संसद्‍मा रघुजी पन्तको आक्रोश : हाम्रो राष्ट्रपतिको नाम विदेशीको ट्विटमा हेर्नुपर्ने?

हिमाल प्रेस १० फागुन २०७९ १५:१०
4
SHARES
संसद्‍मा रघुजी पन्तको आक्रोश : हाम्रो राष्ट्रपतिको नाम विदेशीको ट्विटमा हेर्नुपर्ने?

काठमाडौँ- नेकपा (एमाले)का सांसद रघुजी पन्तले विदेशीहरूले नेपालमा गर्ने भेटघाटबारे नियमन गर्न सरकारसँग माग गरेका छन्।

नेपालको राष्ट्रपति निर्वाचनअघि भारतीय विदेश सचिव विनयमोहन क्वात्राले गरेको उच्चस्तरीय राजनीतिक भेटवार्ताप्रति आपत्ति जनाउँदै उनले कहिल्यै पराधिन नभएको मुलुकका लागि लाजमर्दो विषय भएको टिप्पणी गरेका हुन्।

बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद पन्तले भारतीय पूर्वप्राध्यापक एसडी मुनीको ट्विटमा नेपालको राष्ट्रपतिको नाम पढ्नुपर्ने अवस्था आउनु दुःखद भएको बताए।

‘दुःखको कुरा हामीले हाम्रो राष्ट्रपति को हुने भन्ने कुरा भारतको एउटा जेएनयूका पूर्व प्रोफेसरले हाम्रा पूर्वराजदूतको नाम, हाम्रा पूर्वसभामुखको नाम, पूर्वअर्थमन्त्री, मानवअधिकारवादीलगायतका ३/४ जनाको नाम लिएर यिनीहरू नेपालको राष्ट्रपति हुन उपयुक्त हुन्छ भनेर प्रस्तुत गर्छन्। कस्तो दिन आयो?,’ उनले भने, ‘हाम्रो मन्त्रीस्तरको राजदूत हुनुहुन्थ्यो निलाम्बरजी। उहाँलाई भारतको परराष्ट्रमन्त्रीसँग भेट्नका लागि पटकपटक ताकेता गर्दा पनि मुस्किलले भेट हुन्थ्यो। तर राष्ट्रपतिको चुनाव अगाडि यहाँ भारतीय विदेश सचिव आउँछन्। र, उनलाई प्रधानमन्त्री, परराष्ट्रमन्त्री, परराष्ट्रसचिव, पूर्वप्रधानमन्त्री, राष्ट्रपति सबैसँग भेटाउँछौँ।’

उनले देशको स्वाभिमानका लागि पनि विदेशीहरूको भेटघाटको नियमन गर्नैपर्ने बताए।

प्रकाशित: १० फागुन २०७९ १५:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =