तिलोत्तमा गोल्डकप सुरु, उद्घाटन खेलमा सुदुरपश्‍चिम विजयी

हिमाल प्रेस ४ चैत २०७९ १९:४०
10
SHARES
तिलोत्तमा गोल्डकप सुरु, उद्घाटन खेलमा सुदुरपश्‍चिम विजयी

लुम्बिनी– सर्वाधिक धनराशि रहेको तिलोत्तमा गोल्डकप फूटबल प्रतियोगिता २०७९ शनिबारदेखि बुटवलमा सुरु भएको छ। बुटवल देविनगरस्थित एन्फा एकेडेमीमा सुरु भएको प्रतियोगिताको उदघाटन खेलमा आयोजक करेन्ट रुपन्देही ११ ले हार व्यहोरेको छ।

सुदुरपश्‍चिम ११ ले आयोजकलाई ३-१ गोलको सहज जित निकाल्दै सेमिफाइनल पुगेको छ। सुदूरपश्‍चिमका लागि जर्सी नम्बर-११ का फागुराम थारूको २ तथा जर्सी नम्बर-१९ का स्वाम्या हार्दिकले गोल गरेका हुन्।

खेलको सुरुवातदेखिनै रुपन्देहीमाथि हाबी देखिएको सुदुर पश्‍चिमका लागि पहिलो हाफको ३१ औं मिनेटमा जर्सी नम्बर ११ का फागु चौधरीले करिब ३० यार्ड टाढाबाट फ्री किक प्रहार गर्दै सोझै जाली चुमाएका थिए।

१-० अंकसँगै पहिलो हाफ सकिएको थियो। दोस्रो हाफको सुरुवाती मिनेटमै प्राप्त फ्री किकलाई सदुपयोग गर्दै सुदूर पश्‍चिमका स्वाम्या हार्दिकले बललाई जाली चुमाउँदै अग्रतालाई दोब्ब बनाएका थिए।

यस्तै खेल अवधिभर उत्कृष्ट खेल प्रस्तुत गर्दै निरन्तर गोलको अवसर सिर्जना गरिरहेका जर्सी नम्बर ११ का थारूले दोस्रो हाफको २३ औं मिनेटमा थप एक गोल गर्दै टिमलाई ३-० को अग्रतामा पुर्‍याएका थिए।

दोस्रो हाफको अतिरिक्त समयको अन्तिम समयमा रुपन्देहीले सान्त्वना गोल गर्न सफल भएको थियो। सुदूरपश्‍चिमको डी एरियाभित्र फौल भएपछि प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै रुपन्देहीका जर्सी नम्बर ७ का फोडे फोफोनाले गोल गरेका हुन्।

प्रतियोगितामा सुदूरपश्‍चिमका फागुराम थारू म्यान अफ दी म्याच घोषित भए। आइतबारको खेल हिमालयन शेर्पा र थ्री सटारबीच हुने छ।

दुई विभागीयसहित ८ टिम सहभागी प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार पाउने संघले जनाएको छ।

गोल्डकपको उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ। सर्वोत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ वा १ थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मीड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ।

यस्तै प्रत्येक खेलमा म्यान अफ द म्याचलाई पनि ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने संघले जनाएको छ। प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले उद्घाटन गरे।

तस्बिर- विनोद परियार/हिमाल प्रेस

प्रकाशित: ४ चैत २०७९ १९:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 3 =