घोषणा गरेका हुन्। उनले वातावरणमैत्री स्थानीय शासनयुक्त नगरपालिका निर्माणको अभियान प्रारम्भ भएको भन्दै नगरमा हर्न निषेध, पशु दर्ता प्रणाली सञ्चालन, फोहरमैला वर्गीकरण गरिने र गुट्खाजन्य पदार्थको बिक्रीवितरणमा प्रतिबन्ध लगाइएको घोषणा गरे।

उक्त प्रतिबद्धता प्रभावकारी रूपमा कार्यान्वयन गर्दै जाँदा वातावरणमैत्री नगरपालिका निर्माणमा थप टेवा पुग्ने नगर प्रमुख खाणले बताए।

फागुन २५ गतेबाट सुरु भएको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत बुधबार आयोजित समारोहलाई सम्बोधन गर्दै पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरसफाई अभियानमा आसपासका अन्य पालिकाहरूलाई पनि जोड्न तिलोत्तमालाई आग्रह गरे।

सरसफाई, विकास निर्माण र अन्य सामाजिक विषयमा तिलोत्तमाले आफ्नो विशिष्ट पहिचान बनाएको भन्दै पौडेलले विकासको पक्षमा सबै जनप्रतिनिधि एकै ठाउँमा रहनुपर्ने बताए।

यस्तै प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले नेपालले दीगो विकास लक्ष्यका लागि गरेको प्रतिबद्धता पूरा गराउन पनि सरसफाई अभियान हरेक पालिकाले चलाउनुपर्ने बताए।

बाग्मती सरसफाई महाअभियानका संयोजक एवं पूर्वमुख्यसचिव लिलामणि पौड्यालले फोहोरमैला व्यवस्थापनमा कोही पनि बाधक बन्न नहुने भन्दै संस्कार बदल्न सके फोहारमैलाको दीगो व्यवस्थापन हुने औंल्याए।

सो अवसरमा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईं, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय लगायतले साझा समस्या समाधानका लागि अन्तरपालिका समन्वय हुनुपर्ने बताए।

प्रकाशित: १ चैत २०७९ १७:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − ten =