कोशी सरकार गठन प्रकृयाविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

हिमाल प्रेस २४ असार २०८० ६:५३
16
SHARES
कोशी सरकार गठन प्रकृयाविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौँ– कोशी प्रदेशमा मुख्यमन्त्री बन्ने प्रकृया असंवैधानिक भएको भन्दै नेकपा एमालेले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ।

कोशी प्रदेश कांग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री बन्ने प्रकृयामा त्रुटि रहेको भन्दै एमालेबाट निवर्तमान मुख्यमन्त्री रहेका हिक्मत कार्कीले शुक्रबार वारेसमार्फत रिट दर्ता गराएका थिए।

कार्कीले नवनिर्वाचित मुख्यमन्त्री समेतलाई विपक्षी बनाई शुक्रबार सर्वोच्चमा रिट दर्ता गराएका हुन्। कार्कीको रिटमा प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री उद्धव थापा र सभामुख बाबुराम गौतमलाई विपक्षी बनाइएको छ।

कार्कीले आफ्नो रिटमा संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन गर्दा सभामुखलाई समेत समावेश गरिनु संविधानविपरीत दाबी गरेका छन्। निवर्तमान मुख्यमन्त्री कार्कीका तर्फबाट वारेस पवनकुमार निरौलाले शुक्रबार रिट दर्ता गराएका थिए।

संविधानको धारा १६८ को उपधारा २ मा प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नसक्ने व्यवस्था छ।

बहुमत नपुग्ने भएपछि थापालाई सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर गराएर प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए।

कार्कीले असंवैधानिक रूपमा नियुक्त भएका मुख्यमन्त्रीको नियुक्ति बदर गरी धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभामा सबैभन्दा ठुलो दलको संसदीय दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्तिको लागि परमादेश माग गरेका छन्।

थापा चार दलको समर्थनमा बिहीबार साँझ मुख्यमन्त्री नियुक्त भएका हुन्।

प्रकाशित: २४ असार २०८० ६:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 3 =