इटहरीमा बसपार्क बनाउन उपमहानगर नगर विकास कोषसँग सम्झौता

हिमाल प्रेस १९ माघ २०७९ १८:२३
इटहरीमा बसपार्क बनाउन उपमहानगर नगर विकास कोषसँग सम्झौता

इटहरी– इटहरीमा अत्याधुनिक सुविधा सम्पन्न ३ तले बसपार्क निर्माण कार्य सुरु हुने भएको छ। इटहरी स्थित पुरानो बसपार्क भएको ठाउँलाई व्यवस्थित गर्न १६ करोड २२ लाख १८ हजार रुपैयाँ लागतमा बसपार्क निर्माण हुने भएको हो।

इटहरी उपमहानगरपालिकाले नगर विकास कोषसँग ऋण लिएर सुरु गर्ने तयारी भइरहेको छ। बिहीबार इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेल र नगर विकास कोष काठमाडौँका कार्यकारी निर्देशक कृष्ण सापकोटाबीच इटहरी बसपार्क निमार्ण गर्ने सम्झौता भएको हो।

कोषको ७० प्रतिशत लगानी रहने बसपार्कमा इटहरी उपमहानगरपालिकाको ३० प्रतिशत लगानी रहने छ। उपमहानगरपालिका इन्जिनियर जीवन घिमिरेका अनुसार एक बिघा क्षेत्रफलमा फैलिने बसपार्कको तल्लोतलामा टिकट काउन्टर, सोधपुछ कक्ष, प्रतीक्षालय, सभाहल, रेष्टुरेण्डसहितको हुनेछ।

१ वर्ष ६ महिनाभित्र सम्पन्न गर्नेगरी निर्माण हुने बताइएको छ। बसपार्कमा ५० वटा बस अट्ने बताइएको छ। ढल व्यवस्थापन र ड्रोनसहितको सुविधा हुने उपमहानगरले जनाएको छ। मेयर हेमकर्ण पौडेलले इटहरी भएर नै पूर्व-पश्चिम र उत्तर-दक्षिण चल्ने सवारी साधन गुड्ने हुनाले अरु सहरभन्दा सवारी साधनको चाप बढी हुने क्षेत्रलाई व्यवस्थित गर्न लागिएको बताए।

बसपार्कमा पार्किङ नभएर चौरास्त चोक जभाभावी हुँदै आएकाले समस्या हुँदै आएको उनको भनाइ छ। ‘अब बसपार्क व्यवस्थित हुँदा बीचमा बुकिङ काउन्टरसँगै व्यवस्थित प्रतीक्षालय रहनेछ भने साइडमा पार्किङ स्थल रहनेछ,’ मेयर पौडेलले भने, ‘बसपार्क व्यवस्थित गरेपछि आम्दानीमुखी बसपार्क हुनेछ।’

प्रकाशित: १९ माघ २०७९ १८:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 4 =