लिग कपको सेमिफाइनल पुग्न सिटी योग्य थिएन : ग्वार्डिओला

हिमाल प्रेस २८ पुष २०७९ १०:१६
8
SHARES
लिग कपको सेमिफाइनल पुग्न सिटी योग्य थिएन : ग्वार्डिओला

काठमाडौँ- म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्नो टिम लिग कप सेमिफाइनलको हकदार नरहेको प्रतिक्रिया दिएका छन्। बुधबार राति साउथह्याम्पटनसँग अप्रत्याशित हार व्यहोरेपछि ग्वार्डिओलाबाट यस्तो अभिव्यक्ति आएको हो।

‘साउथह्याम्पटनले हामीभन्दा राम्रो खेल्यो, जित्यो। हामी जितको हकदार थिएनौँ। सुरुबाटै असाध्यै खराब खेल्यौँ। खेलाडीहरू यो खेल खेल्न, जित्न तयार देखिएनन्। यस्तो तरिकाले खेलेर यति ठूलो खेल जित्न सकिँदैन,’ लिग कपका पछिल्ला चार संस्करण सिटीलाई जिताएका ग्वार्डिओलाले भने।

इंग्लिस प्रिमियर लिगको अंक तालिकामा पुछारमा रहेको साउथह्याम्पटनले २३ र २८ औँ मिनेटमा गोल गरेको थियो। पहिलो गोल सेकौ मारा तथा दोस्रो गोल मौसा डेनेपोले गरेका थिए।

गत साता एफए कपको तेस्रो चरणमा चेल्सीमाथि ४–० को जित दर्ता गरेको सिटीको टिममा चार परिवर्तन भएकाे थियाे। त्यसमध्ये काल्भिन फिलिप्स पहिलो पटक पहिलो एघारमा माैका पाएका हुन्। तर उनले ६३ औँ मिनेटमा मैदान छाड्नु पर्‍याे।

विश्वकप खेल्न कतार गएको इंग्लिस टिमका सदस्य फिलिप्स सिटीको अभ्यासमा फर्कदा ‘बढी वजन’ का कारण ग्वार्डिओलाबाट आलोचित बनेका थिए। यही सिजन लिड्स युनाइटेडबाट सिटी सरेका फिलिप्सले सिटीमा कम मौका पाइरहेका छन्।

लिग कपको इतिहासमा दोस्रो सर्वाधिक सफल टिमलाई हराएर सेमिफाइनलमा पुगेको साउथह्याम्पटनले अब फाइनल प्रवेशका लागि न्युकासल युनाइटेडको सामना गर्नेछ। पहिलो लेग जनवरी २५ र दोस्रो लेग फेब्रुअरी १ मा हुनेछन्।

सन् १९७९ र २०१७ मा पनि फाइनलमा पुगेको साउथह्याम्पटनले लिग कपको उपाधि भने जित्न सकेको छैन। साउथह्याम्पटनका प्रशिक्षक नाथन जोन्सले लिग कपको सफलताले आफ्नो टिमलाई उत्साहित बनाएको बताएका छन्। यो उत्साह प्रिमियर लिगमा पनि काम लाग्ने उनको आशा छ।

‘प्रिमियर लिगमा हामी संघर्षरत छौँ। हामीमाथि निकै प्रश्न उठेका छन्। साउथह्याम्पटन रेलिगेसनबाट बच्न सक्दैन भन्नेको संख्या धेरै छ। तर हामी हार मान्न तयार छैनौँ। आशा छ कपको सफलताको असर लिगमा पनि पर्नेछ,’ जोन्सले भने।

गत साता दोस्रो श्रेणीको ब्लाकपुलसँग एफए कपमा पराजय भोगेको नटिङहम फरेस्ट पनि लिग कपको सेमिफाइनलमा पुगेको छ। सन् १९९२ पहिलो पटक सेमिफाइनलमा पुग्न फरेस्टले उल्भरह्याम्पटनलाई पेनाल्टीमा ५–४ ले पन्छायो।

विली बोलीले १८ औँ मिनेटमा पहिलो गोल गरेपछि खेलमा अघि बढेको फरेस्टले ६४ औँ मिनेटमा बराबरी गोल खाएको थियो। राउल हिमिनेजले गोल गरेपछि खेलमा फर्किएको उल्भरह्याम्पटनले थप गोल गर्न सकेन। त्यसपछि नतिजाको निक्र्योल पेनाल्टीबाट गरिएको थियो।

उल्भरह्याम्पटनका कप्तान रुबेन नेभेस र जो होज पेनाल्टीमा चुकेका थिए। उता फरेस्टका साम सुरिजले पनि पेनाल्टी खेर फाले। फरेस्टले अब सेमिफाइनलमा म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ।

प्रकाशित: २८ पुष २०७९ १०:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =