गण्डकीमा सभामुखको निर्वाचन शनिबार

हिमाल प्रेस २९ पुष २०७९ २१:१७ | Friday, January 13, 2023
गण्डकीमा सभामुखको निर्वाचन शनिबार

पोखरा– सत्तारुढ गठबन्धनबाट गण्डकी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका कृष्ण धिताल उम्मेदवार बन्ने भएका छन्। शुक्रबार (आज) बसेको माओवादी गण्डकी प्रदेशसभा संसदीय दलको बैठकले गोरखा १ (क)बाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित धिताललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो।

सो दलका नेता एवम् प्रदेश सरकारका बिनाविभागीय मन्त्री हरिबहादुर चुमानले दलको बैठकले सर्वसम्मत उम्मेदवार तय गरेको जानकारी दिए।

नेकपा एमालेले मुख्यमन्त्री र माओवादीले सभामुख पाउने सत्तासाझेदार दलबीचमा भएको सहमतिअनुसार माओवादीका धिताल सभामुख बन्ने भएका हुन्। गण्डकीमा खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भइसकेका छन्। अधिकारीले प्रदेशसभाबाट विश्वासको मतसमेत पाइसकेका छन्। गण्डकीमा गठबन्धनका पक्षमा बहुमत रहेकाले गठबन्धनका उम्मेदवार विजयी हुने निश्चित छ।

प्रदेशसभाको शुक्रबारको बैठकमा अध्यक्षता गरेका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले प्रदेश सभामुख चयन गर्न शनिबार अपराह्न ३ बजे बस्ने गरी बैठक बोलाएका हुन्।

प्रतिपक्षी दल नेपाली कांग्रेसले भने उम्मेदवार टुंगो लगाएको छैन। कांग्रेस संसदीय दलको बैठकले सभामुखको उम्मेदवार तय गर्ने जिम्मा दलको नेतालाई दिएको छ। ६० सदस्य रहेको गण्डकी प्रदेशसभामा कांग्रेसका २७, एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र १ सदस्य छन्।

प्रकाशित: २९ पुष २०७९ २१:१७ | Friday, January 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast