सुर्खेत : घटना दर्तालाई व्यवस्थित गरिने

हिमाल प्रेस ३० पुष २०७९ ८:५१
2
SHARE

सुर्खेत- स्थानीय तहमा हुने घटना दर्तालाई थप व्यवस्थित गरिने भएको छ। घटना दर्तामा केही समस्या रहेको गुनासो स्थानीय तहबाट आउन थालेपछि थप व्यवस्थित गर्ने तयारी गरिएको हो।

पञ्जीकरण विभाग र सुर्खेत वीरेन्द्रनगर नगरपालिकाले संयुक्तरूपमा शुक्रबार आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र सर्वसाधारणले जन्म, विवाह दर्ता गर्दा केही समस्या रहेको र यसकै कारण नागरिकता वितरणमा समेत समस्या देखिएको गुनासो गरेका थिए।

कार्यक्रमका सहभागीले बाबुआमा नभएका र पत्ता नलागेकाका बालबालिकाको जन्मदर्ता गर्दा समस्या भोग्नुपरेको, नागरिकता प्राप्त गर्न कठिन भएको नागरिकता नै नहुँदा सरकारी सुविधा प्राप्त गर्न कठिन भएको गुनासो गरे।

विशेष गरी बाबुआमा नभएका बालबालिकाको जन्मदर्ता गराउन समस्या रहेको भन्दै पहिचान नखुलेका व्यक्तीको घटना दर्ता गर्न कानुनमा नै समस्या रहेको बताएका हुन्। सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ५ का वडा सदस्य मीरा पन्त बोहोराले भने, ‘हाम्रो वडामा एकजना महिला हुनुहुन्छ, उहाको केही पहिचान छैन । पहिचान नभएका व्यक्तिको जन्मदर्ता र अन्य अभिलेख कसरी राख्ने?’

हुम्लाको नाम्खा गाउँपालिका पञ्जीकरण शाखाका प्रमुख रेशम खड्काले नाम्खा गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणमा समस्या रहेको भन्दै यसलाई सहज बनाउन आग्रह गरे। ज्येष्ठ नागरिकले सामाजिक सुरक्षाबापत मासिकरुपमा पाउँदै आएको वृद्धभत्ता लिन कठिन भएको, ग्रामीण क्षेत्रमा बैंकसम्म पुगेर बुद्ध, बालबालिका र अपागङ्ता भएका व्यक्तिलाई पनि भत्ता लिन समस्या हुने गरेको गुनासो सहभागीले गरेका थिए।

कतिपय स्थानीय तहका कर्मचारीले आफूहरुले रकम निकासा गरे पनि बैंकले समयमै वितरण नगर्दा समस्या भइरहेको बताए। लक्षित समूहलाई सरकारले उपलब्ध गराउँदै आएको भत्ता वितरणमा विभिन्न समस्या देखिएको गुनासो बढेपछि सरकारले यसलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको हो।

पञ्जीकरण विभागका महानिर्देशक तीर्थराज भट्टराईले सामाजिक सुरक्षा भत्ता सहजरुपमा उपलब्ध गराउन स्थानीय सरकारसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाए। जन्मदर्ता र नागरिकता प्राप्तिमा देखिएका जटिलता हटाउन विभागले नीतिगत सुधारलाई पहल गर्ने उनको भनाइ छ। पेन्सन खाइरहेकाले सामाजिक सुरक्षा भत्ता लिन नहुने भन्दै त्यस्तो भएको पाइएमा फिर्ता गराउने उनको भनाइ थियो।

कर्णाली सरकारको सामाजिक विकास मन्त्रालयका सचिव सन्तबहादुर सुनारले कर्णालीमा छोरीको बैंक खाता कार्याक्रम थप प्रभावकारी बनाउने बताए। कार्यक्रममा जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गङ्गाराम सुनार, वीरेन्द्रनगर नगरपालिकाका कार्यवाहक मेयर टिकाराम शर्मा, सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले नागरिकलाई सहजरुपमा सरकारी सेवा उपलब्ध गराउन स्थानीय सरकार गम्भीर हुनुपर्ने बताए।

प्रकाशित: ३० पुष २०७९ ८:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − eleven =