ढोरपाटनले वितरण गर्‍यो कृषकलाई उन्नत जातका बाख्रा

हिमाल प्रेस १५ फागुन २०७९ ८:२८
4
SHARES
ढोरपाटनले वितरण गर्‍यो कृषकलाई उन्नत जातका बाख्रा

बागलुङ- बागलुङको ढोरपाटन नगरपालिकाले पशुपालक कृषकलाई उन्नत जातको बाख्रा तथा बोका वितरण गरेको छ। नगरपालिकालाई मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले अघिल्ला वर्षहरूदेखि कृषकलाई अनुदानमा बाख्रा वितरण गर्दै आएको छ।

चालुक आर्थिक वर्ष संघीय सरकारको ससर्त अनुदान बजेटबाट यहाँका २० कृषकलाई उन्नत जातका बोक तथा बाख्रा वितरण गरेको ढोरपाटन नगरपालिकाका पशु शाखा प्रमुख तेजमाया खड्काले जानकारी दिए। नगरपालिकाले अनुदानमा बोका तथा बाख्रा वितरणका लागि सूचना आह्वान गरेको निवेदन पेस गरेका कृषकलाई छनोट गरी वितरण गरिएको उनको भनाइ छ।

नगरपालिकाको ७५ प्रतिशत अनुदानमा कृषकलाई बाख्रा वितरण गरिएको उनले बताए। तेइस जनाको निवेदन आरेकोमा १५ जनाले बाख्रा तथा बोका पाएका छन्। जमुना पारी जातको छ बाख्रा, तीन बोका, बोयर जातका छ बोका र नौ बाख्रा कृषकलाई वितरण गरेको उनको भनाइ छ।

प्रमुख खड्का भन्छन्, ‘यहाँका कृषकलाई नगरपालिकाले अघिल्लो वर्ष पनि अनुदानमा बाख्रा वितरण गरेको थियो, यसलाई निरन्तर दिइराखेका छौँ, योसँगै कृषकलाई खोप, तालिम तथा परामर्श पनि दिइराखेका छौँ, यहाँ धेर व्यावसायिकरुपमा पशुपालनमा पनि लाग्नुभएको छ, उहाँहरुको माग र आवश्यकतालाई मध्यनजर गरेर काम गर्ने प्रयास गरेका छौँ।’

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले कृषकको जीवनस्तर उकास्नका लागि आधुनिक प्रविधिसँग जोड्न थालेको बताए। उनले ढोरपाटन क्षेत्र पशुपालनका लागि निकै उपयुक्त ठाउँ रहेको जनाउँदै कृषकलाई प्रशिक्षित बनाउने, अनुदानको व्यवस्था गर्ने र उत्पादनसँग जोड्ने गरी योजना बनाएको जानकारी दिए।

‘हामीहरूले तरकारी तथा फलफूल खेती गर्ने कृषकलाई टनेल वितरण गर्‍यो, धेरैले सदुपयोग गर्नुभयो। केहीले दुरुपयोग गर्नुभयो, यहाँ थुप्रै खाली जग्गा छन्’,उनले भने, ‘कृषकको जीवनस्तरमा परिवर्तन ल्याउने गरी काम गर्न एउटा खाका तयार पारेका छौँ, दूध, मासु र अण्डामा ढोरपाटनलाई आत्मनिर्भर बनाउन जोड दिएका छौँ।’

उपप्रमुख कायतले स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरणका लागि पश्चिम बागलुङका स्थानीय तह एकजुट हुनुपर्नेमा जोड दिए। आयातित कृषिउपज वस्तुका कारण स्थानीय उत्पादनले बजार पाउन नसकेको बताए।

प्रकाशित: १५ फागुन २०७९ ८:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 11 =