चार वर्षमा ९ हजार यौनहिंसाका घटना, अधिकांश चिनजानकै व्यक्तिबाट पीडित

हिमाल प्रेस १२ माघ २०७९ १०:२०
42
SHARES
चार वर्षमा ९ हजार यौनहिंसाका घटना, अधिकांश चिनजानकै व्यक्तिबाट पीडित केही साताअघि सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको लैंगिक हिंसाविरुद्ध सचेतनामूलक पर्फर्मेन्स आर्ट। फाइल तस्बिर

काठमाडौँ- पछिल्लो समय यौनहिंसा भएका घटना बाहिरिन थालेका छन्। पीडितले न्यायको माग गर्दै उजुरी गर्ने संख्या बढेसँगै घटना पनि बाहिरिन थालेका हुन्।

पछिल्लो चार वर्षमा ९ हजार भन्दा बढी जबरजस्ती करणीका घटना बाहिरिएका छन्। तीमध्ये अधिकांश चिनजानकै व्यक्तिबाट पीडित भएको तथ्यांक छ। आर्थिक वर्ष २०७६/७७ मा २ हजार ४४९ यौनहिंसाका घटना दर्ता भए जसमध्ये २ हजार १४४ मुद्दा दर्ता भए।

२०७७/७८ मा २ हजार ८१५ बलात्कारका घटना दर्ता भएकामध्ये २ हजार ५३१ मुद्दा दर्ता भए। यस्तै २०७८/७९ मा २ हजार ६५४ घटनामध्ये २ हजार ३८० मुद्दा दर्ता भए। आर्थिक वर्ष २०७९/८० को साउनयता १ हजार २ सय यौनहिंसाका घटना प्रहरीमा उजुरी परेका थिए। तीमध्ये एक हजारभन्दा बढी घटनामा मुद्दा दर्ता भएका छन्।

किशोरकिशोरी घरपरिवारदेखि विद्यालयसम्मै पीडित बन्नुपरेको घटना बाहिरिएका हुन्। केही घटनामा भने पीडित नै मुद्दा दर्ता प्रक्रियामा नगएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले पछिल्लो समय आमनागरिकमा सचेतना बढेसँगै यौनहिंसाका घटनाका उजुरी दर्ता पनि बढेको बताए। सचेतना बढेसँगै समान्य विवादमा पनि यौनहिंसाजस्ता झुटा उजुरी र आरोपमात्र लागेका विषयमा भने मुद्दा दर्ता नभएको उनको भनाइ छ।

उनले भने, ‘यौनहिंसाका घटनामा मुद्दा दर्ता प्रक्रिया अघि बढेका छन्। पछिल्लो समय यस्ता घटना अनुसन्धानमा प्रहरीको सक्रियता बढेको छ। घटना बाहिरिने संख्या पनि बढेको छ।’ उनले यस्ता घटना सहरी क्षेत्रमा बढी हुने गरेको र किशोरकिशोरी परिपक्व नभएका कारण ललाइफकाइमा पर्ने हुँदा यस उमेर समूहका घटना बढी हुने गरेको उनको भनाइ छ।

पछिल्ला केही प्रतिनिधिमूलक यौनहिंसाका घटनामा विद्यालय गएका विद्यार्थी शिक्षकबाटै पीडित भएका छन्। जेठमा छात्रामाथि यौन गरेको अभियोगमा चाबहिलस्थित सेन्ट लरेन्स कलेजका दुई शिक्षकविरुद्ध विद्यार्थीले उजुरी गरेका थिए।

घटनामा महानगरीय प्रहरी वृत्त गौशालाले शिक्षकद्वय जनार्दन अधिकारी र राजनकुमार पौडेललाई पक्राउ गरेर मुद्दा चलाएको थियो। अधिकारी र पौडेलविरुद्ध तीन छात्राले गौशाला प्रहरी वृत्तमा किटानी जाहेरी दिएका थिए।

यस्तै बाल यौनदुर्व्यवहार संलग्न भएको आरोपमा जोरपाटीस्थित सर्वनाम शिक्षालयका शिक्षक रामजी बस्नेतलाई प्रहरीले पक्राउ गरेर गत जेठमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ताको प्रक्रिया अघि बढायो।

शिक्षकमाथि विगत सात महिनाअघिदेखि कक्षा ७, ८ र १० मा अध्ययनरत ११, १२ र १४ वर्षीया विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो। विद्यार्थीले उजुरी गरेपछि बस्नेतलाई प्रहरीले २१ जेठमा रामेछापबाट पक्राउ गरेको थियो।

