गगन थापाको प्रश्न : गठबन्धन जोगाउन नसक्नेले हामीलाई दोष दिने?

हिमाल प्रेस २० पुष २०७९ १९:११
224
SHARES
गगन थापाको प्रश्न : गठबन्धन जोगाउन नसक्नेले हामीलाई दोष दिने? फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धन जोगाउन खोज्दा भत्काउन खोजेको आरोप लागेको भन्दै खण्डन गरेका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा थापाले गठबन्धन जोगाउने विषयमा कुरा गर्न खोज्दा सभापति शेरबहादुर देउवाले आवश्यक पर्दा बोलाउने र आफैँ सबै व्यवस्थापन गर्ने जवाफ दिएको बताएका हुन्।

उनले आफूहरूलाई गठबन्धन भत्काउन चाहेको तर सकेनौँ भनेर भन्नेहरू अहिले पनि तिमिहरूले टुटाएको भनेर आरोप लगाउने गरेको गुनासो गरे। ‘गठबन्धन सफल हुँदा तिमिहरूले फुटाउन भत्काउन सकेनौ भनेर भनियो। अहिले भत्केपछि तिमिहरूले भत्कायौ भनिएको छ,’ थापाले भने, ‘गठबन्धनको व्यवहारको जिम्मा लिएका नेताहरूले बिग्रिएपछि पन्छिने काम भयो। नसके सकिनँ भन्नुपर्‍यो। गठबन्धनको व्यवहार सीमित नेताहरुले मात्र गर्नुपर्छ भन्नेगरी व्यवहार भयो। हामीहरु गठबन्धनको विरुद्धमा रहेको ट्याग लागेकाले अलग रहने कुरा भयो। हाम्रो कुरा राख्न चाहन्थ्यौँ, विभिन्न माध्यमबाट आफ्ना कुरा राख्यौँ। त्यतिबेला गठबन्धनको कुरा दुई–तीन जना नेताले गर्नुपर्छ भनियो। वार्ता गरिरहेका छौँ भनियो।’

थापाले गठबन्धन जोगाउनैका लागि चुनावमा टिकट वितरणदेखि नै ध्यान दिएको पनि बताए। सभापति देउवाले सबै काम आफैँ गर्छु भन्दा बिग्रेको उनको आरोप छ। ‘पार्टी सभापतिले सबै कुरा म गर्छु भनेपछि हस्तक्षेप कसरी गर्ने? टेलिफोन गर्दा के के काम गर्नुपर्छ भनेँ। भएका सूचना र अवस्थाको ब्रिफिङ गरेँ। म पर्यो भने बोलाउँछु भनेपछि गर्ने के?’ उनले भने।

प्रकाशित: २० पुष २०७९ १९:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =