गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा, मन्त्रिपरिषद्‌ विस्तारलगायतका विषयमा छलफल

हिमाल प्रेस २० पुष २०७९ १७:१३
48
SHARES
गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा, मन्त्रिपरिषद्‌  विस्तारलगायतका विषयमा छलफल

काठमाडौँ- सत्ता गठबन्धन दलका शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल सुरु भएको छ। पछिल्लो राजनीतिक घटनाक्रम, मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल गर्न नेताहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भएका हुन्।
छलफलमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी छन्।

गठबन्धन बैठकअघि प्रचण्डले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग सरकारमा सहभागी हुने विषयमा छलफल गरेका थिए। नेपालसँग भएको छलफलबारे पनि प्रधानमन्त्री प्रचण्डले गठबन्धनका नेताहरूलाई जानकारी गराएका छन्। प्रचण्डले पुस २६ गते संसद्‌मा विश्वासको मत लिने कार्यसूची छ। त्यसअघि सरकारलाई समर्थन गरेका तर सहभागी नभएका दललाई पनि सहभागी गराउने रणनीति ओली र प्रचण्डको छ।

राप्रपा र जसपाले सरकारलाई समर्थन गरे पनि सहभागी हुने निर्णय गरिसकेका छैनन्। दुवै दलले सरकारमा सहभागी हुन विभिन्न शर्तहरू अघि सारेका छन्। उता एकीकृत समाजवादीले भने अहिले नै सरकारमा सहभागी हुने र समर्थन गर्न नसक्ने बताउँदै आएको छ।

प्रकाशित: २० पुष २०७९ १७:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 19 =