सरकारले व्यवसायीको समस्या समाधान गर्छ : मन्त्री राई

हिमाल प्रेस २३ पुष २०७९ १३:०३
6
SHARES
सरकारले व्यवसायीको समस्या समाधान गर्छ : मन्त्री राई

काठमाडौँ- विना विभागीयमन्त्री राजेन्द्रकुमार राईले नयाँ सरकारले व्यवसायीको समस्या समाधान गर्ने बताएका छन्।
राष्ट्रिय व्यापार संघको १८औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उनले व्यवसाय क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ सरकार कटिबद्ध रहेको बताएका हुन्।

‘हामी समृद्धिको यात्रामा छौँ, व्यवसायीले तिरेको करबाट मुलुक चलेको हो, व्यवसायीको समस्या समाधान गर्न नयाँ सरकार कटिवद्ध छ’, उनले भने। मन्त्री राईले मुलुक धनी बनाउने जिम्मा सबैको भएकाले सरकारलाई सहयोग गर्न व्यवसायीलाई आग्रहसमेत गरे। गरिब देशको अर्थतन्त्रलाई सुदृढ बनाउन सबैको सहयोग आवश्यक रहेको उनको भनाइ छ।

आन्तरिक राजस्व कार्यालय न्यूरोडका प्रमुख शशि भट्टले व्यापार संघले सरकार र निजी क्षेत्रबीच पुलको काम गर्दै आएको बताए। उनले बजारमा चोरीपैठारी बढेको भन्दै यसलाई नियन्त्रण गर्न सरकारले अनुगमनको कामलाई कडाइ गरेको बताए। कानुनी दायरामा रहेर व्यापार गर्न उनले व्यापारीलाई आग्रह गरे।

नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष दीपक मलहोत्रा अस्थिर सरकारका कारण नेपालको अर्थतन्त्रले गती लिन नसकेको बताए। ‘बैंकबाट चर्को ब्याज लिएर व्यापार गर्नसक्ने अवस्था छैन, यसमा सरकारले विशेष ध्यान दिनुपर्छ’, उनले भने। जबसम्म व्याजदर घट्दैन तबसम्म व्यापार गर्न नसक्ने उनको भनाइ छ।

हस्तकला संघ बागमती प्रदेशका अध्यक्ष होमनाथ उपाध्यायले भूकम्प, नाकाबन्दी र कोरोनाका कारण थला परेको नेपालको अर्थतन्त्रलाई पुनरुत्थान गर्न नयाँ सरकारले नयाँ कार्यक्रम अगाडि सार्नुपर्ने बताए।

नेपाल हिमालय सीमापार व्यापार संघ अध्यक्ष अशोककुमार श्रेष्ठले बैंक तथा वित्तीय संस्थाले ब्याज चर्को बनाउँदा व्यवसायी मर्कामा परेको बताए। सरकारले नेपाली साना व्यवसायीलाई सस्तो ब्याजदरमा पैसा उपलब्ध गराउन सकेमात्र काम गर्न सकिने उनको भनाइ छ।

प्रकाशित: २३ पुष २०७९ १३:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − nine =