‘नफुर्किएको’ आर्सनलसँग दूरी कम गर्ने मौका गुमाएपछि ग्वार्डिओलाले भने, फुटबल यस्तै हो

हिमाल प्रेस १७ पुष २०७९ ९:१२
6
SHARES
‘नफुर्किएको’ आर्सनलसँग दूरी कम गर्ने मौका गुमाएपछि ग्वार्डिओलाले भने, फुटबल यस्तै हो

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा आर्सनलले च्याम्पियन म्यानचेस्टर सिटीमाथिको अग्रता बढाएको छ। शनिबार राति ब्राइटनलाई ४–२ ले पराजित गरेको आर्सनलको ४३ अंक छ भने सिटीले ३६ अंक बटुलेको छ। एभरटनसँग १–१ को बराबरीमा रोकिएपछि सिटीले शीर्षस्थानको आर्सनलसँग दूरी कम गर्ने मौका गुमाएको हो।

ब्राइटनको मैदानमा आर्सनलले पहिलो हाफमा दुई गोल गरेको थियो। बुकायो साकाले दोस्रो मिनेटमै गोलको खाता खोलेका थिए। ३९ औँ मिनेटमा कप्तान मार्टिन ओडेगार्डले आर्सनलको अग्रता दोब्बर बनाए। दोस्रो हाफ सुरु हुनसाथ आर्सनलले तेस्रो गोल थप्यो। एडवार्ड नेकेटियाले जारी लिगमा दोस्रो पटक गोल गरे।

ब्राइटनले ६५ औँ मिनेटमा पहिलो गोल फर्काएको थियो। काउरो मिटोमाले गोल गरेको ६ मिनेटपछि नै आर्सनलका गाब्रियल मार्टिनेलीले आर्सनलको चौथो गोल गर्न सफल भए। इभान फर्गुसनले ७७ औँ मिनेटमा ब्राइटनको दोस्रो गोल गरेपछि घरेलु समर्थकमा आशा पलाएको थियो। ८९ औँ मिनेटमा मिटोमाले व्यक्तिगत दोस्रो गोल गर्दा ब्राइटनले आर्सनल तर्सिएको थियो। तर त्यो गोलले मान्यता नपाएपछि आर्सनलले खेल ४–२ ले आफ्नो पक्षमा पार्‍यो।

मिकेल आर्टेटाको टिमका लागि यो लगातार पाँचौँ जित हो। गत सेप्टेम्बर ४ यता नहारेको आर्सनलको प्रशिक्षक आर्टेटा खुसीयाली मनाउने बेला नभइसकेको बताउँछन्। ‘हामी फुर्किने बेला भएको छैन। अझ लामो बाटो तय गर्नुछ,’ ब्राइटनमाथि जित दर्ता गरेपछि आर्टेटाले भने, ‘तर म खेलाडीको मेहनतबाट चाहिँ प्रशन्न छु। उनीहरु आफैँ के स्वीकार गर्छन् भने हामी योभन्दा राम्रो गर्नसक्छौँ।’

आर्सनलले आउँदो बुधबार तेस्रो स्थानको न्युकासल युनाइटेडको सामना गर्दैछ। यो खेलमा आफ्नो टिमले ब्राइटनसँग भन्दा राम्रो खेल्नुपर्ने आर्टेटाको भनाइ छ। ‘ब्राइटनलाई हराउन सजिलो छैन। हामीले कठिन जित हासिल गरेका छौँ। तर न्युकासलविरुद्ध आजको जस्तो खेलेर हुँदैन। अझ मेहनत गर्नुपर्छ,’ आर्टेटाले भने।

उता सिटी भने आफ्नै मैदानमा एभरटनसँग रोकियो। पहिलो हाफको २४ औँ मिनेटमा एर्लिङ हालान्डले गोल गरेर सिटीलाई अघि बढाएका थिए। तर एभरटन ६४ औँ मिनेटमा खेलमा फर्कियो। डेमाराई ग्रेले एकल प्रयासमा गोल गरेपछि इतिहाद रंगशाला स्तब्ध बनेको थियो। त्यसपछि अनेकौँ प्रयास गर्दा पनि सिटीले गोल थप्न सकेन।

सन् २०२२ को अन्तिम खेल जित्न नसकेपछि निराश बनेका सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले एभरटनको तारिफ गरे। ‘हामीले असाध्यै राम्रो खेल्यौँ। तर एभरटनले पाएको एउटा मौकामै गोल गर्‍यो। फुटबल यही हो। कहिलेकाहिँ जति प्रयास गरे पनि जित्न सकिँदैन,’ ग्वार्डिओलाले भने।

गत सिजन सिटीलाई च्याम्पियन बनाएका ग्वार्डिओलाले रेफ्रीको कतिपय निर्णयमा आफू सन्तुष्ट नरहेको पनि बताए। ‘एभरटनले हाम्रो लय भत्काउन सकेको एउटा कारण रेफ्री हुन्।। उनले कयौँ पटक खराब निर्णय दिए। तर हामीले एभरटनलाई हराउन सक्दो प्रयास गरेका हौँ,’ ग्वार्डिओलाको भनाइ थियो।

लगातार तीन खेल हारेको एभरटनलाई यो बराबरीले केही हदसम्म राहत दिएको छ। यो सिजन आठ खेलमा पराजय भोगिसकेको एभरटन हाल १५ अंकसहित १६ औँ स्थानमा छ। ‘हामीले सिटीलाई गोल गर्नबाट रोकिरह्यौँ। उनीहरुका धेरै मौका हामीले विफल बनाइदियौँ। हामी कम्तीमा एक अंक बटुल्न हकदार थियौँ,’ एभरटनका प्रशिक्षक फ्रान्क लाम्पार्डले भने।

प्रकाशित: १७ पुष २०७९ ९:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =