स्त्री शरीर : युद्धमा सधैँ ‘हतियार’

संगीता श्रेष्ठ २७ साउन २०८० १५:४४
44
SHARES
स्त्री शरीर : युद्धमा सधैँ ‘हतियार’ एक वर्षअघि न्युयोर्कस्थित रुसी वाणिज्य दूतावासअगाडि भेला भएर रुस–युक्रेन युद्धका क्रममा भइरहेको महिला हिंसा अन्त्य गर्न माग गर्दै महिला अधिकारकर्मी। फाइल तस्बिर : एएफपी

दुई देशबीच होस् वा दुई समुदायबीचको द्वन्द्व, त्यसको नकारात्मक परिणाम महिलाले नै भोग्नुपर्छ। रिस साँध्ने माध्यम महिलालाई बनाइन्छ। भूगोल, धर्म, जाति, समुदायको युद्धमा स्त्रीको शरीर ‘हतियार’ बन्छ। अनि बलात्कार र यौनहिंसाको भयावह अवस्थामा तिनै महिला पर्न विवश हुन्छन्।

शक्ति, सत्ता र प्रतिष्ठाका लागि हुने युद्धमा प्रायः प्रत्यक्ष रूपमा जोडिएका हुन्छन् पुरुष। अनि तारो बनाइन्छ महिलालाई। पुरुषसत्तात्मक समाजमा युद्धमा पुरुषत्व देखाउनुपर्ने हुन्छ। युद्धभूमिमा पराक्रम देखाउन दुई पक्षले आआफ्नो तर्फबाट भरपुर प्रयास गर्छन्।

शक्ति र घृणाको लडाइँमा जघन्य हिंसा हुन्छ। जसको मूल्य महिलाले चुकाउनुपर्छ। महिलाविरुद्ध यौनहिंसा गरेर युद्धमा एक पक्षले आफूलाई बलियो र विजेता साबित गर्न चाहन्छ।

युद्ध र हिंसामा स्त्री शरीरलाई निसानामा बनाइएका घटना असंख्य छन्। त्यसको पछिल्लो उदाहरण हो भारतको मणिपुर राज्यमा भएको घटना। मणिपुरमा मे महिनादेखि मैतई र कुकी समुदायबीच जातीय हिंसा सुरु भयो। हिंसा अझै जारी छ। जुलाई १९ मा मणिपुरमा महिलाविरुद्ध भएको यौनहिंसाको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भयो। हिंसा सुरु भएको भोलिपल्टको त्यस घटनामा कुकी समुदायका दुई महिलालाई निर्वस्त्र बनाई लखेटिएको छ।

मणिपुरको कांगपोकपी जिल्लाको बी फैनोम गाउँमा यौन दुर्व्यवहारको त्यो घटना भएको थियो। घटनासँग सम्बन्धित उजुरीमा एक युवतीसँग सामूहिक बलात्कारसमेत भएको बताइएको छ। भिडियोमा मैतई समुदायका सयौँ पुरुषले ती महिलालाई खेदिरहेका छन्। केही पुरुषले नग्न महिलालाई छोएको पनि देख्न सकिन्छ। भिडियोले युद्धको त्यो भयावह रूप देखाएको छ, जसमा महिलालाई हतियारका रूपमा प्रयोग गरिन्छ भन्ने स्पष्ट हुन्छ।

जातीय हिंसामा महिलाविरुद्ध भएको यो एउटामात्र घटना होइन। यौनहिंसाको भिडियो बाहिरिएपछि मणिपुरका मुख्यमन्त्री बीरेन सिंहले महिलाविरुद्ध यस्ता थुप्रै घटना भएको जानकारी दिए। ‘यस्ता सयौँ घटना भएका छन्,’ भारतीय सञ्चारमाध्यमसँग उनले भनेका छन्, ‘त्यसैले हामीले इन्टरनेट बन्द गर्‍यौँ।’

०००

युद्धमा बलात्कार र यौनहिंसा गरेर महिलालाई प्रताडित गरिएको यो पहिलो घटना भने होइन। इतिहासमा भएका हरेक युद्धमा महिला यसै गरी यौन दुर्व्यवहारमा परेका छन्।
फ्रान्सका फ्रेबिस भर्जिलको एउटा लेख ‘सेक्सुअल भ्वाइलेन्स इन टाइम्स अफ वार’ले युद्धमा महिलाविरुद्ध भएका यौनहिंसाबारे जानकारी दिन्छ।

लेखक, इतिहासकार र शोधकर्ता भर्जिल लामो समयदेखि लैंगिक हिंसाबारे अनुसन्धान गर्दै आएका छन्। यौनहिंसामा आधारित उनका अध्ययन मार्मिक मानिन्छन्। संसारभर भएका हरेक युद्धमा महिलाविरुद्ध यौन दुर्व्यवहारका घटना भएको उनको निष्कर्ष छ।

