प्रहरीको बढुवा अटोमेसनमा हुने गरी कानुनी व्यवस्थाको प्रस्ताव ल्याउन गृहमन्त्रीको निर्देशन

हिमाल प्रेस २२ चैत २०८० २०:२५
2.2k
SHARES
प्रहरीको बढुवा अटोमेसनमा हुने गरी कानुनी व्यवस्थाको प्रस्ताव ल्याउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रहरीको बढुवा योग्यतामा आधारित स्वचालित प्रणाली (अटोमेसन)मा हुने गरी कानूनी व्यवस्थाको प्रस्ताव ल्याउन निर्देशन दिएका छन्।

गृह मन्त्रालयमा आज (बिहीबार) सशस्त्र प्रहरी (चौथो संशोधन) नियमावली-२०८० र प्रहरी कर्मचारीको समायोजन प्रक्रिया र वर्तमान अवस्थाबारे भएको छलफलमा गृहमन्त्री लामिछानेले यस्तो निर्देशन दिएका हुन्।

दुवै प्रहरी संगठनको नियमावलीमै बढुवाका लागि योग्यतामा आधारित स्वचालित प्रणालीको स्पष्ट व्यवस्था हुनुपर्ने उनको भनाइ थियो।

‘हामी कसैलाई अन्याय गर्न हस्ताक्षर गर्दा रहेछौं भन्ने बढुवा नै पिच्छेका प्रतिक्रियाले प्रष्ट भएको छ। जतिसक्दो छिटो अटोमेसनमा जान सक्छौँ,’ उनले भने, ‘त्यति छिटो आफूलाई अन्याय भयो भन्ने संगठनका सदस्यको गुनासो अन्त्य हुन्छ र प्रहरीप्रतिको विश्वसनीयता पनि बढ्छ।’

अनुहार हेरेर बढुवा गर्ने विद्यमान अभ्यासको अन्त्य अनिवार्य रहेको उनले बताए। ‘कसरी जनस्तरमा विश्वासिलो भइन्छ र कसरी संगठनका हरेक सदस्यलाई न्याय हुन्छ त्यसबारे अध्ययन गरेर प्रस्ताव ल्याउनुस्, तत्कालै अगाडि बढाउँछु,’ उनले भने।

छलफलमा सचिवसहित गृहमन्त्रालयका उच्च अधिकारी तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकसहित उच्च अधिकृत सहभागी थिए।

प्रकाशित: २२ चैत २०८० २०:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − nineteen =