सके सहमतिमा राष्ट्रपति लिने, नसके गठबन्धन टुटाउने कांग्रेस रणनीति

हिमाल प्रेस ५ माघ २०७९ १८:०६
62
SHARES
सके सहमतिमा राष्ट्रपति लिने, नसके गठबन्धन टुटाउने कांग्रेस रणनीति

काठमाडौँ- नेपाली कांग्रेस सत्ता गठबन्धन टुटाउने रणनीतिमा जुटेको छ। पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिँदा पनि कुनै महत्त्वपूर्ण पद नपाउने भएपछि कांग्रेस सत्ता गठबन्धन टुटाउन सक्रिय भएको हो। यद्यपि राष्ट्रपति पदका लागि सहमति जुटाउने प्रयास जारी राखिने नेताहरू बताउँछन्।

सभामुख निर्वाचनमा सत्ता गठबन्धनबाट साथ पाउने कांग्रेसको आस एमालेका देवराज घिमिरे सभामुख निर्वाचित भएसँगै सकिएको छ। यसैगरी सातै प्रदेशमा कांग्रेस इतरका दलहरूले सरकारको नेतृत्व गरिसकेका छन्।

अब राष्ट्रपति निर्वाचन मात्रै बाँकी छ। त्यसैले कांग्रेसले राष्ट्रपति निर्वाचनलाई गठबन्धन टुटाउने मिसन बनाउन लागेको नेताहरू बताउँछन्।

प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन दिए पनि कांग्रेसले आफूलाई प्रमुख प्रतिपक्षी भन्दै आएको छ। प्रचण्डलाई समर्थन गर्नुमा सभापति शेरबहादुर देउवाले कुनै पदका लागि ‘बार्गेनिङ’ गरेको शंका गरिँदै आएको छ। सोही कारण नेताहरू राष्ट्रपपति कांग्रेसको भागमा परेकाले राष्ट्रपति कांग्रेसबाटै हुने बताउँदै आएका छन्।

महामन्त्री विश्वप्रकाश शर्माले भने, ‘शीतल निवासमा नेपाली कांग्रेसले प्रस्तावित गरेको व्यक्तित्व राष्ट्रपतिका रूपमा देख्नुहुनेछ।’ कांग्रेसबाट राष्ट्रपतिमा कसलाई अघि सार्ने भन्ने निर्णय भइसकेको छैन।
कांग्रेस नेता प्रदीप पौडेलले पनि कांग्रेसले राष्ट्रपतिको निर्वाचनमा आफ्नो पक्षमा समर्थन जुटाउने प्रयासमा लाग्ने बताए। राष्ट्रपतिका लागि दलहरूबीच अझै सहमति भएको छैन। उनले भने, ‘नेपाली कांग्रेसले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिनेछ।’

गठबन्धन कायम रहेको अवस्थामा कांग्रेसले आफ्ना उम्मेदवार जिताउन मुस्किल भए पनि उम्मेदवारी दिएर समर्थन जुटाउन खोज्नु स्वाभाविक भएको उनको भनाइ छ। उनले भने, ‘गठबन्धन कायम रहिरहेको अवस्थामा कांग्रेसले आफ्ना उम्मेदवारलाई जिताउन मुस्किल छ। त्यस कारण हामीले नयाँ सिराबाट जान खोज्नु स्वाभाविक हो।’

नेपाली कांग्रेसका महामन्त्री गगन थापा भने राष्ट्रपति पदका लागि सहमति जुटाउने विषयमा पार्टीमा औपचारिक रूपमा छलफल हुन बाँकी रहेको बताउँछन्। उनी भन्छन्, ‘हामी सकेसम्म सहमतिमा राष्ट्रपति चयन होस् भन्ने पक्षमा छौँ। तर यसबारे आधिकारिक कुनै निर्णय भइसकेको छैन।’

पौडेलले पनि प्रतिपक्षमा बसेर विश्वासको मत दिएको दाबी गरे। उनले भने, ‘प्रधानमन्त्रीले सहमतिका आधारमा अगाडि बढ्ने भन्नुभयो। त्यहीअनुसार कांग्रेसले विश्वासको मत दिएको हो।’

कांग्रेसका अर्का सांसद चन्द्र भण्डारी सत्तारुढ गठबन्धन टुटाउन राष्ट्रपति चयनमा प्रयास गरिने बताउँछन्। उनी भन्छन्, ‘सरकार बनाउने बेला माओवादीसहितका आफूहरूको गठबन्धन टुटाएकाले अब हामीले पनि गठबन्धन टुटाउने प्रयास गर्नु स्वाभाविकै हो।’

भण्डारीले सभामुखलाई मिसन बनाएर सत्तारुढ गठबन्धन टुटाउने गरिएको प्रयास असफल भएको स्वीकार गरे। उनले अब राष्ट्रपति चुनावलाई मिसन बनाएर सो काम अघि बढाउने उनको भनाइ छ। उनले भने, ‘हामी चुनावमा गठबन्धनमा थियौँ। त्यो गठबन्धन टुट्यो भने अब यो गठबन्धन पनि कसरी टुट्छ भनेर सोचिन्छ नि!’

उनले गठबन्धन हुने र टुटाउने निरन्तर चलिरहने प्रक्रिया रहेको बताए। भण्डारीले भने, ‘यो राजनीतिमा आउने स्वाभाविक प्रक्रिया हो। त्यस कारण मिसन सभामुख थियो। त्यो भएन। अब मिसन राष्ट्रपति पनि हुन्छ। यसमा कुनै शंका नै भएन नि।’

प्रधानमन्त्री प्रचण्ड पनि राष्ट्रपतिबारे समझदारी गर्ने पक्षमा छन्। उनले यसका लागि प्रयास जारी रहेको बताए। संसद् भवन परिसरमा बिहीबार पत्रकारसँग उनले भने, ‘सत्ता साझेदार र म आफैँले पनि सकेसम्म राष्ट्रपतिका बारेमा समझदारी बनाउन कोसिस गरिरहेको छु।’

प्रचण्डले उपसभामुखको निर्वाचनमा पनि सभामुख निर्वाचन प्रक्रियाअनुसार सत्ता गठबन्धन अगाडि बढ्ने बताए। उनले भने, ‘राष्ट्रपतिको कुरा बाँकी छ। सकेसम्म कुनै समझदारी बनिदिए हुन्थ्यो भन्ने कोसिसमा छौँ।’

नेपाली कांग्रेसका महामन्त्री गगन थापा भने राष्ट्रपति पदका लागि सहमति जुटाउने विषयमा पार्टीमा औपचारिक रूपमा छलफल हुन बाँकी रहेको बताउँछन्। उनी भन्छन्, ‘हामी सकेसम्म सहमतिमा राष्ट्रपति चयन होस् भन्ने पक्षमा छौँ। तर यसबारे आधिकारिक कुनै निर्णय भइसकेको छैन।’

उता एमाले अध्यक्ष केपी शर्मा ओलीले भने सत्तारुढ दलहरुबीच एमालेबाट राष्ट्रपतिको उम्मेदवार उठाउने सहमति भएको बताए।

उनले संसद् भवन परिसरमा सञ्चारकर्मीसँग भने, ‘एकदमै राष्ट्रिय सहमति हुनुपर्छ राष्ट्रपतिमा। नेकपा एमालेले उम्मेदवार उठाउँछ। हाम्रो सहमति त्यही हो। यसमा राष्ट्रिय सहमति हुनुपर्छ।’  एमालेले राष्ट्रपतिमा कसलाई उम्मेदवार बनाउने भन्ने कुरा पछि बताउने ओलीको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 10 =