सुर्खेत घण्टाघर : सुई नसर्दा मेलो नसरे जस्तो लाग्थ्यो

रमा केसी २५ पुष २०७९ १२:१६
40
SHARES
सुर्खेत घण्टाघर : सुई नसर्दा मेलो नसरे जस्तो लाग्थ्यो तस्बिरः रासस

कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगर। यहाँका मुख्य आकर्षणमध्ये एक हो, घण्टाघर। २०४५ सालमा चीन सरकारको सहयोगमा बनेको यो घण्टाघरको घण्टी अर्थात् घडीको सुई केही दिनअघिसम्म ठप्प थियो।

१२ वर्षयता रोकिएको घण्टाघरको समयले अब भने गति लिएको छ। घण्टाघरमा चारैतिर अर्थात् चारै दिशामा एकएक वटा घडी छ। घडीको सुईसँगै त्यहाँका बासिन्दाले आफ्नो जीवनले पनि गति लिएको महसुस गरिरहेका छन्।

पर्यटकीयस्थलका रूपमा प्रख्यात घण्टाघर परिसरमा पार्क, हललगायत छन्। दुर्लभ र थरीथरीका चरा पनि त्यहाँ राखिएका छन्। पार्कमा बालबालिकाका लागि खेल मैदानसमेत छ।

छेउछाउमा धेरैथोक भए पनि घडी बिग्रिँदा घण्टाघरको सुन्दरता नै हराएको जस्तो महसुस गर्थे स्थानीय। ‘घडीले कति बज्यो भनेर जनाउ घण्टी बजाउँथ्यो,’ स्थानीय भद्रबहादुर थापाले भने, ‘घडी नै बिग्रिँदा घण्टाघरको पहिचान हराएको थियो।’

९० वर्षीय थापा वीरेन्द्रनगर-६ मा बस्छन्। ‘हामी घण्टाघरको बाटो भएरै काममा जान्थ्यौँ,’ उनले भने, ‘घडीको सुई नसर्दा हाम्रो पनि मेलो सरेन जस्तो लाग्थ्यो।’

हातहातमा मोबाइल, घरघरमा टीभी, कम्प्युटर, ल्यापटपजस्ता विद्युतीय सामान नभएको बेला यस घण्टाघरको महत्त्व निकै रहेको थापा बताउँछन्। ‘घडीको घण्टीले समयको अड्कल दिन्थ्यो,’ उनले भने,‘त्यसको ध्वनिले बिछट्टै आनन्द दिन्थ्यो। त्यो नहुँदा हामी दिन र रातमात्र ठम्याउन सक्ने भएका थियौँ।’

१२ वर्षदेखि निदाएको घडी ब्युँझिएकोमा उनी खुसी छन्। ‘मोबाइलको जमाना भए पनि घडीको महत्त्व छुट्टै छ,’ उनले भने।

यतिका वर्षदेखि बन्द घण्टाघरको घडीका कारण वीरेन्द्रनगर-१ की नन्दकला खड्काले पनि हैरानी खेपकी थिइन्। ‘हातेघडीको कामै थिएन,’ उनले भनिन्, ‘घण्टाघरको घडीको घण्टीले नै समय बताइदिन्थ्यो। त्यो नहुँदा एकदमै अप्ठ्यारो भएको थियो। साँच्चै भन्ने हो भने वीरेन्द्रनगरको स्वरूप नै हराएको थियो।’

मर्मतसम्भारको अभावमा जीर्ण बन्दै गएको घण्टाघरको अवस्थाले वीरेन्द्रनगर-९ का ६५ वर्षीय सिन्धुराज श्रेष्ठलाई दुःखी बनाउने गर्थ्यो। तर, अब त्यसका अवस्था फेरिँदा उनले राहत महसुस गरेका छन्। ‘घण्टाघरमा नयाँ घडी जडान गर्न त्यहाँको अवस्थाबारे अवलोकन भएको खबर सुनेदेखि नै मन साह्रै फुरुङ भएको थियो,’ उनले भने, ‘कहिलेदेखि पहिलेजस्तै घण्टाघरको घण्टी सुन्न पाइएला भन्ने भइरहेको थियो।’

घण्टाघरको संरक्षणको जिम्मा वीरेन्द्रनगर नगरपालिकाको हो। तर, नगरपालिकबाट घण्टाघरको स्याहारसम्भारमा बेवास्ता हुँदै आएको स्थानीयको भनाइ छ। २०६७ सालमा परेको चट्याङले घण्टाघरको संरचनामा थप क्षति पुर्‍याएको थियो।
घण्टाघरको मर्मतसम्भारका लागि पर्यटन मन्त्रालयबाट बजेट विनियोजन नभएको होइन। तर, नगरपालिका र उपभोक्ता समिति कसले जिम्मा लिने भन्ने कुरामा अन्योल हुँदा काम हुन सकेन। बजेट ‘फ्रिज’ भयो।

कर्णाली प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा घण्टाघरको पार्क मर्मत र घडीका लागि ४५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। तत्कालीन भू तथा जलाधार व्यवस्थापन कार्यालयले पार्कको मर्मतका लागि ३० लाख रुपैयाँ र घडीका लागि भनेर १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।

घण्टाघर पार्कको कामको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि काम रोकिएको थियो। वन तथा वातावरण निर्देशनालयका जलाधर व्यवस्थापन अधिकृत शिखर चपाईंले पार्कको मर्मत तथा स्तरोन्नतिका लागि विनियोजन गरेको ३० लाख रुपैयाँ बजेटमध्ये २८ लाख ५० हजार रूपैयाँ खर्च भएको र घडी खरिदको प्रक्रिया नै सुरु नभएर बजेट फ्रिज भएको बताए। यस वर्ष भने प्रदेश सरकारले घण्टाघरका लागि बजेट विनियोजन गरेको छैन।

सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले वर्षौदेखि घण्टाघरको घडी बन्द देख्दा नरमाइलो लाग्ने गरेको बताए। ‘वर्षौंदेखि घडी बन्द भएको देख्दा तनाव हुन्थ्यो,’ उनले भने, ‘हरेक वर्ष घण्टाघरको लागि बजेट विनियोजन हुने,टेन्डर आह्वान हुने र काम नभएको देख्दा आजित भइसकेका थियौँ।’

नयाँ घडीका लागि पैसा नगरपालिकाको भए पनि आफूहरूले सहजीकरण गरेको उनले बताए। ‘नगरपालिका र घडी बिक्रेताबीच सहजीकरण गर्‍यौँ,’ उनले भने।

वीरेन्द्रनगर नगरपलिकाका उपप्रमुख नीलकण्ठ खनालले घण्टाघरमा नयाँ घडी जडानका लागि प्राविधिक टोेलीले स्थलमै आएर अवस्था अवलोकन गरेको बताए। ‘सबै सामान बाहिरबाट आएकाले काममा केही समय लाग्यो,’ उनले भने, ‘ढिलै भए पनि काम भएको छ।’

सुर्खेत वीरेन्द्रनगरको सान घण्टाघरको घडी १२ वर्षपछि चल्दा खुसी लागेको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत नरहरि तिवारीले बताए।

प्रकाशित: २५ पुष २०७९ १२:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =