एमाले फर्कने वामदेवको ‘असफल’ प्रयत्न

किरण पौडेल २५ वैशाख २०८१ १३:५२
28
SHARES
एमाले फर्कने वामदेवको ‘असफल’ प्रयत्न

काठमाडौँ– नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले फेरि पटक पार्टी राजनीतिमा फर्किने प्रयत्न गरेका छन्। लामो समय कम्युनिस्ट पार्टीको विवादका कारण मौन बसेका उनी पछिल्लो समय एमालेमा फर्किन तयार भएका हुन्।

यही प्रयत्नस्वरूप सोमबार उनले एमालेको पार्टी कार्यालय च्यासलको एक कार्यक्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग अनुनयन गरे। ‘सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ’ विमोचन कार्यक्रममा सहभागी हुन च्यासल पुगेका गौतमले आफूलाई एमालेमा प्रवेश गराए ६० लाख मत ल्याउन लागिपर्ने बताए।

गौतमले आफू एमालेमा आउँदा ओलीको भाग नखोस्ने पनि प्रतिबद्धता जनाए। ‘म एमालेमा भाग खान, खुट्टा तान्न आउने होइन, काम गर्न आउने हो,’ गौतमले भने, ‘विगतमा मबाट गल्ती भयो। म स्वीकार्न तयार छु। अहिले महसुस भयो।’

गौतमले आफूले एमालेको ‘हाइकमान्ड’ बैठकको निर्णय कुरिरहेको बताए। गौतमको यस्तो अभिव्यक्तिपछि अध्यक्ष ओलीले वामदेवको ‘एकताको भावना सकारात्मक रहेको’ प्रतिक्रिया दिए।

ओलीले आफ्नै प्रयत्नले २०७५ सालमा वाम एकता गर्न सफल भएको पनि सम्झिए। ‘आफैँले कम्युनिस्ट एकता गरियो। तर बचाउन सकिए’, ओलीले भने। उनले घुमाउरो शैलीमा त्यसबेला वामदेवसहितका नेताले गल्ती गरेको बताए।

यसरी किनारा लागेका थिए गौतम

पार्टीभित्र अनेक विवाद उत्पन्न भएपछि तत्कालीन प्रधानमन्त्री ओलीले ०७७ पुस ५ मा प्रतिनिधिसभा विघटन गरे। त्यसबेला एमाले–माओवादीसहितको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बहुमतको सरकार थियो।

पार्टीको सचिवालयमा ओली, प्रचण्ड, झलनाथ खनाल, वामदेव गौतम (उपाध्यक्ष), विष्णु पौडेल (महासचिव), ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ (प्रवक्ता), रामबहादुर थापा ‘बादल’ थियो। ओली पक्षमा पौडेल र पोखरेल रहँदा अर्कातिर बहुमत सदस्य रहन्थे।

गौतममाथि दुवै समूहको बीचमा बसेर फाइदा लिएको आरोप लाग्थ्यो। सचिवालयमा गौतम जता लाग्यो त्यता बहुमत पुग्ने अवस्था थियो। यही कारण गौतम सचिवालय सदस्यबाट पार्टी उपाध्यक्षसमेत बनेका थिए। संसद् विघटनपछि पनि गौतमले यही शैली अपनाए।

गौतम ओली र प्रचण्ड कुनै गुटमा लागेनन्। नेकपामा ओली पक्ष र प्रचण्ड–नेपाल पक्ष थियो। गौतम कतै खुलेनन्। ओलीले दोस्रो पटक पनि संसद् विघटन गरे। सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने गरी परमादेश जारी गर्‍यो। गौतम यसबेला पनि कतै खुलेनन्। ओलीको सरकार ढल्यो। त्यसपछि २०७७ फागुन २३ मा सर्वोच्च अदालतले नेकपालाई पूर्ववत् बनाइदियो।

नेकपा एमाले र माओवादी पहिलेको अवस्थामा फर्किए। गौतम एमाले फर्किन चाहन्थे तर माधव नेपाल समूह एमालेबाट बाहिरियो। गौतम नेपाल समूहलाई मिलाउने चक्करमा लागे। उनले ‘नेकपा एकता महाअभियान’ चलाए। अभियानमा गौतमले केही गर्न सकेनन्।

अन्ततः केही नेताले गौतमलाई नै अभियानबाट निकालिदिए। अहिले पनि गौतम त्यही अभियानमा छन्। उनको अभियानको प्रगति शून्य छ तर उनले चाहेका नेकपा एमाले–माओवादीसहित एकीकृत समाजवादी सत्ता सहकार्यमा छन्। सबै वामपन्थी शक्ति एक हुँदा गौतम भने पार्टी र सत्ताबाहिर छन्।

ढुलमुले र अति महत्त्वाकांक्षी

एमाले नेताहरू भन्ने गर्छन्– वामदेव गौतमले बिहान एउटा कुरा गरे भने दिउँसो अर्कै कुरा गर्छन्, अनि बेलुका अर्कै कुरा। गौतमको बोली एकदमै परिवर्तन भइरहन्छ। उनको स्वभाव पनि उस्तै छ। सोही कारण नेकपाकालमा पनि उनी कसैको नजिक हुन सकेनन्।

