‘हेर्ने कथा’ टोलीको डर र साहसको कथा

‘हेर्ने कथा’ खोज्दै, बनाउँदै जाँदा विद्या, कमललगायतले गरेको संघर्ष र भोगेका कठिनाइहरू

संगीता श्रेष्ठ २९ मंसिर २०७९ १४:०२
840
SHARES
‘हेर्ने कथा’ टोलीको डर र साहसको कथा

‘एउटा यात्राको कथा’, ‘चेफाको कथा’, ‘कोइला खानीको कथा’, ‘डोल्पा जाने बाटोको कथा’ आदि, इत्यादि।

यस्ता अनेकन कथा ‘हेर्ने कथा’ टोलीले बुनेको छ। कथामात्र बुनेको छैन, त्यसलाई सुन्दर स्वरूप अनि मीठो स्वादमा दर्शकमाझ पस्किएको पनि छ।

दर्शकले पनि स्वाद मानी-मानी ती कथा ग्रहण गरेका छन्। किनकि, ती कथाले हरेकलाई छुन्छ। लाग्छ, यो त मेरै गाउँको कथा हो, मेरै घरको कथा हो अनि मेरै कथा हो।

टोली नेपालका कुना कन्दरा पुग्छ। अन्कटार ठाउँमा चहार्दै नयाँ-नयाँ कथा खोज्छ। कथा खोज्दै जाँदा कहिले बाटो भेट्टाउँछ, कहिले बिराउँछ। त्यसपछि बन्छ, कहिले ‘बाटोको कथा’ त कहिले ‘हराएको बाटोको कथा’।

हिन्दी उखान ‘बनते-बनते बिगड गई बात’ जस्तै कहिलेकाहीँ टोलीले पछ्याएको कथा पनि बीचमै रोकिन्छ। एउटा कथाका लागि गृहकार्य गर्‍यो, त्यसमा काम गर्‍यो। गर्दै जाँदा भनेजस्तै पात्र नभेटिँदा बन्न लागेको कथा पनि तुहिन्छ।

नेपालका विभिन्न ठाउँ पुगेर बटुलिएका ताजा र कच्चा कथालाई टोलीले छायांकन, लेखन, सम्पादन र संवादमार्फत परिष्कृत गरी दर्शकसम्म पुर्‍याउँछ। तर, दुर्भाग्यले केही कथा ‘फुटेज’मै सीमित हुन्छन् । यसै खेर जान्छन्।

सुख र दुःख, भोक र प्यास नभनी ल्याइएका यी कथाका पछाडि अर्को कथा पनि लुकेको हुन्छ। त्यो हो, टोलीको डर र साहसको कथा।

अरूलाई प्रेरणा दिने, साहस दिने कथा बुन्दा कमल कुमार र विद्या चापागाईंले नेतृत्व गरिरहेको टोली आफू भने कहिलेकाहीँ डरबाट गुज्रिरहेको हुन्छ। त्यो डर टोलीका नायकेहरूले पनि महसुस गरिरहेका हुन्छन्। उनीहरूलाई त झन् डरले मात्र सताउँदैन, टोलीका अन्य सदस्यको सुरक्षाको दबाब पनि त्यति नै हुन्छ।

डराउँदा-डराउँदा पनि साहस देखाएका थुप्रै घटनाको अनुभव टोलीले सँगालेको छ।

तीमध्ये एक हो, ‘एउटा यात्राको कथा’।

सप्तरी गोबरगाडा टापूका मान्छे दिनरात कोसीमा हेलिएको बाध्यताको यात्रा देखाउन विद्या र कमल टिमसहित पुगेका थिए। बिहान–बेलुकाको छाक टार्न हरेक ससाना आवश्यकताका लागि वारिको भर पर्ने कोसी पारिका मान्छेको कथा त्यसमा छ।

स्थानीयसँगै डुंगामा कोसी वारपार गर्ने निधो टोलीले गर्‍यो। कोसीबीच पुगेपछि नाउमा पानी पस्न थालेपछि विद्या र कमलको मात्र होइन टोलीकै सातो उड्यो।

‘लाइफ ज्याकेट लगाएर अरूभन्दा फरक किन देखिनु, स्थानीयजस्तै गरी जाऔँ न भन्ने लागेर यत्तिकै गएका थियौँ,’ विद्याले भनिन्, ‘तर कोसीमा डुंगा ढल्किन थालेपछि एकदमै डर लाग्यो।’

नदी पार गर्दा सबै आत्तिएका थिए। ‘मुटु ढुकढुक भइरहेको थियो,’ विद्याले थपिन्, ‘आफूभन्दा पनि अरू साथीको चिन्ताले सताइरहेको थियो।’

