सांसदले बोल्ने समय नै नपाई सकियो प्रदेश १ सभा बैठक

शून्य समयमा बोल्न नदिएकोमा कांग्रेस सदस्यको आपत्ति

हिमाल प्रेस २३ माघ २०७९ २१:०३
6
SHARES
सांसदले बोल्ने समय नै नपाई सकियो प्रदेश १ सभा बैठक फाइल तस्बिर-हिमाल प्रेस

इटहरी– प्रदेश १ प्रदेशसभाको सोमबार बसेको बैठक ८ मिनेटमा सकिएको छ। बैठकमा यसअघि प्रदेशसभामा प्रस्तुत प्रदेश निजामती सेवा अध्यादेश र केही प्रदेश ऐन संशोधन अध्यादेश प्रदेशसभाले स्वीकृत गरेको छ।

प्रदेशसभा नियमावली पहिलो संशोधन २०७४ को नियम १३ बमोजिम सभामुखको अध्यक्षतामा कार्य व्यवस्था परामर्श समिति गठन भएको छ। जसमा आन्तरिक मामिला तथा कानुनमन्त्री तथा उपसभामुख पदेन सदस्य रहनेछन्।

मनोनित सदस्यहरूमा अम्बरबहादुर विष्ट, नारायणबहादुर मगर, विद्या चाम्लिङ राई, भीम पराजुली, भूपेन्द्र राई, रेवतीरमण भण्डारी, सिर्जना राई र ज्ञानेन्द्र सुवेदी रहेका छन्।

बैठकले प्रदेशसभा सञ्चालन तथा व्यवस्थापनका लागि नयाँ नियमावली मस्यौदा निर्माण गर्न समिति पनि गठन गरेको छ। समितिमा कमलप्रसाद जबेगु, केदार कार्की, गीता तिम्सिना, गोम्बु शेर्पा, तिलचन पाठक, निमसरी राजवंशी, मोहन महर्जन, यशोदा कायस्थ, रामवेद यादव, लिलावल्लभ अधिकारी र शोभा चेम्जोङ रहेका छन्।

यसैबीच प्रदेशसभा बैठकमा सांसदले शून्य समयमा बोल्न पाएनन्। मंसिर ४ गतेको निर्वाचनपछि गठन भएको प्रदेशसभाको पहिलो बैठक पुस १७ गते बसेको थियो।

पहिलो बैठकमा पनि सांसदहरूले शून्य समयमा बोल्न पाएका थिएनन्। बैठकमा नेपाली कांग्रेसबाट निर्वाचित तथा पूर्वमन्त्री केदार कार्कीले शून्य समयमा बोल्न नदिनु ‘सेटिङ’ भएको आरोप लगाएका छन्।

उनले प्रदेशसभामा नयाँ सांसद निर्वाचित भएको ३ महिना पुग्न लाग्दा पनि निर्वाचनको क्रममा जनतासँग गरेको वाचाअनुसार जनसरोकारका विषय संसदमा सांसदहरूले उठाउन नपाएको बताए।

प्रदेशसभा बैठक चलिरहँदा कार्कीले टेबल ठटाएका थिए। सो बेला सभामुख बाबुराम गौतमले मन्त्रिपरिषद्को कार्यविभाजन र जिम्मेवारीसम्बन्धी पत्र पढेर सुनाउँदै थिए। कार्कीले टेबल ठटाएर समय मागे पनि सभामुख गौतम अनभिज्ञ बने।

मंगलबारको बैठकमा पनि सांसदहरूले शून्य समय पाउने सम्भावना देखिँदैन। मंगलबारको बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले सम्बोधन गर्ने कार्यसूची छ।

प्रकाशित: २३ माघ २०७९ २१:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =