तिलोत्तमा गोल्डकप : फ्रेन्ड्सलाई हराउँदै मनाङ मर्स्याङ्दी फाइनल प्रवेश

हिमाल प्रेस ९ चैत २०७९ २०:००
8
SHARES
तिलोत्तमा गोल्डकप : फ्रेन्ड्सलाई हराउँदै मनाङ मर्स्याङ्दी फाइनल प्रवेश

लुम्बिनी– फ्रेन्ड्स क्लवलाइ हराउँदै मनाङ मर्स्याङ्दी फाइनल प्रवेश गरेको छ। बुटवलमा जारी २२ औं संस्करणको तिलोत्तमा गोल्डकप अन्तरगत विहिबार भएको खेलमा मनाङ मर्स्याङ्दीले ४-३ गोलअन्तरले फ्रेन्ड्स क्लवलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो। अब मनाङ मर्स्याङ्दीले उपाधिका लागि सुदूरपश्चिम ११ संग प्रतिस्पर्धा गर्नेछ।

निर्धारित ९० मिनेटको खेलमा २-२ को बराबरीमा खेल टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो। निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा मनाङले फ्रेन्ड्सलाई स्तब्ध पार्दै अगाडि बढेको हो। योसंगै १५ औं संस्करणको बिजेतासमेत रहेको फ्रेन्ड्स क्लव सेमिफाइनलबाटै बाहिरिएको हो।

पेनाल्टी सुटआउटमा फ्रेन्ड्सका रुपेश केसी र डोना थापाले गोल गर्ने अवसर पाए पनि चुके। मनाङका जियनाथ सेख,अजित गुरुङ, विसन गुरुङ र आशिष गुरुङले गोल गरेका थिए भने फ्रेन्ड्स क्लवका अमित तामङ, विदेशी खेलाडी टोरिक जिब्रन र उत्तम राईले गोल गरे। निर्धारित समयमा फ्रेन्डस क्लवका तर्फबाट बिदेशी खेलाडी रफिक अमेनुले खेलको ७ मिनेटमा नै गोल गरे।

यस्तै खेलको २६ औं मिनेटमा उत्तम राईले गोल गरेका थिए। पहिलो हापको ईजुरी समयमा मनाङ मर्स्याङदीका क्याप्टेन जर्शी नम्बर ४ का आशिष गुरुङले एक गोल गर्दै २-१ को अवस्थामा पुर्‍याए। दोस्रो हापको २ मिनेटमा नै मनाङ मर्स्याङ्दीका प्रशन्न श्रेष्ठले गोल गर्दै २-२ बराबरीमा पुर्‍याएका थिए।

खेलमा मनाङ मर्स्याङ्दीका क्याप्टेन आशिष गुरुङ म्यान अफ द म्याच भई ११ हजार १ सय ११ रकम सहित यति हेल्मेट र करेन्ट चाउचाउ प्राप्त गरे। यसअघि बुधबार भएको पहिलो सेमिफाइनलमा खेलमा सुदूरपश्चिम ११ ले थ्री स्टार क्लवलाई १-० गोलअन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो।

फाइनल खेल चैत ११ गते शनिबार हुनेछ। बुटवल उपमहानगरपालिकाको संरक्षकत्व र रूपन्देही फुटबल संघको आयोजनामा सञ्चालित प्रतियोगितामा दुई विभागीयसहित ८ टिम सहभागी प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ।

सर्वोत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ १ थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचलाई जनही ३० हजारका दरले नगद पुरस्कार प्रदान गरिने छ। खेलमा म्यान अफ द म्याचलाई ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने संघका महासचिव हिमाल गौचनले बताए।

प्रकाशित: ९ चैत २०७९ २०:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − two =