प्रचण्डमाथि चित्रबहादुरको कटाक्ष : पुस ८ गते पानी खादैँ गठबन्धनको कुरा गरियो, १० गते त कता गयो कता?

हिमाल प्रेस २५ पुष २०७९ १५:३४
12
SHARES
प्रचण्डमाथि चित्रबहादुरको कटाक्ष : पुस ८ गते पानी खादैँ गठबन्धनको कुरा गरियो, १० गते त कता गयो कता?

काठमाडौँ- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्काएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि कटाक्ष गरेका छन्।
निर्वाचनपछिको पहिलो संसद् बैठकलाई सम्बोधन गर्दै केसीले पहिलेको र अहिलेको गठबन्धन केको लागि भन्दै प्रश्न गरेका हुन्।

‘भत्काउन गठबन्धन भएको हो? पुस ८ बजेसम्म पानी खाँदै कुरा गरेका छौँ। १० गते त कता गयो कता? जुनसुकै हालतमा सरकारमा जानुपर्छ चुनावमा खर्च गरेको पैसा उठाउनुपर्छ भन्ने भएपछि गठबन्धन किन गर्ने?,’ उनले भने, ‘यो कुराबाट जनता खुसी छैन। जहाँ पनि सेटिङ हुन्छ। न्यायपालिका, निर्वाचन आयोगमा सेटिङ छ। यो देशमा नेताले के गर्छन् भन्ने आशा नै छैन। बिहान एयरपोर्टमा जाउँ त दिनहुँ मान्छे बाहिर गइरहेका छन्। यही हो हामीले कारखाना खोलेको?’

केसीले देश ‘सेटिङ’मा चलेको भन्दै आपत्ति जनाए। उनले यसअघिको निर्वाचनमा पनि सामाजिक विकास, आर्थिक विकासबाट देशलाई माथि लैजाने भनेर रोस्टमबाट बोले पनि व्यवहार त्यस्तो नभएको बताए।

‘पहिलो चुनावमा आर्थिक, सामाजिक विकास धेरैमाथि लैजाने भनेर भनियो कबुल गरियो। यो रोस्टमबाट कालाबजारीलाई संरक्षण, सेटिङमा राज चलाउनुपर्छ भनेर कसैले भनेको छैन,’ उनले भने, ‘यसपटकसहित म चारपटक यहाँ छु। जसले पनि यहाँ चिल्ला मिठा कुरा गरे यो कुरा जनताले सुनिरहेका छन्। अहिले पनि मुलुकको अर्थतन्त्र डामाडोल भएको कुरा सबैलाई थाहा छ।’

संविधान निर्माणताका देशलाई स्वीजरल्यान्ड बनाउने भनेको तर भएको उद्योग नै बन्द गर्न नेतृत्वकर्ता अग्रसर भएको आरोप पनि उनले लगाए।

‘संविधान बनाउदाका बखत् स्वीजरल्यान्ड बनाउने भनियो। भयो त त्यस्तो?? भएका उद्योग बन्द गर्ने। संघीयताको नाममा कारखाना सांसदको मन्त्रीको खोलियो। अनि देशले बन्छ?,’ उनले थपे, ‘कुन प्रधानमन्त्रीले मन्त्रीले भ्रष्टाचार गर्नुपर्छ भन्छर? सिद्धान्त नीति सकिसक्यो। अहिलेको जस्तो चुनाव पहिले कहिल्यै थिएन। अहिले पनि राजनीति पार्टीप्रति, नेता, सांसद मन्त्रीप्रति जनताको आश छैन। यही चरित्र कायम राखौँ भने हामीले देश जोगाउन सक्दैनौँ। संघीयता जोगाउन सक्दैनौँ।’

उनले अहिलेको संघीयता देखेर सांसद मन्त्री बन्न पाएकाहरूबाहेक जनता पीडामा रहेको पनि बताए। ‘सांसद मन्त्री बनाउन पाएकोमा दिल खुसी त होला तर त्यसको मारबाट थिचिएको पीडामा छन्। मैले ढाँटेर कुरा गरेको छैन’ उनले भने।

 

प्रकाशित: २५ पुष २०७९ १५:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − fifteen =