सरकार छाड्ने ‘मुड’मा रास्वपा, अलमल भने कायमै

हिमाल प्रेस २२ माघ २०७९ ८:३६
8
SHARES
सरकार छाड्ने ‘मुड’मा रास्वपा, अलमल भने कायमै फाइल तस्बिर।

काठमाडौँ- सरकारबाट बाहिरिने वा बस्ने भन्ने विषयमा निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निर्णायक बैठक आज (आइतबार) बस्दैछ।

नेकपा (माओवादी केन्द्र)ले रास्वपाका सभापति रवि लामिछानेलाई गृह मन्त्रालयसहित सरकारमा ल्याउन नसकिने निर्णय गरेपछि शनिबार नै रास्वपाको आकस्मिक बैठक बसेको थियो। तर, उक्त बैठकले कुनै निर्णय भने गर्न सकेन।

छलफल अझै बाँकी रहेकाले आज निर्णायक बैठक हुने रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए। उनका अनुसार बैठक बिहान साढे ११ बजे बस्ने भएको छ।

यसअघि पनि रास्वपाले अन्तिम निर्णय लिने भन्दै बिहीबार साँझ केन्द्रीय पदाधिकारी, सांसद र मन्त्रीहरूलाई अनिवार्य रूपमा उपस्थित हुन भनेको थियो। उक्त बैठकले खोसिएको गृहमन्त्रालयको विषयमा सरकारले केही जानकारी नदिएको भन्दै अझै दुई दिन कुर्ने निर्णय गरेको थियो।

सरकारलाई दिएको समर्थन फिर्ता गर्ने या नगर्ने निर्णय गर्न चेतावनीसहित दुई दिनको अल्टिमेटम दिएको थियो। तर, रास्वपाको अल्टिमेटमलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गम्भीर रूपमा लिएनन्।

प्रचण्डले रास्वपाले दिएको समय घर्काइदिएपछि पार्टीमा नैतिक संकट परेको रास्वपाका एक नेताले बताए। ‘हामी सरकारबाट बाहिरिने मुडमा छौँ, यद्यपि निर्णय आजको बैठकले गर्नेछ,’ उनले भने, ‘यस्तो अवस्थामा सरकारमा कसरी बस्ने र छाड्नु परे पनि के भनेर छाड्ने भन्ने अलमल भने छ।’

यता प्रमुख सचेतक परियारले भने आफूहरूले अल्टिमेटम दिएको नभई गठबन्धनका शीर्ष नेताहरूले मागेको समय भएको दाबी गरेका छन्। ‘नेताहरूबीच संवाद भइरहेको छ, राजनीतिमा संवाद जरुरी हुन्छ,’ उनले भने, ‘सरकारका विषयमा फराकिलो बहस र छलफल गर्नुपर्छ भनेर आइतबार (आज) पुन: बैठक बस्दैछौँ।’

पुस १० गते सत्ता गठबन्धन निर्माण हुँदा भएको सहमतिअनुसार गृह मन्त्रालयको जिम्मेवारी रास्वपालाई दिइएको थियो। नागरिकता विवाद प्रकरणमा लामिछानेको पद गुमेपछि मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्ड आफैँले राखेका छन्।

प्रकाशित: २२ माघ २०७९ ८:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + four =