मन्त्रालयको सभाकक्षमा तत्काल आपतकालीन द्वार बनाउन गृहमन्त्री रविको निर्देशन

हिमाल प्रेस १८ पुष २०७९ १४:२६
मन्त्रालयको सभाकक्षमा तत्काल आपतकालीन द्वार बनाउन गृहमन्त्री रविको निर्देशन

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयको सभाकक्षमा आपतकालीन द्वार (इमर्जेन्सी इक्जिट) तत्काल निर्माण गर्न निर्देशन दिएका छन्। सोमवार गृहमन्त्रालयमा बसेको २५ औं भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकमा उनले भूकम्पीय जोखिम न्यूनीकरण आफैँबाट शुरुवात गर्नुपर्ने बताए।

गृहमन्त्री लामिछानेले भूकम्पीय जोखिम न्यूनीकरणका लागि भवन निर्माणसम्बन्धी मापदण्ड पालना गराउने कार्यमा कडाइ गर्न पनि स्थानीय निकायहरूलाई आग्रह गरे। भवन निर्माणसम्बन्धी मापदण्डको पूर्णपालना गराउन सके भूकम्पीय जोखिम न्यूनीकरणका लागि धेरै ठूलो योगदान पुर्‍याउन सकिने उनको भनाइ थियो।

गृहमन्त्री लामिछानेले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विद्यालय, कलेज, पार्टी प्यालेस, सभाहलहरूको निर्माणमा ध्यान दिन पनि सचेत गराए। उनले भूकम्पीय जोखिम न्यूनीकरणको कामलाई प्रभावकारी बनाउन सूचना र प्रविधिको प्रयोगलाई बढावा दिनुपर्ने आवश्यक्ता समेत औँल्याए।

बैठकमा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले भूकम्पीय जोखिम न्यूनीकरणका लागि सबै स्थानीय तहले भवन निर्माण आचारसंहिता लागू गर्नुपर्ने बताए। उनले ललितपुर महानगरपालिकाले सो आचारसंहिताको पालनामा कडाइ गरेका कारण २०७२ सालको भूकम्पमा अन्य ठाउँमा भन्दा कम धनजनको क्षति भएको दृष्टान्तसमेत प्रस्तुत गरे।

‘ललितपुर महानगरपालिकाले यो भवन निर्माणसंहिता यो मुलुकमा पहिलो पटक लागू गर्‍यो। त्यसकारण २०७२ सालको भूकम्पमा मानवीय क्षतिको पनि कम भएको थियो। भौतिक संरचनाहरुको क्षति पनि कम भएको थियो’, मेयर महर्जनले भने, ‘तसर्थ, यो विषयवस्तुहरुलाई हामीले गम्भीरतापूर्वक लिएर अगाडि बढ्न सकेको खण्डमा क्षति न्यूनीकरण गराउन सकिन्छ । यसलाई सबै स्थानीय तहमा लागू गराउँदा राम्रो म्यासेज जान्छ।’

प्रकाशित: १८ पुष २०७९ १४:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 16 =