फिफा वर्ष खेलाडी : मुख्य प्रतिस्पर्धामा मेस्सी र एम्बाप्पे

हिमाल प्रेस १४ फागुन २०७९ १७:५६
26
SHARES
फिफा वर्ष खेलाडी : मुख्य प्रतिस्पर्धामा मेस्सी र एम्बाप्पे

काठमाडौँ- विश्वकप उपाधिपछि फिफा वर्ष खेलाडी पुरस्कारका लागि पनि लियोनल मेस्सी र किलियान एम्बाप्पे आमनेसामने हुँदैछन्। सोमबार घोषणा हुने यो पुरस्कारका लागि रियल म्याड्रिडका कप्तान करिम बेन्जेमा पनि प्रतिस्पर्धामा छन्। विश्व फुटबल नियामक संस्था फिफाले वर्षेनी वितरण गर्ने यो पुरस्कार समारोह फ्रान्सको राजधानी पेरिसमा हुनेछ।

पेरिस सेन्ट जर्मेन (पीएसजी)मा सँगै खेल्ने एमबाप्पेसम्मिलित फ्रान्सलाई हराउँदै अर्जेन्टिनालाई विश्वकप जिताएका मेस्सी वर्ष खेलाडी घोषित हुने अनुमान छ।

सन् १९९१ देखि सुरु फिफा वर्ष खेलाडी पुरस्कार २००९ सम्म वितरण गरिएको थियो। त्यसपछि फ्रान्सको फ्रान्स म्यागजिनसँग मिसिएर फिफा बालोन डोर बन्यो। सन् २०१६ पछि भने फिफा फ्रान्स म्यागजिनबाट छुट्टिएर आफैँ वर्ष खेलाडी घोषणा गर्दै आएको छ।

सात पटक बालोन डोर जितेका मेस्सीले फिफा वर्ष खेलाडी पुरस्कार भने जम्मा एकपल्ट (सन् २०१९) मा मात्र जितेका छन्। सन् २०२० र २०२१ मा रोबर्ट लेवान्डोस्की विजेता बन्दा मेस्सी भने क्रमशः तेस्रो र दोस्रो भएका थिए।

सन् २०२२ मा विश्वकप जितेकाले उनले दोस्रो पटक यो पुरस्कार हात पार्ने अपेक्षा गरिएको हो। फिफा वर्ष खेलाडीको निर्क्याेल प्रत्येक देशका प्रशिक्षक, कप्तान र पत्रकारले हालेको मतका आधारमा हुनेछ। समर्थकले पनि इन्टरनेटमार्फत मतदान गर्नसक्ने व्यवस्था छ।

मेस्सीसँग प्रतिस्पर्धामा रहेका एम्बाप्पेले कतार विश्वकपको फाइनलमा अर्जेन्टिनाविरुद्ध ह्याट्रिक गरेका थिए। विश्वकप फाइनलमा ह्याट्रिक गर्ने उनी सन् १९६६ यताकै पहिलो खेलाडी हुन्। यसअघि इंग्ल्यान्डका जियोफ हर्स्ट पश्चिम जर्मनीविरुद्ध तीन गोल गरेका थिए।

विश्वकप फाइनलको केही दिनअघि मात्र २४ वर्ष पुगेका एम्बाप्पेले कतारी भूमिमा आठ गोल गरे। उनले गोल्डन बुट जित्दा मेस्सीलाई चाहिँ गोल्डन बल दिइएको थियो। सन् २०२२ मा एम्बाप्पे विश्वकपमा मात्र चम्किएनन्, क्लब फुटबलमा पनि उनको प्रदर्शन त्यत्तिकै सशक्त रह्यो। फ्रेन्च लिग वानमा गत सिजन उच्च गोलकर्ता बनेका उनलाई फ्रान्सले वर्ष खेलाडी बनाएको थियो। यद्यपि उनको यी सफलतालाई मेस्सीले जितेको विश्वकप उपाधिले छायामा पारेको छ।

बालोन डोर विजेता रुड गुलिटले पनि मेस्सीलाई नै बलियो दाबेदार मानेका छन्। ‘विश्वकप जितेका कारण मेस्सी स्वतः अरुभन्दा बलिया दाबेदार हुन्,’ डच फुटबलका ‘लेजेन्ड’ गुलिटले भनेका छन्, ‘यसो भनिरहँदा मलाई के पनि थाहा छ भने एम्बाप्पे पनि हाल मेस्सीकै स्तरमा छन्। विश्वकप फाइनलमा उनले जे गरे, त्यसले मलाई प्रभावित बनाएको छ।’

चोटका कारण विश्वकप खेल्न नपाएका बेन्जेमाले गत वर्ष च्यामिपयन्स लिग र ला लिगा उपाधि जितेका थिए। साढे पाँच वर्षपछि फ्रान्सको टिममा फर्किएका उनी अन्तिम समयमा कतार जानबाट वञ्चित रहे।

रियल म्याड्रिडका लागि गरेको प्रदर्शनका आधारमा उनी फिफा वर्ष खेलाडीको मनोनयनमा परेका हुन्। उनले गत वर्ष रियलको जर्सीमा ४६ खेल खेलेर ४४ गोल गरेका थिए। बालोन डोर २०२२ जितेका उनले रियलका लागि बलियो लय जारी राखेका छन्।

महिलातर्फको वर्ष खेलाडी बन्ने दौडमा एलेक्सिया पुटेलास अगाडि छिन्। गत वर्ष पनि फिफा वर्ष खेलाडी बनेकी उनी बालोन डोर विजेता २०२२ विजेता पनि हुन्। स्पेन तथा बार्सिलोनाकी मिडफिल्डर पुटेलाससँगै इंग्ल्यान्डकी बेथ मिड र अमेरिकी स्टार एलेक्स मोगार्न पनि यो पुरस्कारका लागि प्रतिस्पर्धामा छन्।

वर्ष प्रशिक्षक (पुरुष) तिरको मनोनयनमा अर्जेन्टिनाका विश्वकप विजेता लियोनल स्कालोनी, रियलका कार्लो एन्सिलोट्टी र म्यानचेस्टर सिटीका पेप ग्वार्डिओला छन्।

वर्ष प्रशिक्षक महिलातर्फको मनोनयनमा इंग्ल्यान्डलाई युरो २०२२ जिताउने सरिना विगमन, लियोनकी सोनिया बोपास्टार र ब्राजिलकी पिया सुन्ढेग छन्।

उत्कृष्ट गोलरक्षक (पुरुष) को सूचीमा अर्जेन्टिनाका विश्वकप विजेता इमिलियानो मार्टिनेज, रियललाई च्याम्पियन्स लिग र ला लिगा जिताएका थिबाउट कोर्टुवा र मोरोक्कोलाई विश्वकप सेमिफाइनलमा पु¥याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका यासिन बौनौ छन्।

उत्कृष्ट महिला गोलरक्षकको सूचीमा आन कट्रिन बेर्गेर (जर्मनी/चेल्सी), म्यारी इप्स्र (इंग्ल्यान्ड/म्यानचेस्टर युनाइटेड) र क्रिस्टियन इन्ड्लेर (चिली/लियोन) छन्।

ब्राजिलका रिचारलिसनले विश्वकप २०२२ मा सर्बियाविरुद्ध गरेको गोल पुस्कासका लागि मनोनयनमा परेको छ। यो पुरस्कार जित्न उनले पोल्यान्डका मार्सिन ओलेस्की र मार्सेका डिमिट्री पायेटको चुनौतीलाई पन्छाउनु पर्नेछ।

मनोनयन सूची:

वर्ष खेलाडी, पुरुष
करिम बेन्जेमा, फ्रान्स/रियल म्याड्रिड
किलियान एम्बाप्पे, फ्रान्स/पीएसजी
लियोनल मेस्सी, अर्जेन्टिना/पीएसजी

वर्ष खेलाडी, महिला
बेथ हिड, इंग्ल्यान्ड/आर्सनल
एलेक्स मोर्गान, अमेरिका/सान डिएगो वेभ
एलेक्सिया पुटेलास, स्पेन/बार्सिलोना

वर्ष प्रशिक्षक, पुरुष
कार्लो एन्सिलोट्टी, रियल म्याड्रिड
पेप ग्वार्डिओला, म्यानचेस्टर सिटी
लियोनल स्कालोनी, अर्जेन्टिना

वर्ष प्रशिक्षक, महिला
सोनिया बोम्पास्टोर, लियोन
पिया सुन्ढेग, ब्राजिल
सरिना विगमन, इंग्ल्यान्ड

उत्कृष्ट गोलरक्षक, पुरुष
इमिलियानो मार्टिनेज, अर्जेन्टिना/एस्टन भिल्ला
थिबाउट कोर्टुवा, बेल्जियम/रियल मयाड्रिड
यासिन बौनौ, मोरोक्को/सेभिया

उत्कृष्ट गोलरक्षक, महिला
कट्रिन बेर्गेर, जर्मनी/चेल्सी
म्यारी इप्र्स, इंग्ल्यान्ड/म्यानचेस्टर युनाइटेड
क्रिस्टियन इन्ड्लेर, चिली/लियोन

पुस्कास
रिचारलिसन, ब्राजिल
मार्सिन ओलेस्की, पोल्यान्ड
डिमिट्री पायेट, मार्से

प्रकाशित: १४ फागुन २०७९ १७:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − five =