राष्ट्रपति र सभामुखबारे प्रचण्डको संकेतले झस्किएको एमाले

हिमाल प्रेस ३० पुष २०७९ २२:०२
38
SHARES
राष्ट्रपति र सभामुखबारे प्रचण्डको संकेतले झस्किएको एमाले फाइल तस्बिर।

काठमाडौँ– प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार केही सञ्चारमाध्यमहरूका सम्पादकहरूसँग छलफल गरे। त्यसक्रममा उनले आफू नेतृत्वको सरकारको प्राथमिकता, विदेश भ्रमण, आर्थिक विकास र समृद्धिका योजनामात्रै सुनाएनन्; त्यसका लागि राजनीतिक आधार तयार पार्न र सत्तासाझेदार दलहरूमध्ये सबैभन्दा ठूलो दल नेकपा एमालेको प्रभावमा मात्रै आफू नचल्ने संकेत गरे।

साथमा प्रधानमन्त्री प्रचण्डले आफूले पाएको विश्वासको मतको विषय छुटाएनन्। एमालेसहित सात दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले विश्वासको मत माग्दा कांग्रेससहित १० दलको विश्वास प्राप्त गरे। कांग्रेस संसदमा सबैभन्दा ठूलो दल हो। कांग्रेसले ८९ सिट जित्दा दोस्रो भएको एमालेको ७९ सिट छ।

तेस्रो दल माओवादीको ३२ र चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीको २० सिट छ। राप्रपाको १४ र जसपाको १२ सिट छ। नेकपा एकीकृत समाजवादीको १० सिट छ। लोसपा, जनमत, नाउपा लगायतका दलहरू पनि संसदमा छन्। सबैको साथ पाएपछि प्रधानमन्त्री प्रचण्डले सबैको साथ लिएर काम गर्ने संकेत गरेका हुन्।

प्रधानमन्त्री बन्दा प्रचण्डले सभामुखमा एमाले र माओवादीमा आलोपालो गर्ने, राष्ट्रपति एमालेले लिने बताएका थिए। राष्ट्रपति र सभामुख एमालेले लिने सहमति भए पनि सबै दलले विश्वासको मत दिएपछि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति र सभामुखमा साझा पात्र हुनु उचित हुने भनी राजनीतिक चार्तुयता देखाउन खोजेका छन्। अर्थात, उनले यी पदमा आफूअनुकूल पात्रको खोजी गरेका छन्।

यसबारे प्रचण्डले प्रष्ट भनेका छन्, ‘मलाई विश्वासको मत दिने दलहरूको सर्वदलीय बैठक बोलाउँछु। सर्वदलीय सहमति बनाउने मेरो कोसिस छ। राष्ट्रपति, उपराष्ट्रपति, सभामुखबारे लिखित सहमति केही छैन। अब बस्ने सर्वदलीय बैठकले धेरै कुरा निर्धारण गर्छ।’ प्रधानमन्त्री प्रचण्डले माघ ३ गते सर्वदलीय बैठक बोलाएका छन्।

माघ ३ गते नै सभामुखको निर्वाचन तालिका सार्वजनिक हुँदैछ। माघ ५ गते सभामुखको निर्वाचन हुँदैछ। मुलुक गणतान्त्रिक शसन प्रणालीमा गएपछि सभामुखका लागि चौथो सभामुखको चुनाव हुन लागेको छ।

सत्तारुढ दलहरूबीच सभामुख पद एमालेले आधा कार्यकाल सुरुमा पाउने सहमति छ। तर, प्रधानमन्त्री प्रचण्डले यस विषयमा लिखित कुनै सहमति नभएको भन्दै सर्वदलीय बैठकमा सहमतिको प्रयास हुने बताएका छन्।

राष्ट्रपति र सभामुख कसले लिने भनी लिखित सहमति नभएको र सर्वदलीय बैठकमा सहमतिको प्रयास हुने भन्दै आफूअनुकूल पात्र खोज्दै गरेको संकेत प्रचण्डले गरेपछि प्रमुख सत्तासाझेदार दल नेकपा एमाले झस्किएको छ।

एमाले नेताहरू राष्ट्रपति र सभामुख एमालेले लिने सहमति भए पनि सबै दलले विश्वासको मत दिएपछि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति र सभामुखमा साझा पात्र हुनु उचित हुने भनी राजनीतिक चार्तुयता देखाउन खोजेका छन्। यस्तोमा संयमित नभए गठबन्धन टुट्न सक्ने त्रासमा एमाले नेताहरू देखिन्छन्।

एमालेका उपमहासचिव प्रदीप ज्ञवाली मुलुकको राजनीतिक स्थायित्वका लागि पनि सत्तारुढ गठबन्धनलाई टिकाएर अघि बढनुपर्ने बताउँछन्। निर्वाचन अघिको गठबन्धन नटिक्ने र पछिको गठबन्धन पनि टिकाउ नहुँदा मुलुक मारमा पर्ने उनको भनाइ छ।

‘निर्वाचनमा मतदाताले एउटा एलाइन्समा भोट हाल्छन्। तर, काठमाडौं आइपुग्दा नपुग्दै एलाइन्सहरू भत्किन्छ। र, फेरि नयाँ ढंगले एउटा कोर्स सुरु हुन्छ’, उनी भन्छन्, ‘यस्तो स्थितिमा राजनीतिक स्थायित्वको खोजी हामीले कसरी गर्ने ? एउटा असाध्यै ठूलो चुनौती हाम्रासामु छजस्तो मलाई लाग्दछ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + twelve =