विज्ञापन बोर्डलाई स्वायत्त निकाय बनाउन माग

हिमाल प्रेस २१ पुष २०७९ १४:५५
विज्ञापन बोर्डलाई स्वायत्त निकाय बनाउन माग

काठमाडौँ– नेपाल विज्ञापन संघका अध्यक्ष सोम धितालले विज्ञापन बोर्डलाई स्वायत्त निकाय बनाउन माग गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित विज्ञापन बोर्डको कार्यक्षेत्र र विज्ञापन एजेन्सीको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो माग गरेका हुन्।

अध्यक्ष धितालले विज्ञापनसम्बन्धी सानातिना टिप्पणी लिएर मन्त्रालय धाउनुपर्ने व्यवस्थाको अन्त्य गर्न पनि आग्रह गरे। विज्ञापन बोर्डमा बजेटको अभाव भएको भन्दै सरकारले बजेट अभावलाई पूर्ति गर्न आवश्यक रहेको बताए।

उनले व्यवसायलाई नियमन गर्ने, विज्ञापन क्षेत्रको बढोत्तरी गर्ने, विज्ञापन व्यवसायलाई परिष्कृत गर्ने र उन्नतस्तरको विज्ञापन क्षेत्र बनाउन बोर्डले आवश्यक भुमिका खेल्नुपर्ने उल्लेख गरे। विज्ञापन बोर्डले आफ्ना पूर्वाधार निर्माण गरी व्यवसायीहरूसँग मिलेर अघि बढ्नुपर्ने बताउँदै विज्ञापनमा विज्ञापन बोर्ड प्रत्यक्ष सहभागी बन्नु नहुने उनको भनाइ छ।

‘विज्ञापन क्षेत्रमा रहेका सबैले एउटै धारणा बनाएर जानसके विज्ञापन व्यवसाय अझ बढी व्यवस्थित हुन्छ। सबैको साझा दस्ताबेजको रूपमा आचारसंहीता आएको छ। एउटा अलिकति गलत सूचना भयो कि जस्तो लाग्यो। बोर्डलाई स्वायत्त बनाइयोस् भन्नेकुरा उठेको छ। बोर्ड स्वायत्त छ। बोर्डको निर्णयमा मन्त्रालयको हस्तक्षेप छैन,’ उनले भने, ‘बजेट सरकारले उपलब्ध गराउने भएकाले कुनै न कुनै हिसाबमा आर्थिक हिसाबमा सरकारको नियन्त्रण छ। तर ऐनमा सरकारी विज्ञापन दिँदा नै तीन प्रतिशत काटेर विज्ञापन बोर्डमा जम्मा गर्नुपर्ने व्यवस्था छ। त्यो भनेको भोलिका दिनमा उसलाई सरकारले पैसा दिनु पर्दैन। आर्थिक हिसाबमा पनि स्वतन्त्र हुनेछ। कुनै पनि निर्णयको लागि फाइल लिएर आउनुपर्दैन। मैले त्यस्तो गरेको छैन।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + fourteen =