स्वास्थ्यमन्त्री गिरी स्वास्थ्य सेवा विभाग पुग्दा जे देखियो

सुस्मिता बजगाईं १९ माघ २०७९ १८:५०
102
SHARES
स्वास्थ्यमन्त्री गिरी स्वास्थ्य सेवा विभाग पुग्दा जे देखियो स्वास्थ्य सेवा विभागको अनुगमनका क्रममा बिहीबार डिजिटल प्रणालीबाट रगत जाँच गराउँदै स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी। तस्बिर : हिमाल प्रेस

काठमाडौँ- बिहीबार बिहान ११ः३० बजे काठमाडौँको टेकुस्थित स्वास्थ्य सेवा विभाग परिसरमा कमै चहलपहल थियो। केही कर्मचारी ओहोरदोहोर गरिरहेका थिए। कोही कार्यालयमा व्यस्त देखिन्थे। केहीे घाम ताप्दै थिए।

केहीबेरमा नजिकैको तालिम केन्द्रतिर एक हुल देखियो। अघिअघि केही फोटो पत्रकार क्यामेरा बोकेर दौडिरहेका थिए। पछिपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी थिए। विभागको वातावरण एक्कासि परिवर्तन भयो। कर्मचारी आआफ्ना कुर्सीमा देखिए। हाकिमहरू मन्त्रीको अघिपछि लागेर आफ्ना कुरा सुनाउन थाले।

महाशाखाका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले महाशाखाले दिने सेवा, विभागको स्टोरमा भण्डारण गरिएको औषधि, कोभिडको भ्याक्सिनलगायतबारे मन्त्री गिरीलाई जानकारी दिएका थिए।

कोभिडको भ्याक्सिन स्टक देखेपछि मन्त्री गिरीले सोधे, किन यत्रो स्टक? मन्त्रालयका एक कर्मचारीले माग नभएको र मानिसमा भ्याक्सिन लगाउने चाहना नदेखिएकाले स्टक रहेको बताएका थिए। ती कर्मचारीले भने, ‘भ्याक्सिनले कोरोना निको हुन्छ भनेर मान्छेले पत्याउनै छाडे।’

मन्त्री गिरीले मौसम परिवर्तन र खुला सिमानाका कारण नेपालमा जुनसुकै बेला कोरोना भाइरसका बिरामी बढ्न सक्ने भएकाले सबै नेपाली नागरिकलाई बुस्टर डोजको लगाउने व्यवस्था गर्न निर्देशन दिएका थिए।

विभागमा डिजिटल माध्यमबाट सुगर, प्रेसर परीक्षण रिपोर्ट मोबाइलमार्फत टिकटमा रहेको स्क्यानरबाट हेर्न मिल्ने व्यवस्था छ। मन्त्री गिरीले पनि टिकट लिएर डिजिटल प्रणालीबाट रगत जाँच गराए।
सो क्रममा बिरामीले रिपोर्टकै लागि अस्पताल धाउन नपरोस् भनेर यस्तोे व्यवस्था गरिएको महानिर्देशक सिंहले बताएका थिए।

अनुमगनपछि परिचयात्मक कार्यक्रममा सम्बोधन गर्दै मन्त्री गिरीले उपचारमा स्वास्थ्य उपकरण र शय्या अभावले अस्पताल भौँतारिँदै मृत्यु हुने गरेको घटना स्मरण गर्दै मन्त्रालय र मातहतका कर्मचारीहरुलाई आफ्नो जिम्मेवारी र निपुणताका साथ पूरा गर्न आग्रह गरेका थिए।

उनले भने, ‘साथीहरूले जुनजुन महाशाखाको जिम्मेवारी लिनुभएको छ। आफ्नो शाखा, महाशाखाभित्रका परिभाषित जिम्मेवारीहरू निपुणताका साथ पूरा गर्ने अठोट र इच्छाशक्ति तपाईँहरूमा हुनुपर्दछ।’

मन्त्री गिरीले खरिद प्रक्रियामा पूर्ण शुद्धता कायम गर्न मातहतका सबै निकाय लाग्नुपर्ने बताएका थिए। उनले भने, ‘खरिद प्रक्रियामा शतप्रतिशत पारदर्शिता कायम गर्ने गरी काम गर्नुहोला। भोलि काँहीकतै यस्ता गुन्जायस देखिए भने तपाईँहरूलाई कसैले बोक्नेवाला छैन।’

यस्तै उनले अब सबै अस्पताल र स्वास्थ्य संस्थाहरूमा स्वास्थ्य परीक्षण र रिपोर्टका लागि डिजिटल माध्यम प्रयोग गर्न आग्रह गरेका थिए। उनले डिजिटल मेसिन खरिदका लागि आवश्यक बजेटको व्यवस्था गर्ने आश्वासन पनि दिए।

उनले भने, ‘बिरामीले घरबाटै कुन अस्पतालमा कति सघन उपचार कक्ष खाली छ भनेर थाहा पाउनुपर्ने व्यवस्था हुनुपर्छ।’ महाशाखाले विगतका कमीकमजोरी सुधार गर्दै सेवा प्रवाह पारदर्शी र उत्तरदायी बनाउनुपर्नेमा जोड दिए।

मन्त्री गिरीले जनताको गुनासोलाई सम्बोधन हुनेगरी आवश्यक योजना बनाएर काम गरे आफूले त्यसमा आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गरे।

उनले यसो भन्दै गर्दा कर्मचारीबीच खासखुस चलिरहेको थियो। उनीहरू भन्दै थिए, ‘पदमा पुगेपछि यो गर्छु र त्यो गर्छु भनेर सबैले आश्वासन दिन्छन्। यी मन्त्रीले पनि आश्वासन दिए। उनले प्रतिबद्वता कत्तिको पूूरा गर्ने हुन्, हेर्दै जाऔँ।’

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव देवकुमारी गुरागाईँ, रोशन पोखरेल, संगीता कौशल मिश्र लगायत मन्त्रालयका अधिकारीहरूको उपस्थिति थियो।

मन्त्री गिरी पदबहाली गरेको दुई सातापछि अनुगमनका लागि विभाग पुगेका हुन्। यसअघि उनले औषधि विभागको पनि अनुगमन गरिसकेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 13 =