पोखरा विमान दुर्घटनाको प्रारम्भिक कारण : दुवै इन्जिन ब्लेड छड्के नहुनु

विजय नेपाल २४ माघ २०७९ ९:३१
12
SHARES
पोखरा विमान दुर्घटनाको प्रारम्भिक कारण : दुवै इन्जिन ब्लेड छड्के नहुनु माघ १ गते पोखरामा दुर्घटनामा परेको यति एयरलाइन्सको जहाज। फाइल तस्बिर

पोखरा- पोखरामा गत १ माघमा भएको यती एयरलायन्सको विमान दुर्घटनाको प्रारम्भिक कारण सार्वजनिक भएको छ। विमानमा रहेका दुवै इन्जिन प्रोपेलर (ब्लेड) फेदर हुनुलाई विमान दुर्घटनाको प्रारम्भिक कारण देखाइएको छ।

यसको अर्थ निश्चित डिग्रीअनुसार छड्के नभई ९० डिग्रीमै रहनु भन्ने हो। दुर्घटनाको छानबिनको लागि गठित दुर्घटना जाँच आयोगले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै सो बारे जानकारी दिएको हो।

सिंगापुरस्थित ट्रान्सपोर्ट सेफ्टी इन्भेष्टिगेसनको ब्यूरो (टीएसआईबी) मा फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर दुवैको डाटा विश्लेषण र अनुसन्धानका क्रममा जहाज अवतरण गर्ने क्रममा बेस लेगमा दुवै इन्जिनका प्रोपलरहरू फेदरमा गएको तथ्य थाहा लागेको हो।

जहाजका दुवै इन्जिन प्रोपेलर फेदरमा किन गयो? भनी आयोगले प्राविधिक र मानवीय पक्षहरूबारे थप अनुसन्धान अगाडि बढाइसकेको जनाएको छ। विमानले फाइनल टर्न गर्नुअघि नै बेस लेगमा फेदर भइसकेको अनुसन्धानमा देखिएको छ।

दुवै इन्जिनमा बायाँतर्फ ६ र दायाँतर्फ ६ गरी रहने १२ ब्लेड नै प्रोपेलर फेदर भएको उल्लेख छ। जहाज उडाउँदा पाइलटले बल दिई अघि बढ्न प्रोपेलरको ब्लेड लिभरको सहायताले आवश्यकताअनुसार छड्के बनाउँछन्। तर उक्त विमानको फेदर हुनुलाई एरोडाइनामिक मुभमेन्ट नहुनु वा इन्जिनले पावर दिए पनि जहाज अघि बढ्ने वा तलमाथि नहुने अवस्था हो। यस्तो अवस्था बिरलै हुने भएकोले थप अनुसन्धानको विषय बनेको जाँच आयोगका एक सदस्यले बताए।

आयोगबाट अन्तिम प्रतिवेदन पेस गर्न समय लाग्ने भएकोले हालसम्म प्राप्त सूचना र तथ्यांकको विश्लेषण एवं अनुसन्धान आधारमा हवाई उडानमा थप सुरक्षा अभिवृद्धि गर्न र आयोगबाट सम्बन्धित निकायलाई तत्काल अपनाउनुपर्ने सुरक्षात्मक उपाय सम्मिलित अन्तिम सुरक्षा सिफारिसहरूसहितको प्रारम्भिक पेस गर्ने तयारी भइरहेको दुर्घटना जाँच आयोगका सदस्यसचिव बुद्धिसागर लामिछानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

विमानको डाटा रेकर्डर र भ्वाइस डाटा रेकर्डरको डाटाको विश्लेषण गर्न आयोगको नेतृत्वमा टीएसआईबी सिंगापुर, बीईए फ्रान्स, टीएसबी क्यानडा, पी एण्ड डब्लु क्यानडा र ईएएसएका प्रतिनिधि समेतको सहभागितामा प्राविधिक एवं मानवीय पक्षको विश्लेषण भएको हो। साथै सिंगापुरस्थित एटीआर जहाजको सिमुलेटरमा विभिन्न फ्लाइट र प्राविधिक पक्षहरूको थप अनुसन्धान भएको छ। टोली हालैमात्र नेपाल फर्केको छ।

काठमाडौँदेखि पोखराका लागि उडेको यती एयर दुर्घटनामा चालक दलका ४ सहित यात्रु गरी ७२ जनाको ज्यान गएको थियो। सरकारले नेपाल सरकारका पूर्व सचिव नगेन्द्रप्रसाद घिमिरेको संयोजकत्वमा ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको हो।

आयोग सदस्यमा हवाई विज्ञ उपरथी डा इन्जिनियर दीपकप्रसाद बास्तोला, अवकाशप्राप्त सिनियर क्याप्टेन सुनिल प्रधान, हवाई मर्मतविज्ञ सिनियर इन्जिनियर एकराज जंग थापा, सदस्यसचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन्।

आयोगलाई अध्ययनका ४५ दिनको समय दिइएको छ। आयोगको टोली यसअघि पोखरा आएर दुर्घटनास्थलको अध्ययन गर्नुका साथै सरोकारवालासँग छलफलसमेत गरिसकेको थियो।

प्रकाशित: २४ माघ २०७९ ९:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − eight =