सभामुख डोलेन्द्रप्रसाद अर्याल
काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालले संसदमा देखिएको समस्या समाधान गर्न खोज्दा विपक्षी दलको साथ नपाएको बताएका छन्।
सोमबार विपक्षी दलका सांसदहरुले सदनको कामकारबाही अघि बढाउन अवरोध गरेपछि सभामुख अर्यालले विपक्षी दलका सदस्यहरुलाई पटकपटक संवाद गर्नको लागि बोलाए पनि विपक्षी दलबाट समय नपाएको बताए।
उनले सभामुखको हैसियतले आफूले संवादलाई प्राथमिकता दिए पनि विपक्षी दलबाट नजरअन्दाज भएपछि प्रक्रिया अनुसार नै अघि बढ्ने अवस्था आएको धारणा राखे।
सभामुख अर्यालले आइतबार प्रतिनिधिसभा नियमावली पारित गर्ने प्रक्रियालाई पनि संविधान र नियमावलीअनुसार नै अघि बढाइएको उल्लेख गरे। सभामुखको हैसियतले आफूले विधेयकमा आएका संशोधनहरुलाई निर्णयार्थमात्रै प्रस्तुत गर्न सक्ने भन्दै उनले स्वीकार गर्ने या अस्वीकृत गर्ने भन्ने सांसदहरुकै विषय भएको बताए।
सभामुख अर्यालले आफूले प्रक्रियामा काम गरिरहेको र कुनै नियम नमिचेको समेत बताए।
उहाले सदनमा विरोधको प्रतिष्पर्धा भन्दा पनि देश, राष्ट्र, राष्ट्रियता र जनताको जनजीविकाको विषयमा प्रतिस्पर्धा गर्न सुझाव दिए।




