उपराष्ट्रपतिमा प्रमिला र रामसहाय दुवैको उम्मेदवारी यथावत, अष्टलक्ष्मीसहित चार जना मैदानमा

हिमाल प्रेस २८ फागुन २०७९ २०:५८
8
SHARES
उपराष्ट्रपतिमा प्रमिला र रामसहाय दुवैको उम्मेदवारी यथावत, अष्टलक्ष्मीसहित चार जना मैदानमा

काठमाडौँ– उपराष्ट्रपति पदका लागि जनता समाजवादी पार्टी, नेपाल (जसपा)बाट रामसहाय यादव र प्रमिला यादव दुवै जनाको उम्मेदवारी यथावत रहेको छ।

आइतबार निर्वाचन आयोगले दिएको समयावधिसम्म कसैले नाम फिर्ता नलिएपछि जसपाबाट २ जनासहित जम्मा ४ जना उपराष्ट्रपति पदको निर्वाचनमा प्रतिष्पर्धी रहेका छन्।

उपराष्ट्रपतिका लागि नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, जसपाबाट प्रमिला, रामसहायप्रसाद र जनमत पार्टीबाट ममता झा उम्मेदवार रहेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयले जनाएको छ।

जसपाबाट उपराष्ट्रपतिमा रामसहायप्रसादको नाम स्वीकृत गर्ने पार्टी नेताहरूले बताउँदै आए पनि आइतबारसम्मको समयसीमामा दुवै जनाको नाम कायम रहेको छ।

‘कुनै पनि उम्मेदवारले नाम फिर्ता लिनुभएन र हामीले अहिले अन्तिम नामावली प्रकाशित गरिसकेका छौँ। अष्टलक्ष्मी शाक्य, प्रमिला कुमारी, ममता झा र रामसहायप्रसाद यादव उपराष्ट्रपति पदका उम्मेदवार हुनुहुन्छ,’ कार्यालयका निर्वाचन अधिकृत महेश शर्मा पौडेलले भने।

नाम फिर्ता लिने समय आइतबार (आज) दिउँसाो १ देखि ४ बजेसम्मको थियो। उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँदैछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =