महिलामाथि अपराध गर्नेको कत्रो इज्जत!

संगीता श्रेष्ठ ६ भदौ २०८० १८:४१
138
SHARES
महिलामाथि अपराध गर्नेको कत्रो इज्जत! फाइल तस्बिर

देशभर बलात्कारका घटना बढेका बढ्यै छन्। एकातिर बलात्कारको डढेलो फैलिइरहेको छ। अर्कोतिर नाबालिग बलात्कार अभियुक्तको जीवनी स्कुले बालबालिकालाई पढाइँदैछ। यसले बलात्कारजस्तो संवेदनशील विषयमा समाजको क्रूरतालाई झल्काइरहेको छ।

काठमाडौँ- आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा हेटौँडा उपमहानगरपालिका-११ घर भई सोही वडामा रहेको हेटौँडा एकेडेमीको बसका सहचालक ६८ वर्षीय गोपी कँडेललाई प्रहरीले भदौ २ मा पक्राउ गर्‍यो। साउन १५ गते घरबाट विद्यालय जान बस चढेको बेला बालिकामाथि बसमै यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले भदौ १ मा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो।

०००
चार वर्षीया बालिकामाथि यौनहिंसा गरेको आरोपमा दैलख प्रहरीले १७ वर्षीय किशोरलाई साउन ३१ मा गिरफ्तार गर्‍यो। बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले साउन ३१ मा जिल्ला प्रहरी कार्यालय, दैलेखमा उजुरी दिएका थिए।

०००
गोरखामा १९ वर्षीया मानसिक तथा शारीरिक रूपमा अपांगता भएकी महिलालाई बलात्कार गरेको आरोपमा ५१ वर्षीय पुरुषलाई प्रहरीले भदौ १ मा पक्राउ गर्‍यो। पीडितका आफन्तले दिएको उजुरीको आरोपमा ती पुरुष पक्राउ परेका हुन्। पीडित पक्षको भदौ १ गतेको मौखिक उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको थियो। भदौ ३ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ।

०००
गोरखामै १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पालुङटार नगरपालिका-१० अमराइका ३२ वर्षीय हरि लामिछानेलाई प्रहरीले भदौ ३ गते गिरफ्तार गरेको छ।
पीडितका आफन्तको जाहेरीका आधारमा उनलाई गिरफ्तार गरिएको हो। उनीविरुद्ध भदौ ३ गते जिल्ला अदालतमा बलात्कार कसुर शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ। बालिकालाई आरोपितले साउन १९ गते बलात्कार गरेको उजुरीमा उल्लेख छ।

०००
डोल्पाकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जगदुल्ला गाउँपालिका-५ माझगाउँका २९ वर्षीय धर्मराज बोहोरा, सल्यानको कुमाख गाउँपालिका-५ कालागाउँका २५ वर्षीय रेशम राना र जाजरकोटको कुशे गाउँपालिका-९ का २१ वर्षीय कृष्ण विकलाई भदौ १ गते पक्राउ गर्‍यो।

फागुन १५ गते बलात्कार गरेको र अहिले ६ महिनाको गर्भ रहेको बाहिरिएपछि पीडितका आफन्तले साउन २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए। बालिकालाई आरोपितले ललाइफकाइ गरी बलात्कार गरेको आफन्तको आरोप छ। घटनामा संग्लन नौ जनामध्ये अन्य फरार रहेको र उनीहरूको खोजी कार्य भइरहेको छ।

०००
बलात्कारका घटना र आरोपित पक्राउ गरिएका यी समाचार मानवअधिकार समाचार पोर्टल ‘इन्सेक अनलाइन’ले भदौका सुरुवाती तीन दिनमै छापेको छ। बालिका, किशोरी र महिलाविरुद्ध भएका यौनहिंसाका यति घटनामात्र त्यहाँ छैनन्। बलात्कारका थुप्रै घटनाको विवरण अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को समाचार पोर्टलमा छ।

नेपालमा हरेक दिन हुने मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनाको जानकारी र मानवअधिकारसम्बन्धी समाचार पोर्टलले समेट्ने गर्छ। त्यसैअन्तर्गत बालिका, किशोरी, युवतीमाथि भएका यौनहिंसाका घटनाको उल्लेख त्यसमा गरिएको छ।