कमल झनै अतालिएका थिए। त्यतिखेर उनका खुट्टा कामिरहेका थिए। टोलीका सदस्यको मनोबल बढाउन विद्या हाँसिरहेकी थिइन्। तर उनको हाँसोमा डर मिसिएको थियो। डरमिश्रित त्यो हाँसोले उनले कमलसहित टोलीलाई सम्हाल्ने प्रयास गरिरहेकी थिइन्।

धन्न डुंगा पल्टिएन। सबै सुरक्षित रहे र किनारातर्फ लागे ।

१० सेकेन्डको त्यस डरले जीवनभरिका लागि ठूलो पाठ सिकाएको कमलको अनुभव छ। ‘त्यसबाट हामीले पाठ सिक्यौँ,’ उनले भने, ‘हेलचक्य्राइँ गर्नु हुँदैन रहेछ। लाइफ ज्याकेट लगाउँदा ज्यान जोगिन्छ भने किन नलगाउने?’

त्यसपछि फर्किदा लाइफ ज्याकेट प्रयोग गर्ने सोच बनाए। तर दुइटामात्र लाइफ ज्याकेट पाइए। एउटा कमलले लगाए, अर्को ज्याकेट एक बहिनीले। टोलीका बाँकी सदस्य भने कोसीमा हेलिँदै आए।

क्षण भरको  त्यस घटनाले विद्यालाई एक-डेढ महिनासम्म तर्साइरह्यो। झस्काइरह्यो।

‘एउटा यात्राको कथा’ छायांकनका क्रममा डुंगाबाट काेसी नदी पार गर्दै हेर्ने कथा टोली।

०००

दाङ र रोल्पाको सिमानामा पर्ने उजाड पहाडका सुक्खा गाउँमा ‘कोइला खानीको कथा’ गर्दा पनि विद्या यसै गरी निसासिएकी थिइन्। उनी डराउँदै कोइला खानी छिरेकी थिइन्। ‘सजिलै आँट आएको थिएन,’ कथा सम्झिँदै विद्याले भनिन्, ‘छिर्दै फर्किदै, फेरि छिर्दै फर्किदै गर्थें।’

क्यामरा पर्सन जीवन रिजालले ‘भित्र नगई कसरी वास्तविक तथ्य बाहिर आउँछ?’ भनेपछि विद्याले आँट गरिन्। अनि, पसिन् कोइला खानीमा।

सास फेर्नै गाह्रो हुने अँध्यारो, चिसो र लामो कोइला खानीको सुरुङमा आधाभन्दा बढी भित्र जान सकिनन्। त्यस अगाडिको यात्रा गर्न सकिनन्। ‘मुटु ढुकढुक, सास स्याँस्याँ हुन थालेपछि अगाडि बढ्ने हिम्मत गरेनौँ, अनि फर्कियौँ,’ उनले भनिन्।

०००

‘चेफाको कथा’मा कमलले टिमका केही साथीसँग बाँसमा बसेर छ घण्टा पानीको यात्रा गरेका छन्।

उदयपुर, भोजपुर र खोटाङका पहाडी भेगका कोसी गडतिरका गाउँहरूबाट हिउँदमा नदीमा बाँस बगाएर तराई झारिने कथा पछ्याउँदै उनले त्यो यात्रा गरेका हुन्।

स्थानीयले वर्षौंदेखि गरिआएको कामको कथा जस्ताको तस्तै उतार्न उनी पानीमा हेलिएका हुन्। ‘म त डरछेरुवा हुँ,’ उनले भने, ‘त्यतिबेला विद्या साथमा भएको भए म जान्थिनँ होला। उनी नभएपछि नगई सुखै पाइनँ।’

त्यसो त उनले जोखिम नमोले पनि हुन्थ्यो। तर ‘काम गरेपछि राम्रै गर्नुपर्छ’ भावनाले डोर्‍याएपछि उनी डराउँदै भए पनि पानीमा ओर्लिए।

स्थानीयका अनुभव सुन्दा ‘जान्नँ गाडीमा फर्किन्छु’ पनि भनेका थिए। ‘सामानमात्र होइन मान्छे नै डुब्न, हराउन सक्ने अवस्था थियो,’ कमलले भने, ‘के गर्ने, कसरी आँट बटुल्ने? भयो।’

जेनतेन उनले कथाका लागि मुटु दह्रो बनाए। डराउँदै साहस देखाए। अनि, पानीमा छिरे।

पुरानो पाठ याद थियो। त्यसैले यसपालि लाइफ ज्याकेट छुटाएका थिएनन्। तर जाख पर्लक्कै पल्टियो भने लाइफ ज्याकेटले समेत बचाउन नसक्ने अवस्था नि आउन सक्छ भन्ने कुराले उनलाई चिन्तित बनाएको थियो।

मनको डरलाई जित्दै कथाको मागअनुसार बाँससँगै बग्दैबग्दै जोखिमपूर्ण यात्रा गरे।

लामो समय नदीमाथि छायांकन गरिएको ‘चेफाको कथा’मा कमल कुमार र स्थानीय।

०००

कोइला खानी, पानीमा मात्र होइन आकाशमा पनि डराएको कथा टोलीसँग छ। बीबीसीमा हुँदा साझा सवालका लागि एकपटक कमल र विद्या गोरखाको चुमभ्याली पुगेका थिए। चुमभ्यालीको कुहिरोमा ३० सेकेन्डसम्म उनीहरू चढेको हेलिकोप्टर हराएको थियो।

‘कुहिरोमा हेलिकोप्टर हराउँदा होसहवास नै गुम्यो,’ कमलले भने, ‘मेरो जीवनको सबैभन्दा डरलाग्दो क्षण थियो त्यो।’

‘डोल्पा जाने बाटोको कथा’ गर्दा पनि कमललाई उस्तै सकस भएको थियो। जुम्लाबाट डोल्पा जाने बाटोको यात्रामा उनलाई हम्मेहम्मे भयो।

‘कमलले गाडीबाट ओर्लिएर हिँडेर जान्छु भन्न थाल्यो,’ विद्याले सुनाइन्, ‘देख्दै डर लाग्ने, गाडी फसेको फसे गर्ने बाटोमा यात्रा गर्दा साँच्चै हाम्रो मनमा चिसो पसेको थियो।’

०००

यी सबै डरलाई गजबले मात दियो ‘बाघको बङ्गारा’ खोज्दै जाँदाको डरले। ‘डरको पराकाष्ठा थियो त्यो,’ कमलले सुनाए, ‘त्यसका अगाडि कोसी टापू र चुमभ्यालीको डर केही लागेन। भिरको डरले ती सबै डरलाई बिर्साइदियो।’

त्यस यात्रामा टोलीको नेतृत्व कमलले गरिरहेका थिए। विद्या साथमा थिइनन्। ‘डरछेरुवा’ कमलले त्यतिखेर डर र दबाब दुवै एकैचोटि महसुस गरिरहेका थिए।

हालै सम्पन्न भएको २० औँ संस्करणको ‘काठमाडौँ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (किम्फ)’को सुरुवात ‘हेर्ने कथा’को वृत्तचित्र ‘बाघको बङ्गारा’ देखाउँदै भयो।

कथाले दर्शकबाट वाहवाही लुट्यो। काठमाडौँ, प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा तालीका पर्रा छुटे। स्याबासी र तारिफसँगै टोलीले ‘अडियन्स च्वाइस अवार्ड’ पनि पायो।

‘त्यो त हामीले भोगेको डरको ३० प्रतिशतमात्र हो,’ कमलले भने, ‘यस कथाको हिरो जीवन (रिजाल) हुन्। त्यस्तो डरलाग्दो भिरमा पनि उनले क्यामरा तेर्स्याइरहे।’

परिवारसँग धुमधाम दसैँ मनाएको दुईतीन दिनपछि नयाँ कथाको खोजीमा टोली मुगुतिर लाग्यो। ज्यानलाई सञ्चो नभएपछि विद्या बीचमै रोकिइन्।

कमल, जीवन, प्रकाश देवकोटा र झलक पौडेल (चालक) लागे कथाको खोजीमा। तर भनेजस्तो कथा पाएनन्। फर्किदै गर्दा बाटोमा एक ठाउँमा चिया खान अडिए। त्यही बेला भेटे ‘बाघको बङ्गारा’को कथा।

अर्थात्, भिरमौरीको महको सिकार गरेर फर्किइरहेको सात–आठजनाको समूह। भिरबाट मह काढेर ल्याएका उनीहरूको कथाले ‘हेर्ने कथा’ टोलीको मन छोयो।

उनीहरूको कथा, यात्रा, संघर्ष, दुःखलाई खिच्ने र दर्शकसामु पुर्‍याउन कमल र साथीहरू तम्सिए। महको सिकार गर्ने टोलीसँग जाने सुर कसे। अनि, मिसिए भिर मह सिकारीको टोलीमा।

जहाँसम्म गाडी पुग्ने बाटो थियो, गाडीमै यात्रा गरे। त्यसपछि हिँड्दै अगाडि बढे। हिँड्दाहिँड्दै तीन दिन भए। कमललाई डरले सताउन थाल्यो। मनमा अनेकन तर्कना खेल्न थाले।

‘टिम लिडर भएकाले साथीहरूको चिन्ता लाग्यो,’ उनले भने, ‘मोबाइलमा नेटवर्क थिएन, कथम्कदाचित् कसैलाई केही भयो भने घरसम्म खबर कसरी पुग्ला? कतै अनकन्टारमा मरिने पो हो कि ?’

यता विद्या अलमलमा थिइन्। साथीहरूलाई कुर्ने कि हिँड्ने? ‘दुई दिनसम्म त केही भएन तर चार दिन बितेपछि अत्यास लाग्न थाल्यो,’ विद्याले सुनाइन्। त्यसपछि उनी टोलीको खोजीमा लागिन्।

गाउँबाट टोली आएको कसैले सुनायो। विद्याको मन केही थामियो। तर साथीहरू उता डरको भुमरीमा फसेको कुराबाट उनी अनभिज्ञ थिइन्।

हेर्नै नसकिने भिरमा हिँड्न डराएका कमलको मनमा बीचमै कथा छोडिदिने विचार नआएको होइन। ‘कथा छोडिदिउँजस्तो लाग्यो,’ उनले भने, ‘तर यति दुःख गरिसकेपछि कसरी छोड्नु भन्ने पनि लाग्यो। मन आधा–आधा बाँडियो।’

साथीहरूको दुःखलाई खेर जान नदिने सोचले आफ्नो मन बलियो बनाए। अनि, डराउँदै, खुट्टा कमाउँदै अघि बढे।

त्यस यात्राबारे कुरा गर्दा कमलको मुटु अहिले पनि थुरथुर काम्छ। अनुहार मलिन हुन्छ। ‘अडेस लगाउने ठाउँ थिएन, ससाना झाडी समाउँदै हिँड्नुपर्ने थियो,’ उनले सुनाए, ‘हातबाट झाडी फुत्किए सीधै तल। हेर्न नसकिने भिरमा मर्ने सम्भावना त्यति नै थियो।’

समस्यामाथि समस्या थपिदिएका थिए, विषका बोटले। मह सिकारीहरूले विषका बोट चिनाइदिए। र, नसमात्न अह्राए। कहिले भिरको बाटो नहिँडेका ‘हेर्ने कथा’का सदस्यलाई आपत् पर्‍यो। ‘घाँटीको हाड निल्नु न ओकल्नु’जस्तो भयो।

‘हिँड्दा चिप्लिने डरले बोटबिरुवा समाऊँ भने विष पर्ला भन्ने डर,’ कमलले भने, ‘अप्ठ्यारो बाटो मह सिकारीहरूले हात समाईसमाई कटाए।’

स्वच्छ हृदयका गाउँलेको निश्छल प्रेमबाट कमल र साथीहरू अभिभूत भए। आफूलाई सकुशल फर्काएकोमा मह सिकारीलाई कोटिकोटि धन्यवाद दिए। हेर्न नसकिने भिरबाट बाँचेर फर्केकोमा खुसी मनाए। रमाउँदै नाचे।

साथीहरूको डरबाट अनजान विद्याले कथा सम्पादन गर्दा थाहा पाइन्, उनीहरू कहाँ पुगेका रहेछन्। ती भिडियो देख्दा उनको सातोपुत्लो उड्यो। हातगोडा लुगलुग कामे। ती भिडियो सम्पादन गर्दा आफू धेरैपटक उठेर हिँडेको उनले सुनाइन्।

०००

आफ्नो डरको कथा घरमा भन्दैनन् कमल र विद्या। ‘घरमा बताइयो भने गाली खाइन्छ, घरका आत्तिन्छन्, हामीभन्दा बढी डराउँछन्,’ कमलले भने, ‘त्यसैले कथा आइसकेपछि आफैँ थाहा पाउँछन् भनेर केही भन्दैनौँ।’

अब चाहिँ जोगिएर काम गर्ने मन छ उनीहरूको। ‘कोही नपुगेको ठाउँको कथा त भन्नेपर्छ तर ज्यान भए न सबथोक हुने हो,’ विद्याले भनिन्, ‘अब यसरी ज्यानको माया मारेरभन्दा पनि जोगिएर काम गर्ने सोच छ।’

रुचि नै काम भइदिएपछि उनीहरूलाई काम गरेजस्तै लाग्दैन। त्यसैले कथाले जता डोर्‍यायो, त्यतै लखरलखर हिँडिदिन्छन्। निर्जन र विकट ठाउँका नयाँ-नयाँ कथा ल्याएर दर्शकसामु पस्किन्छन्। यस्तो लाग्छ, डर उनीहरूको जिन्दगीको ‘रुटिन’ भइसक्यो। उनीहरू डराउँछन्, डरमै रमाउँछन् र डरलाई परास्त गरेर दर्शकलाई सुन्दर कथा पेस गर्छन्।

प्रकाशित: २९ मंसिर २०७९ १४:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 10 =