विवादमा ‘जनयुद्ध दिवस’, बचाउमा प्रचण्ड

हिमाल प्रेस १ फागुन २०७९ ११:४०
4
SHARES
विवादमा ‘जनयुद्ध दिवस’, बचाउमा प्रचण्ड

काठमाडौँ- सरकारले दिएको जनयुद्ध दिवस विवादमा परेको छ। जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिन नहुने भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबारको मन्त्रिपरिषद् बैठकबाट बिदा निर्णय गरेका थिए। यसबारे मन्त्रिपरिषद् बैठकमै विवाद भएको थियो।

एमालेबाट मन्त्री बनेका परराष्ट्रमन्त्री विमला पौड्याल राई र स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले बिदा नदिन प्रधानमन्त्रीसमक्ष आग्रह गरेका थिए। तर, प्रचण्डले बिदा दिएरै छाडे। जनयुद्धमा बिदा दिने प्रस्ताव आएपछि राप्रपाबाट सामेल मन्त्रीहरू आइतबारको मन्त्रिपरिषद् बैठकमै सामेल भएनन्। जनयुद्ध दिवसलाई लिएर सत्तारुढ नेताले नै आलोचना गरेका छन्।

सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले २०४६ पछिका सबैखाले जनसंघर्षको उच्चतम् उपलब्धिले गणतन्त्रको स्थापना भएको बताएका छन्। ‘२०४६ पछिका सबैखाले जनसंघर्षको उच्चतम् उपलब्धि हो गणतन्त्रको स्थापना,’ पोखरेलले प्रश्‍न गरेका छन्, ‘गणतन्त्र दिवसले ती सबैको यथोचित् सम्मान भएको थिएन र?’ उनले गणतन्त्रको जग १० वर्षे युद्ध मात्र नभएको औँल्याएका छन्।

एमालेका केन्द्रीय सदस्य तथा केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले पनि सरकारले जनयुद्ध दिवसको बिदा दिएर समाजमा विभाजन ल्याउन खोजेको आरोप लगाएका छन्।

‘माओवादीको न संसद्‍मा बहुमत छ न सरकारमा। उसलाई ‘जनयुद्ध’ जति प्रिय छ, अरूलाई त्यति नै अप्रिय छ,’ रिजालले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘त्यसैले ११ प्रतिशतले ८९ प्रतिशतमाथि आफ्नो निर्णय लाद्नु कदापि बुद्धिमानी होइन। अरूलाई अक्करमा पारेर माथि हात पारेको ठान्नु आत्मरति मात्र हुन्छ।’

एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले जनयुद्ध दिवसको दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गर्नुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘मौकामा हिरा फोडेको’ टिप्पणी गरेका छन्। जनयुद्ध दिवसमा दिएको बिदाको बारेमा चौतर्फी विरोध भइरहँदा नेता बाँस्कोटाले प्रधानमन्त्रीले ‘पूर्व देखाएर पश्चिम हानेको’ बताएका छन्।

सामाजिक सञ्जालमा ट्वीट गर्दै उनले केही समयअघिसम्म बिदा बढी भयो भन्ने प्रधानमन्त्रीले पूर्व देखाएर पश्चिम हान्ने नीति लिएको तर्क गरेका हुन्। ‘अस्तिसम्म बिदा बढी भो भन्थे- प्रम पुष्पकमल दाहाल किन रैछ भनेको त पूर्व देखाएर पश्चिम हान्न रैछ,’ बाँस्कोटाले लेखेका छन्, ‘तैं चुप मैं चुप। मौकामा हिरा फोर्नु बेमौकामा कौडी नछुनु भनेका त्यसै हैन रैछ पुर्खाले।’

कांग्रेसमा असन्तुष्टि

यता प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमा पनि असन्तुष्टि देखिएको छ। कांग्रेस महान्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आपत्ति जनाउँदै कांग्रेसको आधिकारिक धारणा माग गरेका छन्।

कांग्रेसका नेता तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले संविधान र शान्ति सम्झौताको मर्मविपरीत ‘जनयुद्ध दिवस’ मनाउने सरकारको निर्णयप्रति कांग्रेसको आधिकारिक धारणा माग गरेका हुन्।

बचाउमा प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने बिदाको बचाउ गरिरहेका छन्। उनले आज बिहानै पार्टी कार्यालय पेरिसडाँडा पुगेर सम्बोधन गर्दै प्रचण्डले जनयुद्ध दिवस अब नेपाल राष्ट्रकै सम्पत्ति भएको बताएका थिए। उनले बिहानै सूचना समेत निकालेका छन्।

उनले परिवर्तन ल्याउने प्रमुख आन्दोलन र त्यसको नेतृत्वले जनयुद्ध दिवसको औचित्य सिद्ध गर्दै ऐतिहासिक आवश्यकतालाई मनन गरेर जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएको बताए।

माओवादीले २०५२ फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको थियो ‍। युद्धका क्रममा राज्य र माओवादी पक्षबाट हजारौंको मृत्यु भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − five =