ताकम माध्यमिक विद्यालयमा प्रभावकारी बन्दै पढ्दै-कमाउँदै कार्यक्रम

हिमाल प्रेस २९ भदौ २०८३ ७:५६ | Monday, September 14, 2026
ताकम माध्यमिक विद्यालयमा प्रभावकारी बन्दै पढ्दै-कमाउँदै कार्यक्रम

म्याग्दी- म्याग्दीको धवलागिरि गाउँपालिका–७ मा रहेको ताकम माध्यमिक विद्यालयले तरकारी खेती सुरु गरेको छ।

विद्यालयको दिवाखाजा र छात्रावासका लागि आवश्यक पर्ने ताजा तरकारी आफ्नै करेसाबारीमा फलाउने तथा विद्यार्थीहरूलाई प्राविधिक र व्यावसायिक ज्ञान-सीप सिकाउने उद्देश्यले तरकारी खेती सुरु गरिएको हो।

ताकम माविका प्रधानाध्यापक केशर रावलका अनुसार टनेल बनाएर मौसमी र बेमौसमी तरकारी खेती सुरुआत गरिएको छ। ‘विद्यार्थी र शिक्षकहरूले फुर्सदको समयमा प्रयोगात्मक अभ्यासका लागि पहिलो चरणमा एउटा टनेलमा बन्दा, काउली र गाजर लगाएका छौँ,’ उनले भने, ‘थप जमिनमा हिउँदे आलु र साग प्रजातिका तरकारी लगाउने तयारीमा छौँ।’

ताकमको मैदानमा रहेको तीन रोपनीभन्दा बढी क्षेत्रफलको जग्गामा तरकारी खेतीलाई निरन्तरता दिने विद्यालयको योजना छ। कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीहरूलाई यस खेतीमा सहभागी गराइएको छ।

तरकारी खेतीका लागि गाउँपालिकाले ‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’ कार्यक्रममार्फत आर्थिक वर्ष २०८२/८३ मा एक लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ। दातृ संस्था ‘गुड नेवर्स इन्टरनेसनल’को सहयोगमा सङ्गम म्याग्दीद्वारा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजनाले प्राङ्गारिक प्रविधिबाट खेती गर्ने तरिकाका विषयमा प्राविधिक सहयोग प्रदान गरेको छ।

उक्त परियोजनाले करेसाबारी कार्यक्रममार्फत थप सहयोग गर्ने प्रतिबद्धता जनाएको प्रधानाध्यापक रावलले बताए। कक्षा ८ देखि १२ सम्म इलेक्ट्रिक इञ्जिनियरिङ विषयको पठनपाठन हुने यस विद्यालयमा २२१ जना विद्यार्थी अध्ययनरत छन्।

विद्यार्थीहरूले पढ्दै कमाउने सीप सिक्ने, बाँझो जग्गा र फुर्सदको समय सदुपयोग हुने, छात्रावासका लागि तरकारी किन्नु नपर्ने र खर्च बचत हुने भएकाले यो कार्यक्रम प्रभावकारी हुने अपेक्षा छ। करेसाबारीको काममा सहभागी हुँदा विद्यार्थीहरूले जीवनोपयोगी सीप सिक्नाका साथै ताजगी महसुस गर्ने गरेका छन्। रासस

प्रकाशित: २९ भदौ २०८३ ७:५६ | Monday, September 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast