कोदोखेती प्रवर्द्धनका लागि ‘इन्टरनेशनल इयर अफ मिलेट्स-२०२३’

हिमाल प्रेस १ पुष २०७९ १५:२६
4
SHARES
कोदोखेती प्रवर्द्धनका लागि ‘इन्टरनेशनल इयर अफ मिलेट्स-२०२३’

काठमाडौँ– काठमाडौँस्थित भारतीय दूतावासले ‘इन्टरनेशनल इयर अफ मिलेट्स-२०२३’ को सुरुवाती कार्यक्रम आयोजना गरेको छ। शुक्रबार कृषि तथा प्रशोधित खाद्य उत्पादन निर्यात विकास प्राधिकरणको सहकार्यमा दूतावासले उक्त कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा दूतावासका नियोग प्रमुख प्रसन्न श्रीवास्तवले विश्वमा खाद्य सुरक्षा सुनिश्चित गर्न कोदोको विशेष महत्त्व रहेको बताए। प्राधिकरणका निर्देशक डा. तरुण बजाजले अन्तर्राष्ट्रिय कोदो वर्ष २०२३ का लागि प्राधिकरणले गरेको निर्यात प्रवर्द्धन र क्षमता अभिवृद्धि प्रयासबारे विस्तृत जानकारी दिए।

कार्यक्रममा भारतीय कृषि अनुसन्धान परिषद् र नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्द शर्मा सहभागी थिए। भारत सरकारको प्रस्ताव संयुक्त राष्ट्र संघबाट पारित भएपछि सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदो वर्षका रूपमा मनाइने भएको हो।

भारत सरकारले सन् २०२१ मा गरेको उक्त प्रस्तावमा विभिन्न ७२ देशले समर्थन गरेका थिए। भारत विश्वमै सबैभन्दा धेरै कोदो उत्पादन गर्ने देश हो। भारतमा विभिन्न ९ प्रजातिका कोदो उत्पादन हुने गरेको छ।

भारतमा वार्षिक करिब १७ मिलियन टन कोदो उत्पादन हुन्छ। जुन विश्वको कुल उत्पादनको २० प्रतिशत हो। कोदो स्वास्थ्यका दृष्टिकोणले पनि राम्रो मानिन्छ । कोदोमा विभिन्न पौष्टिक तत्व पाइन्छन्। कोदो पर्याप्त पानी नपाइने सुख्खा जमिनमा, कम वर्षा हुने स्थानमा पनि सहजै फल्छ र मौसम परिवर्तनले पनि खासै प्रभाव नपार्ने बालीमा पर्छ।

मुलुकको आत्मनिर्भरता बढाउन तथा आयातित अनाज/अन्नमा निर्भरता कम गर्न कोदोको भूमिका प्रभावकारी हुने खाद्य तथा कृषि संगठनले जनाएको छ। कृषिमा भारत-नेपालबीचको सहकार्यलाई निरन्तरता दिँदै भारतीय राजदूतावासले सन् २०२३ को वर्षभरि नै विभिन्न गतिविधि तथा कार्यक्रममार्फत् कोदो प्रवर्द्धनको लक्ष्य लिएको जनाएको छ।

भारत-नेपाल कृषि सहकार्य सन् २०१८ मा सुरुवात गरिएको थियो। भारत र नेपाल कोदोलगायतका विभिन्न कृषि उत्पादनका लागि एकअर्काका महत्त्वपूर्ण व्यापारिक साझेदार हुन्।

प्रकाशित: १ पुष २०७९ १५:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + fifteen =