टिकटकर तुलसा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

हिमाल प्रेस २१ जेठ २०८३ १६:३३ | Thursday, June 4, 2026
10
SHARES
टिकटकर तुलसा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौँ- ललितपुर जिल्ला अदालतले तुलसा भनिने तुल्सी अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। उनीविरुद्ध आपराधिक विश्वासघात, संगठित अपराध, सम्पत्ति शुद्धीकरणको मुद्दा छ।

अदालतले बिहीबार हालसम्म संकलित प्रमाण, जाहेरवाला तथा सम्बन्धित व्यक्तिहरूको बयान, नेपाल प्रहरीको प्रतिवेदन, बैंक कारोबार विवरण, आयव्ययसम्बन्धी कागजात तथा मिसिल संलग्न अन्य प्रमाणहरूको अध्ययनपछि टिकटकर अधिकारीविरुद्धको अभियोगमा थप अनुसन्धान आवश्यक रहेको निष्कर्ष निकालेको हो।

जाहेरवाला कुमार चिमोरियासँग सम्बन्ध रहेको स्वीकारोक्ति, विभिन्न व्यक्तिहरूको बयान, कम्पनी तथा व्यक्तिगत बैंक खाताको कारोबार विवरण, घरजग्गा र सुनसम्बन्धी विवरणलगायतका आधारमा प्रतिवादी तत्काल कसुरबाट मुक्त हुने अवस्था नदेखिएको आदेशमा उल्लेख गरिएको छ।

अदालतले हाल प्राप्त प्रमाणका आधारमा प्रतिवादी निर्दोष रहेको भन्न नसकिने तथा थप प्रमाण जुट्दै जाँदा कसुर ठहर हुन सक्ने सम्भावनालाई दृष्टिगत गर्दै थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने ठहर गरेको जनाएको छ।

सोही आधारमा ललितपुर जिल्ला अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७(१) बमोजिम टिकटकर अधिकारीलाई थुनामा राख्न आदेश दिएको हो।

अदालतले दफा ८० बमोजिम थुनुवा पुर्जी जारी गरी सम्बन्धित कारागार कार्यालयमा पठाउन समेत आदेश दिएको छ।

उनलाई प्रहरीले इन्टरपोलको सहयोगमा जेठ १७ गते थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याएर अदालतमा पेस गरेको थियो।

प्रकाशित: २१ जेठ २०८३ १६:३३ | Thursday, June 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast