मधेश प्रदेश : भुक्तानीको माग गर्दै निर्माण व्यवसायीले घेरे भौतिक पूर्वाधार मन्त्रालय

हिमाल प्रेस २५ माघ २०७९ १५:२७
14
SHARES
मधेश प्रदेश : भुक्तानीको माग गर्दै निर्माण व्यवसायीले घेरे भौतिक पूर्वाधार मन्त्रालय

जनकपुरधाम- भुक्तानीको माग गर्दै निर्माण व्यवसायीहरूले मधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय घेराउ गरेका छन्। प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयका विभिन्न योजनाहरूको विकास निर्माणको काम सम्पन्न गरे पनि अहिलेसम्म भुक्तानी नदिएको भन्दै उनीहरूले मन्त्रालय घेराउ गर्दै प्रदर्शन गरेका हुन्।

काम गरेको वर्षौं बिते पनि आफूहरूले भुक्तानी नपाएकोमा यथाशीघ्र हुनुपर्ने माग गर्दै उनीहरूले नारा जुलुससहित प्रदर्शन गरेका छन्। गत आर्थिक वर्षहरूमा प्रदेश सरकारको दर्जनौं विकास निर्माणको काम गरेका उनीहरूले काम सम्पन्न गरेको साढे दुई वर्ष बितिसक्दा पनि भुक्तानी नपाएकोले बाध्य भएर मन्त्रालय घेराउ गरेको निर्माण व्यवसायी खुसीलाल ठाकुरले जानकारी दिए।

उनले काम सम्पन्न गरेको वर्षौं बितिसकेको अवस्थामा अब बैंकको व्याज तिर्नसमेत समस्या भइरहेपनि भुक्तानीका लागि प्रदेश सरकारले चासो नदेखाएको गुनासो सुनाए। बैंकको व्याज महिनाको ८० हजार तिरिहेको उनले सुनाए। उनीहरूले भौतिक पूर्वाधार विकास मन्त्रालयमा तालाबन्दी गर्न खोज्दा प्रहरीले रोकेको थियो। उनीहरूको विभिन्न ४१ वटा योजनाको करोडौं रकम भुक्तानी गर्न बाँकी रहेको छ । यसमा अन्य मन्त्रालयहरुमा गरेको काम पनि रहेको छ।

यता, भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले उपभोक्ता समिति तथा निर्माण व्यवसायीहरूले भुक्तानी पाउनुपर्ने बताउँदै आवश्यक प्रक्रिया पुर्‍याएर सबैको भुक्तानी गरिने आश्वासन दिएका छन्। उनले सबैको भुक्तानीका लागि मुख्यमन्त्री पनि साकारात्मक देखिएकाले भुक्तानी हुने कुरामा ढुक्क रहन आग्रह गरे। मधेश प्रदेश सरकारका अन्य मन्त्रालयहरूको पनि विभिन्न उपभोक्ता समितिको करिब १ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

प्रकाशित: २५ माघ २०७९ १५:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + twelve =