महिला पुनर्स्थापना केन्द्र (ओरेक) ले पनि हरेक महिना महिलाविरुद्ध भएका हिंसाका घटनाको विश्लेषण र अभिलेखीकरण गर्दै आएको छ। ओरेकले अभिलेखीकरण गरेका ३ सय ५ र विभिन्न राष्ट्रिय पत्रपत्रिकाबाट प्राप्त ८३ घटनाका आधारमा ३ सय ८८ वटा लैंगिक विभेदका घटनालाई २०८० को जेठ र असार महिनाको प्रतिवेदनमा समेटेको छ।

अभिलेखीकरण गरिएको तथ्यांक विश्लेषण गर्दा दुई महिनामा ७४ वटा अर्थात् १९ प्रतिशत बलात्कारका घटना भएका छन्। त्यसमा दुईवटा सामूहिक बलात्कार, १० वटा बलात्कार प्रयास, चारवटा वैवाहिक बलात्कार र २१ वटा यौन दुर्व्यवहारका घटना छन्।

‘महिलामाथि भएका हिंसाको मासिक प्रतिवेदन जेठ-असार, २०८०’ अनुसार महिलाविरुद्ध हिंसाका सबैभन्दा बढी घटना घरमै भएका छन्। महिला घरभित्र बढी जोखिममा रहेको प्रतिवेदनले देखाएको छ। ‘महिलाका लागि सुरक्षित स्थान छैन, जहाँ उनीहरूले हिंसा खेप्न नपरोस्, यो आफैँमा चुनौतीपूर्ण विषय हो’, प्रतिवेदनमा उल्लेख छ।

महिलामाथि हुने सबै किसिमका हिंसा अन्त्य गर्न व्यक्तिगत सोच र व्यवहारमा परिवर्तन गर्नुपर्ने प्रतिवेदनमा लेखिएको छ। स्थानीय तहदेखि नै हरेक घर सुरक्षित बनाउने अभियान सञ्चालन गर्नुका साथै महिलामाथि हुने सबै प्रकारको हिंसा अन्त्य गर्नु अत्यन्त आवश्यक देखिएको सुझाव प्रतिवेदनमा छ।

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० मा देशभर २ हजार ३ सय ८७ जबर्जस्ती करणीका घटना भएका छन्। सबैभन्दा बढी कोशी प्रदेशमा ५ सय ६७ घटना भए। त्यसपछि लुम्बिनीमा ३ सय ५३ र मधेशमा ३ सय १६ घटना भएको तथ्यांक छ। त्यस्तै बागमतीमा २ सय ६१, कर्णालीमा २ सय ५, सुदूरपश्चिममा १ सय ८९ र गण्डकीमा १ सय ७९ घटना प्रहरीमा दर्ता भएका छन्। काठमाडौँ उपत्यकामा यौनहिंसाका ३ सय १७ वटा घटना भएको नेपाल प्रहरीको तथ्यांक छ।

यता बलात्कारका घटना बढेका बढे छन्। उता नाबालिग बलात्कार घटनाका अभियुक्त क्रिकेटर सन्दीप लामिछाने चर्चामा छन्। उनी एकपटक फेरि विवादमा तानिएका छन्। नेपाली राष्ट्रिय क्रिकेट टोलीमा अटाएका लामिछानेको जीवनी स्याङ्जा, अर्जुनचौपारी गाउँपालिकाका विद्यार्थीलाई अध्यापन गराउने उद्देश्यले पाठ्यपुस्तकमा समेटेको छ। गाउँपालिकाले कक्षा-४ को स्थानीय पाठ्यपुस्तकमा उनको जीवनी राखेको छ। पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि लागू हुने भएपछि सामाजिक सञ्जालमा त्यसबारे बहस चलेको छ।

गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले सन्दीपको जीवनी स्थानीय पाठ्यक्रममा पहिलोपटक समेटेको बताएका छन्। ‘किताबमा सन्दीपको जीवनी छापिइसकेको छ,’ उनी भन्छन्, ‘असारपछि अध्यापनका लागि पठाइने कुरा थियो। तर पठाएका छैनौँ। अदालतको निर्णय कुरिरहेका छौँ।’ सन्दीपले अदालतबाट सफाइ पाए पाठ्यपुस्तकमा उनको जीवनी यथावत् रहने र अदालतले नै उनलाई दोषी करार गरे नपढाइने तिवारीको भनाइ छ।

क्रिकेटर लामिछानेले यौनहिंसा गरेको भन्दै गत वर्ष भदौ २१ मा एक किशोरीले प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्। जाहेरी पर्दा नेपालबाहिर रहेका सन्दीपलाई असोज २० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो। यसो हुँदा क्यानले उनलाई राष्ट्रिय टोलीबाट निलम्बन गर्‍यो। कात्तिक १८ मा काठमाडौँ जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठायो।

जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटन गएका लामिछाने पुस २९ मा धरौटीमा रिहा भए। उच्च अदालतले उनलाई विदेश जान रोक लगाउँदै २० लाख धरौटीमा जेलमुक्त गर्‍यो। सर्वोच्च अदालतले त झन् एक कदम अघि बढ्दै उनलाई विदेश जान पाउने आदेश दियो। उनीविरुद्ध नाबालिग बलात्कार मुद्दा अदालतमा विचाराधीन छ।

लामिछाने विश्वकप छनोटका लागि जिम्बावे गएयता मुद्दाको सुनुवाइ हुन सकेको थिएन। मुद्दाको अन्तिम सुनुवाइ साउन ३२ मा पनि भएन। जिल्ला अदालतले पीडित किशोरीकी आमाको जन्ममिति प्रमाणित गर्न आदेश दिएसँगै अन्तिम सुनुवाइ हुन सकेन।

यो प्रकरणमा पीडित किशोरीको नाम ‘गौशाला २६’ दिइएको छ। किशोरीले आफ्नी आमाको जन्ममिति एउटा कागजमा २०३३ र अर्कोमा २०५३ साल उल्लेख गरेकी छन्। त्यसैले आमाको जन्ममिति प्रमाणित गर्न आदेश अदालतले दिएको हो। भदौ १३ मा हुने एसिया कपको तयारीमा रहेका लामिछाने मुद्दासँगै आफ्नो जीवनी पाठ्यपुस्तकमा समेटिएपछि चर्चामा आएका छन्।

बलात्कार अभियुक्तको जीवनी स्कुले विद्यार्थीलाई पढाउन नहुने भन्दै सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ। यसले विद्यार्थीमा नराम्रो असर पार्न सक्ने धेरैको भनाइ छ।

लेखक अमृता लम्सालले फेसबुकमा लेखेकी छन्, ‘गाउँपालिका अध्यक्षज्यू, हो हो, लामिछानेको जीवनी उदाहरणीय छ; पढाउनुपर्छ! बरु जीवनीमा ‘एउटा नाबालिगलाई बलात्कार गरेको आरोप लागेको’ भनेर लेखेको छ कि छैन? छैन भने त्यो थप्न नबिर्सनुहोला! किनकि तपाईंहरूको लागि बलात्कार भनेको त सामान्य कुरा हो नि! अरूको लागि पनि सामान्य बनाउनैपर्छ!’

महिलासम्बन्धी विषयमा मुखर जनस्वास्थ्यविद् अरुणा उप्रेतीले पनि सोसल मिडियामा आफ्नो अभिव्यक्ति दिएकी छन्। ‘मेरो देश को अनुहार हो यो! महिलालाई अपमान गर्नेहरूको कत्रो इज्जत?’ उनले लेखेकी छन्, ‘नाबालिग बलात्कारका अभियुक्त क्रिकेटर सन्दीप लामिछानेको जीवनी स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले स्थानीय पाठ्यक्रममा समावेश गरेको छ।’

पुरुषसत्तात्मक समाजमा महिलालाई ‘सफ्ट टार्गेट’ ठानिएकाले नाबालिग बलात्कारको अभियुक्तको जीवनीलाई स्कुलको पाठ्यक्रममा समेटिनेजस्ता काम भएको डा. जानुका खतिवडा बताउँछिन्। उनी भन्छिन्, ‘पुरुषको वर्चस्व रहेको देश र समाजमा महिला जहिल्यै पनि हिंसाको सिकार हुने गर्छन्। अनि हिंसा गर्नेहरूचाहिँ हिरो बन्छन्। समाजका लागि उदाहरणीय व्यक्तित्वका रूपमा उनीहरूको जीवनी किताबमा समेटिन्छ र विद्यार्थीलाई पढाइन्छ।’

हाडानाता करणीमा विद्यावारिधि डा. खतिवडा गलतलाई गलत भन्न नसक्नु बरु त्यसको प्रशंसा गर्नुमा पुरुषसत्तालाई दोष दिन्छिन्। ‘हाम्रो समाज पुरुषतिर बढी ढल्किएको छ,’ उनी भन्छिन्, ‘त्यसैले पुरुष गलत हुँदा पनि उनको जीवनीलाई गर्वसाथ पाठ्यक्रममा छाप्न तम्सिन्छ।’

प्रकाशित: ६ भदौ २०८० १८:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =