कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

हिमाल प्रेस २२ भदौ २०८० १९:१५
14
SHARES
कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

काठमाडौँ– कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन्। शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। लगत्तै कार्कीलाई प्रदेश प्रमुख खापुङले पद तथा गोपनीयताको शपथ पनि दिलाएका छन्।

सर्वोच्च अदालतले बिहीबार कोशी सरकारका मुख्यमन्त्री उद्धव थापाले भदौ ४ मा लिएको विश्वासको मत बदर गर्दै उनको नियुक्ति पनि बदर गरेको थियो। अदालतले संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दलको सरकार ४८ घन्टाभित्र बनाउन परमादेश दिएको थियो।

कार्की दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका हुन्। २०७९ पुस २४ मा पहिलोपटक मुख्यमन्त्री नियुक्त कार्की विश्वासको मत पाउन विफल बनेपछि असार १५ मा पदमुक्त बनेका थिए। सर्वोच्च अदालतले उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक ठहर गरेपछि कार्कीले पुनः मुख्यमन्त्री बन्ने अवसर पाएका हुन्।

मुख्यमन्त्री कार्कीले तीन जना मन्त्री र एकजना राज्यमन्त्री नियुक्त गरेका छन्।

तिलकुमार मेन्याङ्वो ऊर्जा, पाँचकर्ण राई वन तथा वातावरण र एकराज कार्की भौतिक पूर्वाधार मन्त्री नियुक्त भएका छन्। यसैगरी सृजना राई सामाजिक विकास राज्यमन्त्री नियुक्त भएकी छन्। उनीहरूले पनि शपथ लिएका छन्। अब कार्कीलाई ३५ दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने चुनौती छ। जुन अहिलेकै राजनीतिक समीकरण कायम रहे असम्भव जस्तै छ।

प्रकाशित: २२ भदौ २०८० १९:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 10 =