गौतमले एकीकृत समाजवादीमा प्रवेश गर्ने प्रयत्न नगरेका होइनन्। समाजवादीको नेपाल पक्ष गौतमलाई प्रवेश गराउन सकारात्मक भए पनि झलनाथ खनाल पक्षधरले चासो दिएन। गौतम जनताको बहुदलीय जनवाद (जबज) का पक्षधर हुन्।

यसपछि गौतम आमचुनावका समयमा माओवादीबाट चुनाव लड्न सहमत भए तर अन्त्यमा माओवादी तत्कालीन कांग्रेस गठबन्धनबाट लड्ने भएपछि गौतम पछि हटे। गौतमले प्युठानबाट चुनाव लड्न चाहेका थिए। तर सत्ता गठबन्धनमै रहेको जनमोर्चाले उम्मेदवार उठाउने भएपछि गौतमले अवसर पाएनन्।

जनमोर्चाले दुर्गा पौडेललाई उम्मेदवार बनायो भने गौतम चुनाव लड्नै पाएनन्। यसपछि उनले निरन्तर एमालेसँग संवाद गरे। एमालेमा भित्रिन उनी ओली निवास बालकोट पनि पुगे। तर ओलीसँग कुरा नमिल्दा प्रवेश पाएनन्।

‘नेकपाकालको सबै विवाद वामदेवकै कारण भएको हो भन्ने कुरा ओलीले गरे। मैले मानिनँ,’ त्यसबेला गौतमले हिमाल प्रेससँग भनेका थिए, ‘सबै दोष खन्याउन मिल्दैन भनेपछि छुट्यौँ।’

एमालेका नेताहरू गौतमलाई महत्त्वाकांक्षी मान्छन्। उनी पदमा लोभिरहन्छन्। नेकपाकालमा प्रधानमन्त्री बन्न अनेक प्रयत्न गरे। २०७४ सालको चुनावमा बर्दिया १ बाट चुनाव हारेपछि गौतम संसद् भवन प्रवेश गर्न पाएनन्। उनी यही विषयलाई पार्टीमा एजेन्डा बनाउँथे। एमालेका नेताले चुनाव हराएको उनी आरोप लगाउँथे।

उनले निरन्तर यो विषय उठाएपछि तत्कालीन नेकपाले उनलाई राष्ट्रियसभामा मनोनीत ग¥यो। यसपछि त गौतम झनै पदमा लोभिन थाले। उनले राष्ट्रियसभामा निर्वाचित सांसदले प्रधानमन्त्री बन्न पाउने व्यवस्था गर्नुपर्ने अडान राखे। यद्यपि संविधान संशोधन भएन।

यसबीचमा प्रतिनिधिसभा सदस्य बन्न गौतमले प्रत्यक्ष निर्वाचित सांसदलाई राजीनामा गराएर उठ्ने प्रयत्न पनि गरे। तर यो रणनीति सफल भएन।
एमाले नेता भानुभक्त ढकाल भन्छन्,‘पदलोलुप भएमा एमालेमा आउने सम्भावना छैन। पद त्याग्नुपर्छ।’

ओली चाहँदैनन् वामदेव भित्र्याउन

वामदेव जति चाँडो एमाले बन्न चाहिरहेका छन्। उनले सोमबारको भाषणको अन्तिममा भने, ‘तपाईँहरू अध्यक्षलाई मलाई एमालेमा भित्र्याउन दबाब दिनुहोस्।’ ओली तत्काल वामदेव भित्र्याउने योजनामा नरहेको उनी निटक नेताहरू बताउँछन्। नेताहरूका अनुसार  एमालेमा गौतमको चर्चा छैन। एमालेका कतिपय नेताहरू त गौतम प्रवेश गर्ने विषय यसअघि नै सकिएको बताउँछन्।

उपमहासचिव प्रदीप ज्ञवालीले एमालेमा वामदेव प्रवेश गराउने छलफल नचलेको बताए। गौतमले ओलीपछि वरीयतामा मात्र एमालेमा आउन सक्ने बताउँदै आएका छन्। तर ओली सोही वरीयता दिन तयार छैनन्। एमाले निकट स्रोतका अनुसार उपाध्यक्षभन्दा माथि पद दिन नसकिने ओलीको बुझाइ छ। एमाले प्रवेश गर्नुपूर्व नै वरीयता रोजेकाले पनि गौतमलाई एमाले प्रवेश गराउन ओली सकारात्मक छैनन्।

७५ वर्षीय गौतम निकटका कार्यकर्ता तितरबितर भएका छन्। एमाले नेताहरूका अनुसार ‘सेनाबिनाको सेनापति’ बनिरहेका गौतमलाई प्रवेश गराउँदा पार्टीलाई फाइदा हुने देखिँदैन। उनीहरूको बुझाइमा एमालेमा प्रवेश गर्ने गौतमको असफल प्रयास हो।

एमाले नेता ढकालले गौतम हुँदाको एमाले र अहिलेको एमाले फरक रहेको बताए। ‘अब एमालेमा बार्गेनिङ चल्दैन। एमाले एकता चाहने हो भने प्रवेश गरे हुन्छ तर बार्गेनिङ गरेर हुँदैन’, ढकाल भन्छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − two =