संयुक्त राष्ट्रसंघीय शान्ति सेनाका पूर्वकमान्डर मेजर जनरल प्याट्रिक क्यामर्टले युद्धमा हुने शारीरिक शोषणलाई ‘चिप’ हतियार भनेका छन्। ‘चिप’ अर्थात् तुच्छ। ‘सशस्त्र द्वन्द्वमा महिला हुनु सिपाही हुनुभन्दा खतरनाक हुन्छ। युद्धमा हुने यौनहिंसाले महिलालाई त्रसित बनाउँछ। उनीहरूलाई सामाजिक जीवनबाट वञ्चित गर्छ।’

इतिहासदेखि वर्तमानसम्म युद्धमा भएका महिलाविरुद्ध हिंसाका घटनाले उनको त्यस भनाइलाई सत्य साबित गरिरहेका छन्। जर्मनी, अमेरिका, जापानलगायत विश्वभरिका सेनाले युद्धका क्रममा यौनहिंसालाई हतियारका रूपमा प्रयोग गरेका छन्।

राष्ट्रसंघको तथ्यांकअनुसार बंगलादेश मुक्ति आन्दोलनमा दुईदेखि चार लाखसम्म महिलाको शारीरिक शोषण भएको थियो। सन् १९९० मा भएको बोस्नियाली युद्धमा पनि बलात्कारलाई हतियारका रूपमा प्रयोग गरिएको थियो।

त्यस सशस्त्र द्वन्द्वमा हिंसा नीतिअन्तर्गत महिलाविरुद्ध यौनहिंसाका घटना भएका थिए। एउटा समुदाय सखाप पार्ने उद्देश्यले बलात्कारलाई आतंक र मुख्य रणनीतिको रूपमा प्रयोग गरियो। युद्धमा १० हजारदेखि ५० हजार महिला बलात्कृत भएको राष्ट्रसंघको अनुमान छ।

रुवान्डामा नरसंहारका क्रममा तुत्सी महिलामाथि नियोजित ढंगले बलात्कारका घटना भएका थिए। सन् १९९४ मा रुवान्डामा तीन महिनासम्म चलेको नरसंहारमा २ लाख ५० हजार महिलामाथि यौनहिंसा भएको थियो। तुत्सीहरूको विनाश गर्न हुतु समुदायका राजनीतिक र सैन्य नेताहरूद्वारा मिलिसियालाई यौनहिंसाका लागि निर्देशित गरिएको थियो।

राष्ट्रसंघको एक रिपोर्टमा सन् १९९१-२००२ भएको सिएरा लिओन गृहयुद्धमा ६० हजारभन्दा बढी, सन् १९८९-२००३ लाइबेरियामा ४० हजारभन्दा बढी, सन् १९९२-१९९५ पूर्व युगोस्लाभियामा ६० हजारभन्दा बढी र सन् १९९८मा प्रजातान्त्रिक गणतन्त्र कंगोमा दुई लाखभन्दा बढी महिलाको बलात्कार युद्धका क्रमा भएको थियो।

एक वर्षयता चलिरहेको रुस-युक्रेन युद्धमा पनि महिलाहरू यौनहिंसाका सिकार भएका छन्। बेलायती पत्रिका ‘द गार्जियन’मा प्रकाशित समाचारअनुसार युक्रेनको राजधानी किएभमा रुसी सेनाद्वारा हत्या गरिएका युक्रेनीहरूको पोस्टमार्टम गर्ने चिकित्सकीय टोलीले हत्याअघि महिलामाथि शारीरिक शोषण भएको खुलाएका थिए।

भारत-पाकिस्तान विभाजनका बेला ७५ हजारभन्दा बढी महिलाको यौनशोषण भएको तथ्यांक छ। दुई नयाँ राष्ट्रको निर्माणका बेला पनि स्त्री शरीर पुरुषको ‘टार्गेट’ बन्यो। त्यस्तै कश्मीरमा सेनाद्वारा छानबिनका नाममा महिलाहरूमाथि दुर्व्यवहार गरिएका घटना कति छन् कति। सन् २००२ को गुजरात दंगामा पनि यौनहिंसाका थुप्रै घटना भए।
संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको एक प्रतिवेदनअनुसार २०५२ देखि २०६३ सम्म भएको नेपालको सशस्त्र द्वन्द्वका बेला महिलामाथि अनेकौँ यातना, बलात्कार र यौनजन्य हिंसाका घटना भए।

अन्तर्राष्ट्रिय मानवअधिकार कानुन तथा अन्तर्राष्ट्रिय मानवीय कानुनले गरेको विश्लेषणमा यौनहिंसाका बहुसंख्यक घटना सुरक्षाफौजले गरेको देखाएको छ। प्रतिवेदनअनुसार सूचीकृत एक सयभन्दा बढी घटनामध्ये १२ वटा घटनामा पीडकहरू माओवादी भएको भनिएको छ। सुरक्षाफौजद्वारा गरिएको भनिएका घटनामध्ये नेपाल प्रहरी र सेनाको संख्या लगभग बराबर छ।

प्रतिवेदनमा उपलब्ध तथ्यांकअनुसार १८ वर्षमुनिका बालिका द्वन्द्व अवधिभर जोखिममा रहे। यौनहिंसाका पीडितमध्ये एकतिहाईभन्दा बढी बालिका थिए र तीमध्ये पनि धेरैजसो १५ वर्षमुनिका। दस वर्षभन्दा कम उमेरका पीडित भएका घटना पनि छन्। सुरक्षाफौजका कर्मचारीद्वारा प्रायः खानतलासका क्रममा गरिएको भनिएको यौनहिंसाका घटनाले थुप्रै पीडितलाई असर पुर्‍यायो। गर्भवती तथा मनोरोगी महिलामाथि यौन दुर्व्यवहार गरिएको घटना पनि रहेको प्रतिवेदनमा लेखिएको छ।

सन् २०१० को अप्रिलमा काबुलमा अमेरिकी सैनिक नजिकबाट हिँडिरहेका अफगान महिला र बालिका। सन् २०११ मा थोम्सन रोयटर्स फाउन्डेसनले गरेको एक अध्ययनमा अफगानिस्तान महिलाका लागि खतरनाक देशको सूचीमा पहिलो नम्बरमा थियो।  फाइल तस्बिर : रोयटर्स

‘आवर बडिज, देअर ब्याटलफिल्ड : ह्वाट वार डज टू वुमेन’ किताबमा लेखक क्रिस्टिना ल्याम्बले युद्धमा महिलाविरुद्ध भएका हिंसाका घटनालाई समेटेकी छन्। ‘सन् १९१९ मा बलात्कारलाई एक अन्तर्राष्ट्रिय युद्ध अपराध घोषित गरिएको थियो,’ किताबमा उनले लेखेकी छन्, ‘तैपनि अन्तर्राष्ट्रिय अपराध न्यायालयले कसैमाथि मुद्दा नचलाउनु दुःखद हो। यसबाट स्पष्ट हुन्छ, कसरी महिलामाथि जानाजान युद्ध रणनीतिअन्तर्गत यौनहिंसा हुने गर्छ।’

सन् १९९३ मा संयुक्त राष्ट्रसंघीय मानवअधिकार आयोगले ‘सिस्टमेटिक रेप’ र ‘आर्म्ड सेक्सुअल स्लेभरी’लाई मानवताविरुद्ध अपराधको श्रेणीमा राखेको छ। महिलाको मानवअधिकार उल्लंघनका रूपमा दण्डनीय घोषित गरेको छ।

सन् १९९५ मा चौथो विश्व महिला सम्मेलनमा राष्ट्रसंघले ‘युद्धका क्रममा सशस्त्र समूहद्वारा गरिएको बलात्कार युद्ध अपराध हो’ भनेर घोषणा गरेको छ।

मानवअधिकार क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘ह्युमन राइट वाच’ को एक रिपोर्टअनुसार अन्तर्राष्ट्रिय कानुनले मानवअधिकार उल्लघंनका घटनामा रोक लगाएको छ। साथै दण्डको प्रावधान पनि राखेको छ। अन्तर्राष्ट्रिय मानवअधिकार कानुनअन्तर्गत बलात्कार स्पष्ट रूपले प्रतिबन्धित छ।

भारतको दिल्लीस्थित ‘अब्जर्भर रिसर्च फाउन्डेसन (ओआरएफ)’को रिपोर्टअनुसार युद्धमा हुने लैंगिक हिंसाका विषयमा अहिले पनि सबैको ध्यान गएको छैन। युद्ध र हिंसा भएको ठाउँलाई युद्धको कारकका रूपमा मानिन्छ। त्यहाँ भएका यौनहिंसाका घटनाका अपराधीलाई सायदै दण्डित गरिन्छ। त्यसैले अहिले पनि दुई देश, समुदायबीच हिंसा हुँदा नारीको शरीरलाई निशाना बनाइन्छ।

सन् २०१३ मा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का बैठकमा बेलायतका विदेश सचिव विलियम हेगले भनेका थिए, ‘बलात्कार युद्धको एउटा हतियार हो भन्ने कुरा अन्तर्राष्ट्रिय समुदायले बुझ्नु आवश्यक छ। जसको प्रयोग जीवनलाई नष्ट गर्न, एउटा समुदायलाई सखाप पार्न र सैन्य उद्देश्यलाई प्राप्त गर्न त्यसैगरी गरिन्छ, जसरी गोली र ट्यांकर प्रयोग गरिन्छ।’

सन् २००९ मा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा एमनेस्टी इन्टरनेसनलले बलात्कारलाई गोलीभन्दा पनि सस्तो घोषित गरेको थियो। बेलायती कूटनीतिज्ञ मार्क ब्राउनले यौनशोषण पारम्परिक तोपखानाजस्तै प्रभावी भएको बताएका थिए। ‘यस हतियारलाई प्राप्त गर्न सजिलो छ,’ उनले भनेका थिए, ‘मिसाइल, बारुदजसरी किन्नु पर्दैन। युद्धमा यो सबैभन्दा सस्तो हतियार हो। युद्धमा महिलाको शरीरलाई वस्तुका रूपमा हेरिन्छ। बलात्कारलाई गोली र लैंगिकतालाई बन्दुकका रूपमा प्रयोग गरिन्छ।’

प्रकाशित: २७ साउन २०८० १५:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =