अनलाइनमा एउटा घडी बेचेर सुरु भएको व्यवसाय पुग्यो एक करोडको

हिमाल प्रेस १० फागुन २०७९ १८:११
834
SHARES
अनलाइनमा एउटा घडी बेचेर सुरु भएको व्यवसाय पुग्यो एक करोडको फोटो- दिपेश श्रेष्ठ/हिमाल प्रेस

काठमाडौँ- सन् २०२१ नोभेम्बरमा रजनी श्रेष्ठले ‘समय वाच डटकम’ सुरुवात गरिन्। इन्स्टाग्राम, फेसबुकलगायत सामाजिक सञ्जालमा घडीको फोटो, मूल्य राखेर माग भए घरसम्मै पुर्याइदिने सूचना राखियो। बेच्न राखिएको घडीको ब्रान्ड थियो– समय वाच । जुन श्रेष्ठ आफैँले सुरु गरेकी हुन्।

‘समय वाच’को सुरुवात गर्नुअघि उनले केही समय बजार अध्ययन गरेकी थिइन्। जसले नेपालमा घडीका सौखिनको संख्या ठूलो रहेको पत्ता लाग्यो। ‘घडी समयसँग मात्रै सीमित नभएर मानिसको रहरसँग जोडिएको पाइयो,’ उनी भन्छिन्, ‘यसले गर्दा समय वाच सुरु गर्ने आँट आयो।’ तर घडीका सौखिनका लागि नेपाली ब्रान्डमा त्यति धेरै विकल्प थिएनन्। सीमित संख्यामा मात्रै नेपाली ब्रान्ड रहेको पाइएपछि श्रेष्ठ आफैँले नेपाली घडी बनाउने सोच बनाइन्।

तर बजार त्यति राम्रो थिएन। कोरोना महामारीले विश्व बजार नै थलिएको थियो। आर्थिक मन्दी उस्तै। जसले गर्दा एकैपटक ठूलो लगानी गर्दा हुने जोखिम पनि ख्याल गर्दै श्रेष्ठले २० लाख लगानी गरिन्। घडीका लागि आवश्यक कच्चापदार्थ चीन, जापान, भारतलगायत देशबाट मगाइन्। वुडन वाचमा प्रयोग हुने काठ अफ्रिकाबाट आयो। समय वाचमा प्रयोग हुने कच्चापदार्थ अहिले पनि यी देशबाटै आउँछ। त्यसपछि नेपालमै एसेम्बल गरेर घडी तयार भयो। बिक्रीका लागि अनलाइनमा राखियो। श्रेष्ठ भन्छिन्, ‘भोलिपल्टै १७ हजार रुपैयाँ पर्ने घडीको अर्डर आयो।’

सुरु गरेकै भोलिपल्ट व्यापार भएपछि श्रेष्ठ उत्साहित भइन्। बिस्तारै काठमाडौँ उपत्यकाबाहिरबाट समेत माग आउन थाल्यो। सुरुवातमा घडीका १० मोडल ल्याइएको थियो। अहिले १२ वटा छन्। समय वाचले एभरेष्ट, पंक्षी, चन्द्र, वायु, कर्म, जुपिटर, युनिभर्सलगायत मोडलका घडी बेचिरहेको छ।

त्यसमा ग्राहकको रोजाइ र छनोटअनुसार मोडल परिवर्तन गर्दै गइरहेको समय वाचकी सञ्चालक श्रेष्ठ बताउँछिन्। ‘हामी एक पटकमा सीमित घडी मात्रै बजारमा पठाउँछौँ,’ उनी भन्छिन्, ‘एउटा मोडलका बढीमा २०० वटासम्म घडी बजारमा जान्छन्।’ उनका अनुुसार समय वाचका घडी नेपालीले मात्रै नभएर विदेशीहरूले पनि उत्तिकै मन पराएका छन्।

अनलाइनबाट राम्रै सफलता हात लागेपछि श्रेष्ठले ‘समय वाच’को सोरुम ठमेलस्थित छाया सेन्टरमा राखेकी छन्। उनका अनुसार हालसम्म यसको लगानी एक करोड माथि पुगेको छ। अहिले सोरुम र अनलाइन दुवैबाट उत्तिकै व्यापार भइरहेको छ। ‘अनलाइनमा हेर्ने, यहाँ आएर किन्नेको संख्या ठूलो छ,’ श्रेष्ठ भन्छिन्, ‘अनलाइनबाटै अर्डर गर्नेहरू पनि उत्तिकै हुनुहुन्छ।’

समय वाचले बेचिरहेकामध्ये स्टील घडीमा दुई वर्ष र ‘वुडन’मा एक वर्ष वारेन्टी छ। समय वाचका ८ हजारदेखि २२ हजार रुपैयाँसम्म पर्ने घडी छन्। बजार सन्तोषजनक रूपमा अगाडि बढिरहेको भए पनि श्रेष्ठ तत्कालै धेरै ठाउँमा आफ्नै सोरुम वा फ्रेन्चाइज स्टोर खोल्ने सोचमा छैनन्। उनी भन्छिन्, ‘उत्पादन सीमित गर्ने भएकाले धेरै ठाउँमा राख्न सक्ने अवस्था छैन। तर बिस्तारै फ्रेन्चाइज मोडलमा जानु नै पर्ला।’

प्रकाशित: १० फागुन २०७९ १८:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =