हिउँले छोपियो पातीहाल्ने, पर्यटकको घुइँचो

हिमाल प्रेस २१ माघ २०८० २०:२२
24
SHARES
हिउँले छोपियो पातीहाल्ने, पर्यटकको घुइँचो

ढोरपाटन (बागलुङ)- बिहीबार बिहानैदेखि परेको हिमपातले बागलुङ, रोल्पा र पूर्वीरुकुमको सिमानामा पर्ने पातीहाल्ने क्षेत्र सेताम्य छ।

बागलुङको तल्लो क्षेत्रमा सामान्य वर्षा भए पनि माथिल्लो क्षेत्रमा पर्ने पातीहाल्ने हिउँले छोपिँदा पर्यटकको घुइँचो लागेको हो।

बागलुङबाट मात्रै होइन, पूर्वीरुकुम, रोल्पा, जाजरकोट, गुल्मी, प्युठान र बुटवलदेखि हिउँ खेल्न मानिसहरू यहाँ आएका छन्। भारी हिमपातका कारण तीन दिनसम्म पनि यस क्षेत्रमा हिउँ पग्लिएको छैन। हिउँ खेल्न पातीहाल्ने हिँडेका सबै पर्यटक अत्यधिक हिमपातले सडक अवरुद्ध हुँदा त्यहाँ पुग्न सकेका छैन।

निसीखोला गाउँपालिकाले शुक्रबार र शनिबार दुई दिन मेसिन लगाएर सडक खुलाएपछि केही पर्यटक पातीहाल्ने पुग्न पाए। पर्यटकहरू पातीहाल्नेसँगै तिलाचन र रिगतालसम्म पुगेका छन्।

पातीहाल्नेबाट करिब आधा घण्टाको पैदल यात्रामा तिलाचन र १५ मिनेटको पैदल यात्रामा रिगताल पुग्न सकिने निसीखोला-६ का स्थानीय वीरबहादुर विकको भनाइ छ। शुक्रबारदेखि दैनिक चार सयको हाराहारीमा पर्यटकहरू पातीहाल्नेतर्फ लागेको उनले बताए।

गुल्मीको मुसिकोटबाट हिउँ खेल्न आएका अभय घिमिरेले पहिलो पटक यही आएर हिउँ देखेको बताए। ‘बुटवलबाट घर आएको बेलामा साथीहरूसँग पातीहाल्नेमा आउने मौका जुर्‍यो,’ उनले भने,  ‘हामी आउँदा सडक सजिलो भएकाले समस्या भने भएन।’

उनले पहिलोपटक हिउँमा खेल्न पाउँदा निकै रमाइलो लागेको अनुभव सुनाए।  बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजारदेखि करिब ४२ किलोमिटर पश्चिममा रहेको पातीहाल्ने मध्यपहाडी लोकमार्गमा पर्छ।

पक्की लोकमार्ग हुँदै यहाँ पुग्न करिब ४० मिनेट लाग्छ। हिमपातपछि पातीहाल्ने क्षेत्र निकै सुन्दर देखिएको रोल्पाको उवाखोलाबाट आएका महेश बुढाथोकीले बताए। आफू यसभन्दा पहिले पनि पातीहाल्ने हुँदै धेरै पटक यात्रा गरेको स्मरण गर्दै उनले हिमपातले यहाँको सुन्दरता बढाएको बताए। -रासस

प्रकाशित: २१ माघ २०८० २०:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 4 =