सौन्दर्य प्रतियोगिताका नाममा बलात्कार गरेको आरोपमा मोडल ग्लोबल भिजाज कन्सलट्यान्सीका सञ्चालक मनोज पाण्डेलाई प्रहरीले पक्राउ गरेको थियो। पाण्डेलाई मानव बेचबिखन तथा ओसारपसार कसुर र जबरजस्ती करणी गरेको आरोप छ।

२०७० सालमा एक किशोरीलाई बाल यौनहिंसा तथा विभिन्न स्थानमा लगी शारीरिक शोषण गरेको अभियोगमा पाण्डेविरुद्ध मानव बेचबिखन र बाल यौन दुरुपयोगको मुद्दा दायर भएको थियो। पाण्डे गत जेठदेखि थुनामा छन्। मंगलबार न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेलाई दोषी ठहर गरेको छ।

केही यौन दुर्व्यवहार घटना भने ‘हाइप्रोफाइल स्क्यान्डल’ र केही ‘सेलिब्रेटी’ बाट पीडित भएको भन्दै प्रहरीमा उजुरी परेका छन्।

यस्तै माघ ३ गते दाङकी ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका-२ बस्ने ३७ वर्षीय नमराज पौडेललाई प्रहरीले पक्राउ गरेको छ। लमही नगरपालिका-६ स्थित बेलदमारको जंगलमा घाँस काट्न गएको अवस्थामा ती महिलालाई पौडेलले गत पुस १८ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थाई प्रहरी पोष्ट चौघेराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो।

भक्तपुरमा पुसमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सूर्यविनायक नगरपालिका-४ मोर्डन चोक बस्ने सर्लाही हरिपुर नगरपालिका-६ घर भएका २९ वर्षीय महमद आरिफ शेखलाई प्रहरीले पक्राउ गरेको थियो। ती किशोरीलाई शेखले सूर्यविनायक नगरपालिका-४ मोर्डन चोकमा लगेर रातभर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले शेखलाई पक्राउ गरेको थियो।

बुधबार मात्रै बाँकेमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा नरैनापुर गाउँपालिका-६ सोनबर्षा बस्ने ३५ वर्षीय रामप्रसाद बर्मालाई प्रहरीले पक्राउ गरेको छ। बर्माले ती बालिकालाई सोही ठाउँस्थित बारीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी गंगापुर ’क’ र इलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको छ।

यस्ता प्रतिनिधिमूलक घटनाबाहेक आफ्नै हजुबुबाबाट, झड्केलो बुबाबाट, बुहारी आफ्नै ससुराबाट, आमा आफ्नै सन्तानबाट, मामा, काका, ठूलोबुबा, दाजुभाइ, देवरजेठाजु, श्रीमान् लगायत हाडनाताबाटै यौन दुर्व्यवहार भएका घटना सार्वजनिक भएका छन्। यस्तै छिमेकी, घरबेटी, साथीभाइबाट पनि बलात्कृत भएका घटना बाहिरिएका छन्।

केही यौन दुर्व्यवहार घटना भने ‘हाइप्रोफाइल स्क्यान्डल’ र केही ‘सेलिब्रेटी’ बाट पीडित भएको भन्दै प्रहरीमा उजुरी परेका छन्। क्रिकेटर सन्दीप लामिछानेविरुद्ध गत भदौमा जबरजस्ती करणीको उजुरी परेको थियो।

१८ वर्षभन्दा कम उमेरकी बालिकालाई करणी गरेको अभियोगमा लामिछानेविरुद्ध काठमाडौँ जिल्ला प्रहरी परिसर टेकुमा किटानी जाहेरी परेको थियो। यस्तै नाबालिकामाथि बलात्कार गरेको अभियोगमा अभिनेता पल शाहविरुद्ध उजुरी परेको थियो। शाहले बालिकालाई तनहुँ दुलेगौँडास्थित प्रदीप थापाको घरमा गत १४ वैशाखमा जबर्जस्ती करणी गरेको आरोप लागेको थियो।

यद्यपि उनले तनहुँ अदालतबाट सफाइ पाएका छन्।  जिल्ला अदालत नवलपुरले भने उनलाई बालयौन दुरुपयोगसम्बन्धी अभियोगमा दुई वर्ष ६ महिना कैद र १० लाख क्षतिपूर्तिबापत जरिबाना तोकेको छ।

सरोकारवालाहरूका अनुसार पीडितले न्याय माग्दै प्रहरी प्रशासन र अदालतसम्मको ढोका ढकढकाउनुपरेको अवस्था छ। यस्ता घटना हुन नदिन सामाजिक चेतनाको स्तर वृद्धि गर्न आवश्यक रहेको र दोषीउपर कडा भन्दा कडा कारबाही हुनुपर्ने सरोकारवालाको सुझाव छ।

प्रकाशित: १२ माघ २०७९ १०:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + four =