जनताको भरोसाको केन्द्र नै नेपाली सेना : रक्षामन्त्री उप्रेती

हिमाल प्रेस २० माघ २०७९ १८:१४
8
SHARES
जनताको भरोसाको केन्द्र नै नेपाली सेना : रक्षामन्त्री उप्रेती

काठमाडौँ– रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाली जनता र नेपाल सरकारको भरोसाको केन्द्र नै नेपाली सेना रहेको बताएका छन्। उनले रक्षामन्त्री भएयता नेपाली सेनाको मुख्यालय जंगी अड्डाको भ्रमण गर्दै त्यस्तो बताएका हुन्।

उनी पुस ३ मा रक्षामन्त्री भएका थिए। नेपाल एकीकरण अभियानको प्रारम्भदेखि नै नेपालको एकता, अखण्डता, संस्कृति, परम्परा जोगाई राख्‍न नेपाली सेनाले निर्वाह गर्दै आइरहेको भूमिकाको प्रशंसा गर्दै सेना नेपाली नागरिकको भरोसाको केन्द्र नै रहेको बताउदै भने, ‘संवैधानिक दायित्व र समयक्रममा सरकारले सुम्पदै आएका थप दायित्वहरू निर्वाहमा सेना अब्बल रहँदै आएको छ।’

नेपाली सेनाले मुलुकभित्र मात्र नभएर अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा पुर्‍याएको योगदान उत्तिकै महत्त्वपूर्ण छ। विश्व शान्तिको लागि फौज उपलब्ध गराउने मुलुकहरूमध्ये नेपाल दोश्रोमा छ भने विश्‍व शान्तिका लागि जोखिम बहन गर्ने एवम् साहस प्रदर्शन गर्ने फौजमा नेपाली सेना सधै अग्रपंक्तिमा रहेको उनले बताए।

रक्षामन्त्रीले हरेक विपद्को घडीमा नेपाली जनताको साथमा रहँदै आएको नेपाली सेनाले दुर्गम क्षेत्रमा, राज्यका सबै विकट स्थानहरूसम्म पुगेर सडक पूर्वाधार तयार गरी योगदान दिँएको आफूले पढ्दा हर्षित हुनेगरेको पनि सुनाए।

बहुचर्चित राष्ट्रिय गौरवको काठमाडौँ तराई/मधेश द्रुतमार्ग आयोजनाको भ्रमण गर्ने क्रममा भैरहेको प्रगति देख्दा आफु सन्तुष्ट रहेको पनि बताए। उक्त आयोजना पुरा गर्ने क्रममा देखा परेका चुनौतीहरूलाई सम्बोधन गर्दै गुणस्तरीय ढंगले, छिटो कार्यसम्पन्‍न गर्न आफ्नो तर्फबाट सबै किसिमको सहयोग रहने पनि उनले बताए।

उनले नेपाली सेनाको समग्र क्षमता अभिवृद्धि तथा संगठनात्मक सुदृढीकरणमा रक्षा मन्त्रालयले सदैव सकारात्मक भूमिका रहने पनि बताए। रक्षामन्त्रीमा नियुक्त भएपछि पहिलो पटक उनले जंगी अड्‍डा पुगेर नेपाली सेनाबारे औपचारिक जानकारी लिने क्रमममा यस्ता धारणा व्यक्त गरेका हुन्।

जंगी अड्‌डामा आयोजित कार्यक्रममा उप्रेतीसमक्ष नेपाली सेनाको संगठनात्मक स्वरुप, तैनाथी, स्वदेश र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली सेनाका गतिविधिबारे जानकारी गराइएको थियो। कार्यक्रममा प्रधान सेनापति प्रभुराम शर्माले रक्षामन्त्रीलाई बधाई दिँदै स्वागत गरेका थिए। प्रधानसेनापति शर्माले नेपाली सेना सम्पूर्ण नेपालीहरूका छोराछोरीहरू सम्मिलित राष्ट्रकै उत्कृष्ट संस्था भएको उल्लेख गरे।

उनले बदलिँदो अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय परिवेशहरूबाट सिर्जित चुनौतीहरू सम्बोधन, समाधान र न्यूनीकरण गर्न नेपाली सेनाको क्षमता बढाउनु आवश्यक रहेको जानकारी पनि रक्षा मन्त्रीसामु सुनाए।

प्रधान सेनापति शर्माले सरकारले नेपाली सेनालाई सुम्पिएका जिम्मेवारी र दायित्व निर्वाह गर्दा कानुनी प्रावधान पूरा गर्दै अगाडि बढ्नुपर्ने मान्यतामा आफूहरू अडिग रहेको पनि प्रष्ट्याए। रक्षा सचिव किरणराज शर्माले विपद् व्यवस्थापन लगायत नेपाली सेनाको समग्र क्षमता विकास गरेर आत्मनिर्भर बनाउदै लैजान सरकारको विशेष जोड हुनुपर्ने बताए।

                                                                                                                                                                                                                                                                                                                                                तस्बिरहरू- नेपाली सेना

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =