एमाले सांसद राईले मागे गृहमन्त्रीको राजीनामा

हिमाल प्रेस १६ पुष २०८० १०:५६
4
SHARES
एमाले सांसद राईले मागे गृहमन्त्रीको राजीनामा

काठमाडौँ- नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन्।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा उनले गृहमन्त्री श्रेष्ठलाई तत्काल राजीनामा दिन आग्रह गरेका हुन्।

‘मन्त्रीज्यू, सबैभन्दा राम्रो कुरा तपाईंले राजीनामा दिनुस्। राजीनामा दिनुपर्‍यो नि! विदेश गएर काम गरी खान्छु भन्नेलाई ताकीताकी गोली हानेपछि तपाईंले राजीनामा नदिए कसले दिने?’ सांसद राईले बैठकमा भने।

उनले सुरक्षा प्रमुखहरूले ललितपुरको बालकुमारीमा दुईजना युवाको ज्यान जाने गरी भएको घटनामा स्पष्ट कुरा नराखेको पनि बताए।

राईले प्रश्न गरे,‘समस्या देखिएपछि गम्भीर रूपमा लिएर समाधान गर्नुपर्छ कि गोली हान्नुपर्छ? ठाउँको ठाउँ गोली हानेर मानिस मार्न मिल्छ?’

शुक्रबार बालकुमारीमा भएको प्रदर्शनमा दैलेखको महाबु गाउँपालिका-६ रानीवनका २३ वर्षीय सुजन राउत र अछामको चौरपाटी गाउँपालिका-१ सिउँडीका २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो। उनीहरू दुवै कोरियन भाषा अध्ययन गरिरहेका थिए।

सरकारले मृतकका परिवारलाई १०/१० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने र उनीहरूको शव परिवारले भनेकै ठाउँमा पुर्‍याउने निर्णय गरिसकेकाे छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 7 =