सोलुखुम्बुमा यस वर्ष पहिलोपटक हिमपात, कृषकलाई राहत

हिमाल प्रेस १४ फागुन २०७९ २०:५२
2
SHARE
सोलुखुम्बुमा यस वर्ष पहिलोपटक हिमपात, कृषकलाई राहत

काठमाडौँ- हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्ष पहिलोपटक हिमपात भएको छ। विगतका वर्षहरूमा पुस अन्तिमदेखि नै हुने हिमपात यस वर्ष फागुनको करिब तेस्रो साता (आइतबार)देखि मात्रै परेको हो।
यसवर्ष सोलुखुम्बुमा तुलनात्मक रूपमा ढिला गरी हिउँ परेको हो।

आइतबार बिहानैदेखि मौसममा बदली आए पनि साँझदेखि हल्का वर्षासँगै हिमपात भएको हो। हाल जिल्लाको तीन हजार मिटर उचाइभन्दा माथिको क्षेत्रमा हल्का हिमपात भइरहेको छ। जिल्लाको तल्लो क्षेत्रमा आंशिक वर्षा र माथिल्लो क्षेत्रमा हिमपात भएपछि किसान र स्थानीयले राहत महसुस गरेका छन्।

हिउँविहीन बनेका हिमालहरू हिउँ परेसँगै सेताम्मे भएका छन्। जिल्लाका पत्ताले, पिके, नाम्चे, खुम्जुङलगायत स्थानमा हिउँ परिरहेको छ। हिउँदयामभरी हिउँ नपर्दा यहाँ गर्मी सुरु भइसकेको थियो। आइतबार हिमपात भएपछि यहाँका केही बस्तीमा चिसो महसुस हुन थालेको छ। यद्यपि विगतका वर्षहरूमा झैँ बाक्लो हिउँ भने अझै परेको छैन।

नाम्चे बजार क्षेत्रमा भने आइतबार बिहान मात्रै केहीबेर हिउँ परेको थियो। बजार क्षेत्रमा तुनात्मक रूपमा हिउँ कम मात्रामा परे पनि हिमालमा भने हिमपात भइरहेको छ। कालापत्थरमा परिणत भएका हिमालहरू सेताम्मे भएको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले बताए। उनका अनुसार हिउँ बाक्लो नपरेकाले जमीनमा भने हिउँ जम्न सकेको छैन।

हिउँदमा वर्षा र हिमपात नहुँदा सिँचाइको अभावले चिन्तित बनेका कृषकहरू खुसी देखिएका छन्। हिउँदे बालीको उत्पादन घट्ने चिन्तामा रहेका किसान आकासे पानी परेसँगै उत्साहित बनेको नेचा सल्यान गाउँपालिकाका किसान दीपक बस्नेतले बताए। रासस

प्रकाशित: १४ फागुन २०७९ २०:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 5 =