कर्णालीमा दुर्घटनाको ग्राफ बढेको बढ्यै, प्रभावहीन सडक सुरक्षा योजना

रमा केसी २७ माघ २०७९ १०:२८
34
SHARES
कर्णालीमा दुर्घटनाको ग्राफ बढेको बढ्यै, प्रभावहीन सडक सुरक्षा योजना सुर्खेतमा भएको दुर्घटना।

सुर्खेत- गत माघ ८ मा सुर्खेत वीरेन्द्रनगर नगरपालिका-११ स्थित झुप्रा खोला नजिकै गाडी दुर्घटना भयो। बिहान साढे २ बजे भएको दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भयो। एक जना गम्भीर घाइते भए। प्रहरीका अनुसार मदिरा सेवन गरी तीव्र गतिमा गाडी चलाउँदा दुर्घटना भएको हो। सो गाडी ६ वटा डिभाइडर भत्काएर सडकबाट ८० मिटर तल खसेको थियो।

०००

२०७८ असोज २६ गते नेपालगन्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६८ नम्बरको बस असोज २६ गते छायाँनाथ रारा नगरपालिका–७ पिनाटप्ने खोलामा दुर्घटना हुँदा ३३ जनाको ज्यान गयो । ३४ जनाको क्षमता भएको बसमा ४६ जना सवार थिए।

०००

गत वर्ष नै मंसिर ८ गते नेपालगन्जबाट जाजरकोट जाँदै गरेको ना ६ ख २७५७ नम्बरको बस कुदुमा दुर्घटनाग्रस्त हुँदा ६ जनाले ज्यान गुमाए। बस सडकबाट करिब २०० मिटर तल खसेको थियो।

यी त प्रतिनिधिमूलक घटना हुन्। कर्णालीमा पछिल्लो ४ वर्षमा १ हजार १२३ सवारी दुर्घटना भएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय कर्णालीका अनुसार सो दुर्घटनामा ४३८ जनाको मृत्यु भएको छ।

दुर्घटनामा परी ८५७ जना गम्भीर घाइते भएको कार्यालयका प्रहरी निरीक्षक भीम खत्रीले जानकारी दिए। उनका अनुसार दुर्घटनामा परी १ हजार ५०४ जना भने सामान्य घाइते छन्। चालु आर्थिक वर्षको ६ महिनामा मात्रै ६३ जनाको मृत्यु भएको खत्री बताउँछन्।

आर्थिक वर्ष २०७६/७७ मा २३६ सवारी दुर्घटना हुँदा ९७ जनाको मृत्यु भएको थियो। आर्थिक वर्ष २०७७/७८ मा २९१ सवारी दुर्घटना हुँदा ९८ जना, २०७८/७९ मा ४०३ वटा दुर्घटनामा १८० जनाले ज्यान गुमाए।

प्रहरीका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म मात्रै १९३ दुर्घटना भएकोमा ६३ जनाको मृत्यु भएको छ।

सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले विभिन्न समयमा सडक सुरक्षा योजना चलाउने गर्छ। तर, पनि कर्णालीमा सवारी दुर्घटनामा भने कमी आउन सकेको छैन।

झण्डै ९ करोड राजस्व संकलन

कर्णाली ट्राफिक प्रहरीले पछिल्लो ४ वर्षमा प्रदेशभर १ लाख ६ हजार ९०९ सवारी कारबाहीबाट ८ करोड ८१ लाख १ हजार ८ सय रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ।
प्रहरीका अनुसार कर्णालीमा अधिकांश दुर्घटना मदिरा सेवन, सडकको अवस्था र तीव्र गतिका कारण हुने गरेका छन्। कर्णालीमा रहेको ५ हजार ४५६ किलोमिटर सडक रहेकोमा पक्की सडक मात्रै ७७८ किलोमिटर छ।

यस्तै कच्ची सडक ३ हजार १८१ किलोमिटर छ। १ हजार ४९७ किलोमिटर सडक ग्राभेल रहेको प्रहरीले जनाएको छ।

प्रहरीको ‘सुरक्षित यात्रा’ अभियान

प्रदेशमा सवारी दुर्घटना बढ्दै गएको अवस्थामा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले राजमार्ग तथा सहरी क्षेत्रहरूमा ‘सुरक्षित यात्रा अभियान’ सुरु गरेको छ।

सवारी दुर्घटना न्यूनीकरण गर्ने र यात्रु तथा चालकलाई सचेतना गर्ने उद्देश्यले गत बुधबारदेखि प्रहरीले अभियान सुरु गरेको हो।

कर्णाली प्रदेशका १० वटा जिल्लामा रहेका ट्राफिक प्रहरी कार्यालय र अस्थायी प्रहरी पोस्टहरूबाट एकसाथ उक्त अभियान सुरु गरिएको प्रदेश प्रहरीले जनाएको छ।

कर्णालीको मुख्य प्रवेशद्वार भेरीगंगा–५, बबई चेक प्वाइन्टमा प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक (एसएसपी) माधवप्रसाद श्रेष्ठले अभियानको शुभारम्भ गरेका हुन्।

अभियानअन्तर्गत यात्रुहरूसँग यात्राको क्रममा कुनै प्रकारको असहजता, दुव्र्यवहार भए/नभएको, तोकिएको भन्दा बढी भाडादर लिए/नलिएकोबारे जानकारी लिइने छ। नियम उल्लंघन गरेको पाइएमा तत्काल कारबाही गरिने एसएसपी श्रेष्ठको भनाइ छ।

सवारीसाधनमा यात्रा गर्दा यात्रुहरूले ध्यान दिनुपर्ने कुराहरू, सवारी चालकको पहिचान, चालकले खाना खाँदा मापसे गरे/नगरेको र लामो दूरीको सवारीसाधनमा दुईजना चालक भए/नभएकोबारे पनि निरीक्षण गरिनेछ।

प्रकाशित: २७ माघ २०७९ १०:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 8 =