अब चितवनको पदमपुरबाट पनि जिप सफारी

हिमाल प्रेस २६ माघ २०७९ १३:५४
4
SHARES
अब चितवनको पदमपुरबाट पनि जिप सफारी प्रतिनिधिमूलक तस्बिरः रासस

चितवन- चितवनको भीमवली सामुदायिक वनले पर्यटकका लागि जिप सफारी सुरु गरेको छ। कालिका नगरपालिका–५ पदमपुरस्थित वनमा आन्तरिक पर्यटन प्रवर्द्धनका लागि जिप सफारी सेवा सुरु गरिएको हो।

भीमवली पार्कदेखि सुरु हुने सफारी गुन्द्रेमान्द्रे चौर हुँदै डेढदेखि दुई घन्टाको यात्रापछि पुनःभीमवलीसम्म सञ्चालन हुनेछ। नगरपालिकाका जनप्रतिनिधिसहित स्थानीय सरोकारवालालाई जिप सफारी गराएर औपचारिक रूपमा सफारी सेवा सुरु गरिएको सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जयचन्द्रप्रसाद चौधरीले जानकारी दिए।

उनले जिप सफारीका क्रममा गैँडा, चित्तल, जरायो, मयुरलगायतका जीवजन्तु अवलोकन गर्न पाइने बताए। पदमपुर पर्यटनको सम्भावना भएको क्षेत्र हो।

नगर प्रमुख विनोद रेग्मीले भीमवली वन क्षेत्र नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास हुने बताए। उनले नगरपालिकाले पनि यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए।

नगर उपप्रमुख विमला लामाले स्थानीयस्तरमा पर्यटकीय क्षेत्रको सम्भावना खोजी हुनु सकारात्मक भएको भन्दै यसलाई दिगो बनाउन सबैले सहयोग गर्नुपर्ने बताइन्।

यहाँ आन्तरिक पर्यटक आकर्षित गर्न घरबास (होमस्टे) पनि सञ्चालनमा ल्याइएको भीमवली सामुदायिक होमस्टेका अध्यक्ष लोकराज चौधरीले जानकारी दिए। पहिलो चरणमा सात घरबास सञ्चालनमा ल्याइएको छ। पाहुनाको आगमन बढेसँगै घरबासको संख्या पनि बढाइने उनको भनाइ छ।

घरबासमा आउने पाहुनालाई थारुको परम्परागत खानासँगै थारु समुदायको कलासंस्कृतिले मनोरञ्जन प्रदान गरिने अध्यक्ष चौधरीले बताए। -रासस

प्रकाशित: २६ माघ २०७९ १३:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − seventeen =