साइबेरियाको जाडो छल्न नारायणी नदी आइपुगे खोया हाँस

भेटिए ४३ प्रजातिका चरा

हिमाल प्रेस २७ पुष २०७९ १६:२४
16
SHARES
साइबेरियाको जाडो छल्न नारायणी नदी आइपुगे खोया हाँस नारायणी नदी क्षेत्रमा देखिएका जलपक्षीहरू।तस्बिर- रासस

नवलपुर– यस वर्षको जलपक्षी गणनाका क्रममा नवलपरासी (सुस्ता पूर्व)मा ४३ प्रजातिका चरा भेटिएका छन्। चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नवलपुर क्षेत्रमा ४३ प्रजातिका चरा भेटिएको जानकारी दिए।

‘गत वर्षको पक्षी गणनामा ३८ प्रजातिका पक्षी भेटिएका थिए, यसपालिको गणनामा नारायणी नदी क्षेत्रमा ४३ प्रजातिका पक्षी भेटिए,’ उनले भने, ‘चरा गणनाका क्रममा अहिलेसम्म नारायणी क्षेत्रमा नभेटिएको राज सुड सुडिया नामको पक्षी पनि अहिले भेटियो।’

गतवर्ष नदेखिएका विभिन्न चार प्रजातिका चरा यसवर्ष देखा परेको संयोजक चौधरीको भनाइ छ। ‘यस वर्षको गणनामा जुरे हुटिट्याउ, बेल्चा ठुडे हाँस, जुरे हाँस र लाल खुट्टे टिम टिया प्रजातिका चरा फेला पारेका छन्,’ उनले भने, ‘चितवन राष्ट्रिय निकुञ्जको नवलपुर क्षेत्रमा गत वर्ष यी प्रजातिका चरा गणना भएका थिएनन्।’

नेपालको जल क्षेत्रमा एक सय ६२ प्रजातिका चरा पाइन्छन्। तीमध्ये नारायणी नदी क्षेत्रमा यसवर्ष उक्त प्रजाति फेला परेको जनाइएको छ। नवलपुरतर्फको चितवन राष्ट्रिय निकुञ्ज र नारायणी नदी तथा सिमसार क्षेत्रमा चार समूह बनाएर चरा गणना गरिएको थियो। सिघ्रौलीदेखि अमलटारी, सिघ्रौलीदेखि पिठौली, पिठौलीदेखि अमलटारी र अमलटारीदेखि त्रिवेणी गण्डक ब्यारेजसम्म गरी चार समूहमा चरा गणना गरिएको हो। गत वर्षको तुलनामा यसवर्ष चराको संख्या घटेको प्रारम्भिक अनुमान गरिएको छ।

‘यस वर्ष पनि समग्रमा चराको संख्या घटेको पायौँ,’ उनले भने, ‘प्रत्येक वर्ष नेपालमा क्रमिक रूपमा चराको संख्या घटिरहेको छ।’ साइबेरियालगायत उत्तरी गोलार्धबाट चिसो छल्न यहाँ आउने पाहुना चरामध्ये यस वर्ष सबैभन्दा धेरै संख्यामा खोया हाँस देखिएका उनले बताए।

‘कुनै प्रजातिका चरा गत वर्षभन्दा बढी र कुनै प्रजातिका चरा गत वर्षको तुलनामा न्यून देखिएका छन्,’ चौधरीले भने, ‘यस क्षेत्रमा चखेवा, खोया हाँस, जलेवा र पानी गौथली चरा धेरै पाइने गरेका छन्।’ निकुञ्जसहित नारायणी नदी र सिमसारमा पाइने रैथाने चराको संख्यामा भने खासै फरक नदेखिए पनि आगन्तुक चराको संख्यामा धेरै नै कमी आएको चौधरीले भने।

प्रकाशित: २७ पुष २०७९ १६:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + eight =