बन्द भएको १२ वर्षपछि सुर्खेत घण्टाघरको घडी फेरिँदै

हिमाल प्रेस १९ पुष २०७९ १८:३६
4
SHARES
बन्द भएको १२ वर्षपछि सुर्खेत घण्टाघरको घडी फेरिँदै

सुर्खेत- सुर्खेतको वीरेन्द्रनगरमा रहेको घण्टाघरमा १२ वर्षपछि घडी फेरिँदैछन्। बन्द रहेका पुराना घडी हटाएर नयाँ घडी राख्न थालिएको हो।

सुर्खेत उद्योग वाणिज्य संघको पहलमा वीरेन्द्रनगर नगरपालिकाले १२ लाख रूपैयाँको लागतमा नयाँ घडी जडान गर्न लागिएको छ।

घण्टाघरको संरक्षणको जिम्मा वीरेन्द्रनगर नगरपालिकाको भए पनि पुराना घडीहरू मर्मतसम्भार हुन नसकेपछि विदेशबाट नयाँ घडी मगाएर जडान कार्य सुरु भएको हो।

नयाँ घडी जडान गर्न प्राविधिक टोलीले घण्टाघरका पुराना घडीलाई विस्थापित गरी नयाँ जडानको तयारी सुरु गरिसकेको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीले जानकारी दिए।

घण्टाघरको घडीको सुई विगत १२ वर्षदेखि रोकिएको छ। २०४५ सालमा चीन सरकारको सहयोगमा बनेको घण्टाघरको सुईले स्थानीयलाई समय हेर्न सहज बनाएको थियो।

घण्टाघरमा प्रत्येक घण्टामा धुन बज्थ्यो र घडीको सुई घुमेको थाहा हुन्थ्यो। घण्टाघरको सुई बन्द हुँदा घण्टाघरको पहिचान नै सकिएको स्थानीयले गुनासो गर्दै आइरहेका छन्।

कर्णाली प्रदेशको पहिचानका रूपमा रहेको घण्टाघर सुर्खेतको प्रमुख पर्यटकीय गन्तव्यसमेत हो।

प्रकाशित: १९ पुष २०७९ १८:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =